मौलाउँदै अफिम खेती

मौलाउँदै अफिम खेती

काठमाडौं : केही समयअघि नेपाल प्रहरी लागूऔषध नियन्त्रण ब्युरोको एउटा टोली मकवानपुरतिर लाग्यो। टोलीको उद्देश्य थियो– अफिम खेती नष्ट गर्नु।‘हामीले मकवानपुरका विकट गाउँमा अफिम खेती हुन्छ भन्ने सूचना पाएका थियौं। सूचना भेरिफाई गर्‍यौं र अफिम खेती नष्ट गर्ने उद्देश्यले मकवानपुरतिर लाग्यौं’, ब्युृरोका डीएसपी कृष्णगोपाल पनेरु भन्छन्, ‘त्यहाँ पुगेपछि हामीले अर्कै संसार देख्यौं। गाउँमा ८०–९० वर्षका बूढाबूढी मात्रै थिए। हामी पुगेको थाहा पाएपछि सबै मानिस जंगलतिर भागेछन्।’

डीएसपी पनेरूका अनुसार ८–१० वर्षदेखि नेपालका विभिन्न जिल्लामा अफिम खेती मौलाउँदो छ। यस्तै नष्ट गर्ने प्रवृत्ति पनि बढेको छ। त्यसैले अफिम नष्ट गरेको अनुभव उनीजस्ता धेरै प्रहरी अधिकारीसँग छ।

तीमध्येका एक हुन् रौतहटका डीएसपी नवीन कार्की। २०७५ साल सकिनै लागेका बेला कार्कीसमक्ष अफिम खेतीको सूचना आयो। सूचनाका आधारमा रौतहट प्रहरीले अप्रेसन चलायो। ‘हामीले मकैबारीमा लुकाएर अफिम खेती भइरहेको पायौं। त्यसअघि मकैबारीमा अफिम खेती भएको भेटिएको थिएन’, कार्की भन्छन्, ‘हामी त्यहाँ पुग्दा अफिम खेती गर्ने मान्छे भागिसकेका थिए। दुई बिघा मकैबारीभित्र लगाइएको अफिम नष्ट गर्‍यौं।’

नेपालको पहाडी भूभागदेखि समथर भूभागसम्म कसरी अफिम खेती फैलिएको छ भनेर जान्न यी दुई प्रहरी अधिकारीको अनुभव सुने पुग्छ। पहिलेपहिले नेपाल–भारत सीमाका जिल्लामा हुने अफिम खेती पछिल्ला वर्षमा मध्यपहाडी जिल्लामा फैलिएको प्रहरी अनुसन्धानले देखाएको छ।

ब्युरोको दुईवर्षे तथ्यांकले मकवानपुरमा सबैभन्दा धेरै अफिम खेती भएको देखिन्छ। ब्युरोका अनुसार दुई वर्ष अवधिमा मकवानपुरबाट मात्र ६१ बिघाभन्दा धेरै जमिनमा गरिएको छ। त्यस्तै मकवानपुरपछि रौतहट, उदयपुर, दाङ, जाजरकोट, सुर्खेत, रुकुम पूर्व, रुकुम पश्चिमलगायत जिल्लामा अफिम खेती हुने गरेको छ।

सबै ठाउँमा पुगेर अफिम खेतीको पहिचान र नष्ट गर्न नसकिएको डीएसपी पनेरू स्वीकार गर्छन्। ‘सवारीसाधन पुग्न नसक्ने ठाउँमा अफिम खेती हुने भएकाले त्यहाँ हिँडेरै पाँचदेखि छ घण्टासम्म लाग्छ’, उनी भन्छन्, ‘प्रहरीले सक्ने जति अफिम खेती नष्ट गरेको छ तर स्रोतसाधन अभावमा सबै ठाउँमा पुगेको छैन।’

२ वर्षमा १०२ बिघा नष्ट

नेपाल प्रहरीले पछिल्ला दुई वर्षभित्र देशभर १०२ बिघा १७ कठ्ठामा गरिएको अफिम खेती नष्ट गरेको छ। लागूऔषध नियन्त्रण ब्युरोको तथ्यांकअनुसार आर्थिक वर्ष ०७५÷०७६ मा देशभर २५ बिघा ३ कठ्ठामा गरिएको अफिम खेती नष्ट गरिएको छ।

०७५ कात्तिक २ गते मकवानपुरको १५ बिघा २ कठ्ठा जमिनमा लगाइएको अफिम खेती नष्ट गरियो। माघ ११ गते सुर्र्खेतको ६ बिघा जमिनको अफिम खेती नष्ट गरियो। त्यस्तै चैत १२ गते रौतहटको ५ कठ्ठा जमिनमा गरिएको खेती नष्ट गरियो।

अवैध अफिम खेती नष्ट गर्ने क्रममा प्रहरी चैत १९ गते जाजरकोट जिल्लास्थित ४ कठ्ठा जमिनमा लगाइएको अफिम नष्ट भएको ब्युरोसँग तथ्यांक छ। त्यस्तै चैत २५ गते रुकुमपश्चिम जिल्लास्थित १ बिघा १५ कठ्ठा जमिनमा गरिएको अफिम खेती नष्ट गरियो। वैशाख १९ गते रुकुम पश्चिममै १ बिघा जमिनमा गरिएको अफिम खेती नष्ट गरियो। वैशाख ३० गते रुकुमपूर्वस्थित १७ कठ्ठा जमिनमा गरिएको अफिम खेती प्रहरीले नष्ट गरेको ब्युरोको तथ्यांक छ।

आव ०७४÷०७५ मा देशभर ७७ बिघा १४ कठ्ठामा गरिएको अफिम खेती नष्ट गरिएको छ। ब्युरोका अनुसार ०७४ मंसिर ७ गते मकवानपुरको ५ बिघा १२ कठ्ठा ७ धुर जमिनमा गरिएको अफिम खेती नष्ट गरियो। त्यस्तै माघ ६ गते मकवानपुरको १२ बिघा ८ कठ्ठा जमिनमा गरिएको अफिम खेती नष्ट गरियो। फागुन १० गते मकवानपुरमै २९ बिघा १५ कठ्ठा जमिनको अफिम खेती प्रहरीले नष्ट गर्‍यो।       

प्रहरीले ०७४ फागुन २१ गते उदयपुरमा २ कठ्ठा जमिनमा लगाइएको अफिम पनि नष्ट गर्‍यो। फागुन १४ गते सुनसरीमा लगाइएको १ हजार २ सय वटा अफिमका बोट नष्ट गरियो। दाङमा ४५ बिघा जमिनमा लगाइएको अफिम पनि प्रहरीले फागुनमै गर्‍यो। त्यस्तै १८ गते पूर्वीरुकुममा ६ बिघा १० कठ्ठा र वैशाखमा रुकुमपश्चिममा २६ बिघा ७ कठ्ठा जमिनमा गरिएको अफिम खेती नष्ट गरिएको थियो।

खेती नेपालमा, प्रशोधन भारतमा

अफिम खेतीको नेपाल–भारत नाता नयाँ होइन। यसको उदाहरण हो ‘अफिम युद्ध’। एसियाले उन्नाइसौं सताब्दीको मध्यतिर अफिमकै कारण दुईवटा भीषण युद्ध व्यहोर्‍यो। ब्रिटेन र चीनबीच युद्ध भइरहेका बेला भारतलाई ब्रिटिस इस्ट इन्डिया कम्पनीले आफ्नो कब्जामा लिएको थियो।

कम्पनीका व्यापारीले भारतको पटनामा उब्जाएको अफिम कलकत्ता बन्दरगाह हुँदै चीन तस्करी गथ्र्यो। ब्रिटेन र चीनबीच युद्ध हुनुको प्रमुख कारण यही थियो। त्यतिखेर पनि नेपाल–भारत सीमा क्षेत्रमा अफिम खेती हुने गरेको विभिन्न तथ्य भेटिन्छन्। यसबाट प्रस्ट हुन्छ, अफिम खेतीको नेपाल–भारत नाता नयाँ होइन।

सताब्दीपछि अहिले फेरि भारतका तस्करले अफिम खेतीका लागि नेपाली भूभाग प्रयोग गर्न थालेका छन्। तर, तस्करहरुले अहिलेसम्म नेपालमै अफिम प्रशोधन गर्न असफल भइरहेको नियन्त्रण ब्युरोका एसपी कृष्ण प्रसाईं बताउँछन्। उनका अनुसार कतिपय किसानलाई आफ्नो खेतमा अफिम लगाइएको थाहा हुँदैन।

‘भारतीय तस्करहरूले नेपालीको सहयोगमा यहाँ अफिम खेती गर्छन्। नेपालीलाई बीउ उपलब्ध गराउने देखि अफिम कसरी हुर्काउनेसम्मका कुरा पनि उनीहरुले नै सिकाउने गरेको हाम्रो अनुसन्धानले देखाएको छ’, एसपी प्रसाईं भन्छन्, ‘स्थानीय बासिन्दा पनि तस्करको प्रलोभनमा परेको देखिन्छ। उनीहरुलाई प्रलोभनमा पार्न तस्करहरुले अगाडि नै पैसा दिएको समेत भेटियो।’

अफिमको चोप निकालेपछि तस्करले नै त्यसलाई भारतमा रहेको प्रशोधन केन्द्रमा पुर्‍याउने र लागूऔषध तयार पार्ने गरेको प्रसाईं बताउँछन्। ‘हाम्रो अनुसन्धानले नेपालमा उत्पादित कच्चा अफिम नेपालमै प्रशोधन भएर लागूऔषध बनेको देखिँदैन’, उनी भन्छन्, ‘हामीले कच्चा अफिमसहित पक्राउ गरेका व्यक्तिहरूले पनि प्रशोधनका लागि भारत पुर्‍याउन लागेको बयान दिने गरेका छन्।’

किसानको बाध्यता

कृषि प्रधान देश नेपालको कृषि पेसामा अनेक अड्चन छन्। मकवानपुरका प्रहरी प्रमुख एपसी मुकेश सिंह किसान अफिम खेतीमा आकर्षित हुनुको प्रमुख कारण यसैलाई देख्छन्।

‘अफिम खेती गरेकै आरोपमा धेरैलाई कानुनको दायरामा ल्याउन सकिएको छैन। उनीहरुले व्यापारिक मनोभावले खेती गरेको पनि देखिएन तर अफिम खेती गर्नु अपराध हो’, उनी भन्छन्, ‘बाँझो खेतमा कोही आएर केही लगाउँछु भनेर पैसा दिँदा विकटका किसान प्रलोभनमा परेको देखियो।’

पछिल्लो समय अफिम खेती नियन्त्रणको जिम्मा स्थानीय जनप्रतिनिधिलाई दिएको एसपी सिंहले बताए। उनका अनुसार दोषीलाई कारबाही गर्न अनुसन्धान अगाडि बढाएको समेत उनले जानकारी दिए। उनले भने, ‘हामीले सरकारका विभिन्न निकायसँग सहकार्य गरेर थप अनुसन्धान गरिरहेका छौं। मालपोतसँग मिलेर हामीले अफिम खेती भइरहेको जिल्ला कसको हो भन्ने जानकारी पनि लिइरहेका छौं।’

कतिपय किसानले अफिम खेती गैरकानुनी हो भन्ने थाहा नपाएकाले जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको डीएसपी पनेरू बताउँछन्। उनले भने, ‘अफिम खेती हुने क्षेत्रमा जनचेतना जगाउनुपर्छ। नियन्त्रणको प्रमुख उपाय यही हो।’

लागूऔषध प्रयोग बढ्दो

अफिमबाट बन्ने लागूऔषध खैरो हिरोइन (ब्राउन सुगर) मात्र नेपालमा दुव्र्यसन हुने गरेको पाइन्छ। तर, पछिल्ला वर्षमा प्रहरीले नेपाल भित्रिएको शुद्ध सेतो हिरोइन पनि ठूलो मात्रामा बरामद गरेको छ।

ब्युरोका एसपी प्रसाईंका अनुसार अफिमबाट बन्ने कच्चा ब्राउन सुगर (खैरो हिरोइन) नेपालमा दुव्र्यसन हुन्छ। अफिमबाटै बन्ने शुद्ध सेतो हिरोइन महँगो मूल्य पर्ने भएकाले यो नेपालीले खरिद गर्न सक्दैनन्। तर पनि नेपालमा यस्तो हिरोइनको बिगबिगी छ। सेतो हिरोइन र कोकिन जस्ता लागूऔषधको मूल्य अत्यधिक भएकाले धनी राष्ट्रमा तस्कर हुन्छ।

हेरोइनका लागि पाकिस्तान, अफगानिस्तान र इरानका सीमा क्षेत्रलाई गोल्डेन क्रिसेन्ट, दक्षिणपूर्व एसियाका थाइल्यान्ड, बर्मा, लाओसको सीमा क्षेत्रलाई गोल्डेन ट्र्यांगलको नामले चिनिन्छ। ‘त्यहाँबाट धनी राष्ट्रहरूमा तस्करी हुने क्रममा शुद्ध सेतो हिरोइन जस्ता महँगा लागूऔषध नेपालमा बरामद हुन्छन्’, एसपी प्रसाईं भन्छन्, ‘यस्ता लागूऔषध नेपालकै कच्चा पदार्थबाट पनि तयार भएका हुन सक्छन्।’

पछिल्ला ६ वर्षमा करिब ३० किलो बराबर हिरोइन बरामद भएको छ। बरामदमध्ये आव ०७०÷०७१ मा ३ किलो ८११ ग्राम, ०७१÷०७२ मा ६ किलो ३४६ ग्राम ६९७ एमजी र ०७२÷०७३ मा ३ किलो ७६४ ग्राम ५९१ एमजी कोकिन छ। त्यस्तै ०७३÷०७४ मा ४ किलो २२१ ग्राम २५३ एमजी, ०७४÷०७५ मा ८ किलो १९ ग्राम ४७२ एमजी र ०७५÷०७६ फागुनसम्म मा ४ किलो ७३९ ग्राम २०१ एमजी हिरोइन नेपाल प्रहरीले बरामद गरेको छ।

पाँच वर्षको बीचमा करिब २०० किलो कच्चा अफिमसमेत बरामद भएको देखिन्छ। त्यसमध्ये ०७०÷०७१ मा ३३ किलो ९५० ग्राम, ०७१÷०७२ मा ९ किलो ८३५ ग्राम, ०७२÷०७३ मा ६४ किलो १९६ ग्राम, ०७३÷०७४ मा ६९ किलो २३७ ग्राम, ०७४÷०७५ मा ७ किलो ४२१ ग्राम र ०७५÷०७६ फागुनसम्म ६ किलो ७०० ग्राम अफिम बरामद भएको ब्युरोको तथ्यांक छ।

औषधिमा प्रयोग

भारतमात्रै होइन, विश्वका अन्य ठूला राष्ट्रले पनि औषधि र अध्ययनका लागि अफिम खेती गर्ने गरेका छन्। नेपालमा पनि औषधि र अध्ययनका लागि अफिम खेती गरे फाइदा हुने पूर्वडीआइजी हेमन्त मल्ल ठकुरी बताउँछन्। ‘अफिमका लागि हाम्रो देशको हावापानी राम्रो रहेछ भन्ने तस्करहरुले देखाइसकेका छन्। हामीले औषधिका रुपमा अफिमलाई प्रयोग गर्नसके राम्रो’, उनी भन्छन्, ‘तर अवैध रुपमा भइरहेको अफिम खेती नियन्त्रण गर्नुपर्छ नत्र यसले संकट निम्त्याउन सक्छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.