साहित्यिक 'गनगन' बाट गैरसाहित्यिक ज्ञानगुनतिर

साहित्यिक 'गनगन' बाट गैरसाहित्यिक ज्ञानगुनतिर

कुनै पुस्तक पढ्नुभन्दा पहिला म सोच्छु, ‘यो पुस्तक पढेर मलाई के फाइदा हुन्छ ? ’यही प्रश्न म पढ्ने बानी भएका मेरा साथीहरूलाई पनि सोध्छु, ‘तपाईं किन पढ्नुहुन्छ ? ’सबैजनाको जवाफ एउटै हुन्छ, ‘ज्ञान बढाउन। ज्ञान बढ्दैन भने किन पढ्ने त्यो पुस्तक ? ’

कुनै पनि किताबले दिमागको भोक मेटाउन या भोक जगाउन सक्नुपर्छ। यस्तो हुन सक्यो भने पुस्तक पढ्नु रहर या टाइम पाइस मात्रै हुँदैन, आवश्यकता बन्छ। आवश्यकता बन्नु पनि पर्छ। फुर्सदमा किताब पढ्ने नभई फुर्सद निकालेर किताब पढ्ने चलन चल्नुपर्छ।

तर समय कटाउनकै लागि पुस्तक पढ्नुपर्छ भन्ने छैन अहिलेको अवस्थामा। पुस्तकले भन्दा सजिलै मनोरञ्जन दिने कुराहरू छन्। दुईचार क्लिक गरी आफूले चाहेका कुरा मोबाइलबाटै खोजेर सजिलै पढ्न सकिन्छ भने कसले पढोस् लेखकहरूको मनगढन्ते गनगन। त्यो पनि पैसा तिरीतिरी। सचेत पाठकले पुस्तक पढ्छ भने आफूले त्यसबाट के सिकेँ भनेर अवश्य सोच्छ।

कुनै बेला थियो हल्काफुल्का मानिएका जासुसी सेक्सी उपन्यासहरू पढेर रुन्थे मान्छेहरू। हप्तौंसम्म ती उपन्यासको प्रभाव रहिरहन्थ्यो। तर अहिले त्यो अवस्था छैन। त्यो बेला हामीलाई भुलाउनका निम्ति अरू साधन थिएनन्, पुस्तक नै पढ्नुपथ्र्यो। अहिले प्रशस्तै छन्। कुनै पीडादायक किताब पढेर आफू पनि एक हप्तासम्म पीडित रहने जमाना छैन अहिले।

धेरैजसो लेखक कथालाई दुःखदायक बनाइदियो भने आफ्नो पुस्तक बिक्छ भन्ने सोच्छन्। पुस्तक पढेर पाठक जति भावुक बन्यो त्यो पुस्तक त्यत्ति नै सफल भएको मानिन्छ। यथार्थमा यस्ता पुस्तकले समाजलाई माथितिर लानुको सट्टा पतनको मार्गतिर लगिरहेका छन्।

कुनै पनि पाठकले गहिरिएर कुनै पुस्तक पढ्छ भने त्यसको असर सीधै अवचेतन मनमा पर्छ। दुःखका कथा या रक्सी खाएको, डेटिङ गएको, यौन सम्बन्ध गाँसेको, धोका दिएको— यस्ता खालका कुरा पढेर पाठकलाई दीर्घकालीन असर के हुन सक्छ ? पछि गएर उसले यस्ता क्रियाकलाप गर्नुलाई नै आफ्नो हिरोपन सम्झिन थाल्छ।

अनि यस्तो सोचले पुस्तक लेख्दासम्म उच्चस्तको पुस्तक कसरी जन्मिन सक्छ ?

प्रायः सबै गहन पाठकहरूले स्वीकार गरेको कुरा हो, पठन जगत्मा मानिसहरूले उपन्यासबाट पढ्न सुरु गर्छन्। पढ्ने बानी बस्न थालेपछि यथार्थको धरातलमा उभिएर लेखिएका तथ्यात्मक पुस्तकहरू नै अधिकांश सचेत पाठकको रोजाइ बन्छ।

मलाई लाग्छ, हामी यही चरणमा चुक्यौं। पाठकलाई चाहिने प्रारम्भिक चरणका पुस्तकहरूलाई नै सर्वेसर्वा ठान्यौं। उपन्यासभन्दा बाहेकका पुस्तकहरू पनि छन् नि। स्वास्थ्य, कृषि, जीवनी, इतिहास, सेल्फहेल्प, धार्मिक, आध्यात्मिकजस्ता पुस्तक पनि बजारमा प्रशस्त निस्केका छन्। भइदियो के भने यस्ता किताबलाई किताब नै मानिएन र यिनका लेखकहरूलाई लेखकमै गनिएन। जब कि यस्ता पुस्तक लेख्न उपन्यास लेख्नभन्दा सजिलो छैन। एउटा जीवनी लेख्नुपर्‍यो भने त्यससँग सम्बन्धित कैयौं पुस्तक पढ्नुपर्ने हुन्छ। उपन्यासमा त काल्पनिक कुराहरू थुपार्न पाइन्छ, तर यस्ता पुस्तकमा पाइँदैन। यस्ता पुस्तक तथ्यात्मक हुन्छन्।

यस्ता पुस्तकले प्रकाशकलाई पनि सधैँ जोगाइराख्छन्। यी पुस्तक उपन्यासजस्तो तुरुन्तै धेरै बिक्री हुने र पछि हराउने हुँदैनन्। कुनै विज्ञापनबिनै पनि राम्रो चलेको उपन्यासभन्दा अन्ततः बढी बिक्री हुन्छन्। सही अर्थमा पुस्तकको बजार यस्तै पुस्तकहरूले धानेका छन्। यस्ता पुस्तकहरू नछापेर उपन्यासको मात्रै पछाडि दौडिरहेका धेरै प्रकाशक डुबिसक्ने थिए यदि सरकारबाट स्कुलस्कुलमा पुस्तकालय खोल्ने अवधारणा नआएको हुन्थ्यो भने।

कविता, गजल, मुक्तक आदिको कुरा गर्ने हो भने यी अत्यन्तै सस्ता भइसके जस्तो लाग्छ अहिलेको समयमा। सामाजिक सञ्जालमा वाक्क लाग्नेगरी छ्याप्छ्याप्ती भेटिन्छन्। यहाँ सबैभन्दा धेरै कविहरू नै छन् जस्ता लाग्छ। अहिले कविता कस्तो छ भन्दा पनि उसले कसरी वाचन गर्छ भन्नेमा कविताको स्तर निर्धारण भइरहेको छ।

हो, पछिल्ला केही पुस्तक तुलनात्मक रूपमा धेरै बिक्री भए। पुस्तकको क्रेज बढेको देखियो।

एकजना प्रकाशक र म चितवनको मास्के पुस्तक भण्डारमा बसेका थियौं। सुबिन भट्टराईको ‘मनसुन’ निस्केको बेलाको कुरा हो। हामी एक घण्टा बस्दाखेरि पाँच जनाजति पाठक ‘मनसुन’ किन्न भनेर आए।

हामीले ती सबैलाई सोध्दा थाहा भयो, उनीहरूले अरू पुस्तक पढेकै थिएनन्। हामीलाई खुसी नै लाग्यो, भविष्यमा उनीहरू पुस्तकका पारखी बन्नेछन् र हामीलाई पनि फाइदा नै हुनेछ।

यस्ता पुस्तकहरूको बढ्दो क्रेज देखेर बिस्तारै उपन्यास लेखक र छाप्ने प्रकाशकहरूको यस्तो भीड लाग्यो, बढिरहेको क्रेज नै तहसनहस बन्यो। आफ्नो एकदुईवटा आख्यान या आत्मकथा बिक्री हुन थालेपछि केही प्रकाशकले हप्तामै दुईतीनवटासम्म पुस्तक निकाल्न थाले। स्वाभाविकै हो, यस्तो अवस्थामा पाठक बाँडिन्छन् र बिक्री घट्छ नै।

असार महिनाभरिमै मसँग मात्रै, जब कि म कुनै प्रकाशक होइन, आफूले लेखेको पुस्तक छाप्नका लागि भनिदिन आठ जना लेखक आए। तीमध्ये सात जना लेखकले त लेखको प्रारम्भिक चरण नै पूरा गरेका थिएनन्। न भाषा राम्रो थियो, न विषयवस्तु। केटा र केटीको प्रेम, बिछोड, एउटाको गर्लफ्रेन्ड अरूले लगेको, यस्तैयस्तै... कुराहरू मात्रै लेखिएका थिए।

उनीहरू सबैलाई मैले ‘तपाईंले अन्य पुस्तकहरू कत्तिको पढ्नुभएको छ’ भनेर पनि सोधेँ। अहँ, कसैले पनि पढेका थिएनन्। एकदुईजनाले एकदुईवटा पुस्तक पढेका थिए, बस्।

सबै गहन पाठकहरूले स्वीकार गरेको कुरा हो, पठन जगत्मा मानिसहरूले उपन्यासबाट पढ्न सुरु गर्छन्। पढ्ने बानी बस्न थालेपछि यथार्थको धरातलमा उभिएर लेखिएका तथ्यात्मक पुस्तकहरू नै अधिकांश सचेत पाठकको रोजाइ बन्छ। मलाई लाग्छ, हामी यही चरणमा चुक्यौं।

प्रकाशन व्यवसाय पनि भएकाले प्रकाशकले उनीहरूका पुस्तक अवश्य पनि आफैंले लगानी गरेर छापिदिँदैन। अर्कातिर कम अध्ययन भएका कारण ती लेखकहरूलाई आफ्नो पुस्तक संसारकै सबैभन्दा राम्रो भएको भ्रम हुन्छ। उनीहरूलाई लाग्छ, आफ्नो पुस्तक उत्कृष्ट हुँदाहुँदै पनि प्रकाशकले पत्याएनन्। यस्तो अवस्थामा ऋण नै गरेर भए पनि आफैं लगानी गरेर छाप्न तयार हुन्छन् र प्रकाशकलाई पैसा दिएर छाप्न लगाउँछन्। प्रकाशकलाई त के, उसलाई बसीबसी अलिअलि नाफा भइहाल्छ, छापिदिन्छ। पुस्तक छापिएपछि जब बिक्री हुँदैन, उनीहरू प्रकाशकलाई नै दुहुना गाई भन्न थाल्छन्।

अर्कातिर प्रकाशकहरूलाई सधैं राम्रा किताबको खाँचो हुन्छ। राम्रो किताबका लागि उनीहरू आफैंले छापिदिन्छन् र रोयल्टी दिन तयार हुन्छन्।

केही प्रकाशक यस्ता पनि छन् जसले यस्तै खालका लेखकहरूको खोजी गर्छ र लगानी गर्न लगाएर पुस्तक छापिदिन्छ। यसले गर्दा बग्रेल्ती उपन्यासहरू बजारमा आए तर बिकेनन्। केही राम्रा नयाँ लेखकहरूका पुस्तक पनि यिनकै माझमा हराए।

अर्कातिर पुस्तकहरूको बिक्री बढ्न थालेपछि सेलिब्रेटीहरूका नाममा आत्मकथाहरू ह्वारह्वारती आए। विज्ञापन पनि प्रशस्तै भए। सुरुसुरुमा किताबको स्तरले भन्दा पनि मान्छेको नामले गर्दा यस्ता किताब पनि मजाले बिक्री भए। यसको रिजल्ट के आइदियो भने गहिराइ चाहने पाठक, जो असली पाठक हुन्, निराश भए। कतिले त खुलेरै भने, ‘थाङ्ने आत्मकथाहरू। बोक्रा आकर्षक, गुदी छैन।’

अहिले आएर पुस्तकको बिक्री घटेको हल्लाले पुस्तक बजार तातेको छ।

केही यस्ता प्रकाशक पनि छन् बजारमा, उनीहरूलाई यस्ता हल्लाले छुँदा पनि छुँदैन। न बजारमा ह्वारह्वारती किताब बिक्दा मक्ख परे, न अहिले बिक्री घट्यो भन्दा निराश छन्। उनीहरू हल्लाको पछि लाग्दैनन् तर सही बजार उनीहरूले नै बुझेका छन्।

कहिलेकाहीँ म प्रकाशक र सरकारी बजेट परेर पुस्तक लिन आएका शिक्षकहरूबीचको कुरा ध्यान दिएर सुन्छु। एकाधबाहेक कुनै पनि शिक्षकले कुनै उपन्यासको नाम लिएर त्योचाहिँ राखिदिनुस् है भनेका छैनन्।

उनीहरू सीधै भन्छन्, ‘इतिहास, जीवनी, कृषि, स्वास्थ्य, धार्मिक र अहिले चलेका किताबहरू हालिदिनुहोला।’

एकदुईपटक म काठमाडौंबाहिरका जिल्लामा भएका पुस्तक मेलामा गएको थिएँ। त्यहाँ म पूरै मेला अवधिभर बसेँ स्टलमै। बजारमा कस्ता किताब खोजिन्छन् भनेर जान्नका लागि मलाई प्रकाशकले नै लगेका थिए।

अहँ, पुस्तकको नाम तोकेर आउने पाठकहरू अत्यन्तै कम थिए। बरु यसो भन्थे, ‘तपाईंसँग आत्मबल बढाउने पुस्तक छ ? ’ या ‘तपाईंसँग कृषिसम्बन्धी पुस्तक छ ? ’

यो कुरा यस्ता प्रकाशकलाई राम्रोसँग थाहा छ, तर भइदियो के भने उनीहरूलाई प्रकाशक नै मानिएन। उपन्यास बढी छाप्ने दुईचार प्रकाशन गृहबाहेक अरूलाई गन्दा पनि गनिँदैन। पत्रकारहरू पनि यस्ता प्रकाशककहाँ पुग्दैनन्। पुगे पनि उनीहरूले आफ्नो समाचार कतातिर ढाल्न चाहन्छन्, त्यो हिसाबले पाउँदैनन्। पुरस्कार दिने संस्थाहरूले पनि यस्ता पुस्तक र लेखकहरूलाई महत्व दिँदैनन्।

मलाई लाग्छ, पुस्तकको बिक्री घटेको छैन। भएको के हो भने अलिकति पढ्ने बानी बसिसकेपछि अंग्रेजी जान्ने पाठकहरूले अंग्रेजीमै लेखेका पुस्तकहरू पढ्न थाले। अंग्रेजी नजान्ने तर सचेत पाठकहरूले आफूलाई काम लाग्ने विषयका पुस्तकहरू मात्रै पढ्न थाले। यस हिसाबले भन्न सकिन्छ पुस्तक पढ्ने पाठकहरू बाँडिए।

पढ्ने बानी परिसकेका पाठकहरू सामाजिक सञ्जालमा अल्झिएर पढ्न नै छाड्ने गर्दैनन्। पढ्ने बानी नै नबसिसकेका मानिसहरू मात्रै पढ्नुको आवश्यकता नबुझेर सामाजिक सञ्जालमा मात्रै अल्झिन्छन्। अनि कुनै बेला क्रेज बढाउने पाठकहरू पनि यिनै हुन्।

जब बजारमा एक खालको पुस्तक चल्छ, धेरै लेखक र प्रकाशक त्यसकै पछि लाग्छन्। एकै खालका पुस्तक बग्रेल्ती निस्केपछि पाठकहरू बाँडिन्छन्। पुस्तकहरू नराम्रा भए भनेर गुनासा पनि आउँछन्। फेरि अर्को खालको पुस्तक बजारमा हिट हुन्छ। फेरि सबै त्यसैको पछि लाग्छन्। यस्तो प्रक्रिया चलिरहन्छ।

त्यसैले अब उपन्यास मात्रै किताब हो भन्ने भ्रम छाडेर सबै खालका पुस्तकलाई सबैले महत्व दिनु जरुरी छ।

दाहालका ‘काँचुली’ उपन्यास, ‘गौतम बुद्धको जीवनी र दर्शन’, ‘चार वेदको सार’ ९सहलेखन०, जे कृष्णमूर्ति जस्ता पुस्तक प्रकाशित छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.