दुर्गन्धित सिसडोल
काठमाडौं : नुवाकोटका सिसडोलवासी काठमाडौंको फोहोरले गाउँमा बस्नै नसक्ने भएपछि त्यहाँ फोहोर नफाल्न आग्रह गर्दै काठमाडौं महानगरपालिका पुगे। उनीहरूले दुर्गन्ध र किराले घरमा बसि नसक्नु बनाएको भन्दै महानगरपालिकालाई नयाँ विकल्प खोज्न आग्रह गरेका छन्।
महानगरको वातावरण विभागमा भेटिएका उनीहरूले वर्षाको पानीका कारण फोहोर कुहिएर दुर्गन्ध फैलिएको र त्यसबाट निस्किएका किरा घरघरमा पस्ने गरेकाले तत्कालका लागि औषधि छर्किदिन पनि आग्रह गरे।
सिसडोलबाट महानगरपालिका आइपुगेका सन्तराम श्रेष्ठले अहिले दुर्गन्ध र किराले गर्दा गाउँमा बस्न नसकिने भएको बताए। ‘फोहोरबाट निस्केको दुर्गन्ध र झिँगाबाट घरमा बस्न सक्ने अवस्था छैन’, उनले भने, ‘हामीलाई गाउँमा सहज तवरबाट बस्न सक्ने व्यवस्था मिलाइदिनु पर्यो।’ तत्कालका लागि किरा मार्ने औषधि छर्किदिए केही सहज हुने उनले बताए।
तर किरा मार्ने औषधि छर्किएर मात्र सिसडोलको समस्या समाधान हुने छाँट देखिँदैन। डम्पिङ साइट भरिएर गाउँका किसानको जमिनमा फोहोर थुप्रिन थालेको छ। अहिले वर्षाका कारण फोहोरको लेदो स्थानीयकोे खेतिबालीसम्मै पुग्छ। यसले बालीसमेत नष्ट हुने गरेको छ।
अर्का स्थानीय दिवस श्रेष्ठका अनुसार अहिले फोहोरले गाउँमा हिँड्ने बाटोसमेत छैन। गाउँको खोलामा पनि फोहोरको लेदो भरिएको छ। ‘फोहोरले हिँड्ने बाटो छोपेको छ’, उनले भने, ‘फोहोर हाम्रो जमिनमा आइपुग्यो, बाटो हिँड्ने ठाउँ छैन। तत्कालका लागि हाम्रो जमिन खरिद गरेर फोहोर छोप्नुपर्यो र दिर्घकालीन विकल्प खोज्नुपर्यो।’
करिब १४ वर्षअघि महानगरले स्थानीयसँग तीन वर्षका लागि सहमति गरेर फोहोर सिसडोलमा फ्याँक्न थालेको हो। तर वर्षौं बित्दा पनि महानगरले दीर्घकालीन विकल्प निकाल्न सकेको छैन। समाधानको माग गर्दै स्थानीयले बेला–बेला आन्दोलन गरे पनि प्रशासनले दबाउने गरेको छ। ‘विरोधमा उत्रँदा प्रहरीले झन्डै भुँडी छेडिदियो,’ आफ्नो भुँडीमा लागेको चोट देखाउँदै सन्तरामले भने, ‘राजनीतिक पहुँच नभएकाले हाम्रो आवाज दबाउने प्रयत्न गरिँदैछ।’
महानगर वातावरण व्यवस्थापन विभागका प्रमुख हरि श्रेष्ठकाअनुसार अहिले सिसडोलको करिब चार सय ५२ रोपनी सरकारी जग्गामा फोहोर व्यवस्थापन भइरहेको छ। यो भरिएकाले तत्काल समस्या समाधान गर्न स्थानीयको जमिन अधिग्रहण प्रक्रिया अघि बढाइएको छ। ‘तत्काल स्थानीयको जमिन किनेर हामी फोहोर व्यवस्थापन गर्ने प्रक्रियामा छौं’, उनले भने, ‘अहिले योबाहेक अर्को विकल्प छैन।’
जमिन अधिग्रहण गरी फोहोर पुर्ने विकल्प अन्तिम नभए पनि तत्कालका लागि उपयुक्त विकल्प भएको उनले दाबी गरे। साउनभरिमा अधिग्रहण गरिएको जमिनको माटोले फोहोर पुरेर खेतको फाँट जस्तो बनाउने उनको भनाइ छ। महानगरले सिसडोेलको समस्या दीर्घकालीन समाधान गर्न त्यहाँबाट करिब २ किलोमिटर टाढा रहेको बन्चरेडाँडा विकल्प छानेको छ।
बन्चरेडाँडामा करिब १८ सय ७२ रोपनी सरकारी जग्गा रहेकाले त्यहाँ फोहोर व्यवस्थापन गर्ने विकल्प छनोट गरेको विभाग प्रमुख श्रेष्ठले बताउँछन्। तर त्यसलाई तत्कालै ‘डम्पिङ साइट’ बनाउन सकिँदैन। ‘बन्चरेडाँडामा व्यवस्थित योजनासहित फोहोर फाल्ने ठाउँ बनाउने हो,’ उनले भने, ‘केही समय लाग्न सक्छ तर योजना नबनाइ सिसडोल जस्तो यत्तिकै लगेर फोहोर फालिँदैन।’
सम्बन्धित निकायले अझै दिर्घकालीन विकल्प पहिल्याउन नसक्दा स्थानीयको स्वास्थ्य र जीवन नै संकटमा परेको छ। अहिले फोहोरले सिसडोल गाउँमात्र नभइ नुवाकोट र धादिङ जिल्ला नै प्रभावित बनेको छ।