दुई कार्यालयमा एक लेखा अधिकृत
ललितपुर : शिक्षा विकास तथा समन्वय इकाई ललितपुरमा दरबन्दीअनुसारको कर्मचारी नहुँदा काममा कठिनाई उत्पन्न भएको छ। शिक्षा विकास इकाई र जिल्ला प्रशासन कार्यालयका लागि एकजना लेखापालले काम गर्नुपर्ने बाध्यता छ।
इकाइमा जम्मा आठ जनाको दरबन्दी भए पनि ६ जनाबाट काम चलिरहेको छ। ६ मध्येका दुई जनाले रमाना लिइसकेकाले काममा दैनिक काम प्रभावित बनेको इकाई प्रमुख योगेन्द्रप्रसाद बरालले बताए।
उक्त कार्यालयमा दुई जना प्राविधिक सहायकको दरबन्दी खाली छ। बराल आफैले लेखाका सम्पूर्ण काम गरेर आफ्नो दराजमा राख्दै आएको बताए। ‘आफ्नो काम गर्न भ्याइनभ्याई छ, लेखाको काम थपिएको छ’ उनले भने। लेखाको काममा लापरवाही गर्न नमिल्ने भएकाले कसैलाई जिम्मा दिन नसकेको उनको भनाइ छ।
शिक्षा इकाई पहिलाको संरचना अनुसार जिल्ला प्रशासन अन्तर्गत थियो। तर हाल शिक्षा मन्त्रालयसँग जोडिएपछि यस्तो समस्या निम्तिएको हो। ‘साना–तिना प्रकृतिका काम भइरहन्छन् तर काम देखिँदैन’ बरालले भने ‘हाल लेखा र स्टोरमा कर्मचारीको अति खाँचो छ।’ इकाईबाट हुने विद्यालयका अनुमति दिने जस्ता काम स्थानीय तहमा गए पनि अन्य कामहरु यथावत रहेका छन्।
विद्यालयमा तलव निकासा छोड्ने, सरुवा मिलाउने, शिक्षकको परीक्षा लिने, अन्तवार्ताका लागि विज्ञ खोज्ने, नतिजा प्रकाशन लगायतका कुरा व्यवस्थापनमा आफै संलग्न हुनुपरेको उनको भनाइ छ।
पार्टीको सदस्यता लिएका स्थायी शिक्षक
सत्तारुढ दल नेकपाले जिल्ला कमिटि सदस्य छान्ने क्रममा स्थायी शिक्षकहरुलाई पाटीमा समावेश गरेपछि विवादमा आयो। नेकपामा जस्तै प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि शिक्षकलाई आफनो पाटीको सदस्यता दिएको खुलेको छ। महांकाल गाउँपालिकाको बाघभैरव माध्यमिक विद्यालय कालेश्वरमा अध्यापनरत प्राथमिक तहका शिक्षक तुलप्रसाद तिमल्सिना नेपाली कांग्रेसका आमन्त्रित सदस्य बनेका हुन्।
गत जेठ २७ गते पाटीले जिल्ला कार्यसमितिको आमन्त्रित सदस्य बनाएको पत्रमार्फत जानकारी पाएको तिमल्सिनाले जनाए। विगत २६ वर्षदेखी अध्यापन गराउँदै आएका उनी सामाजिक शिक्षा पढाउँछन्। ‘१५ वर्ष मात्र भयो स्थायी भएको’ तिमल्सिनाले भने, ‘स्थायी हुनुभन्दा पहिलादेखी नेपाली कांग्रेसको क्रियाशील सदस्य थिएँ।’
सदस्यता लिए पनि सपथ ग्रहणका लागि उपस्थित नभएको र बैठकहरुमा भाग नलिएको उनको दाबी छ। ०५४ सालमा गाविस अध्यक्ष भइसकेका उनी नेपाली कांग्रेसको दर्शन र सिद्धान्त मन परेर यसैमा लागेको बताउँछन्। आगामी दिनमा पनि पाटीको निर्देशनअनुसार चल्ने उनको विचार छ। नयाँ नियमावलीमा असन्तुष्टि व्यतm गर्दै उनले भने ‘म जस्ता हजारौं शिक्षक केन्द्रिय सदस्यदेखि जिल्ला तहमा छन्।’
शिक्षा नियमावतीको नयाँ शंसोधनले मात्रै शिक्षकहरुलाई कुनै पनि पाटीमा सदस्यता लिन नपाउने उल्लेख गरेको उनी बताउँछन्। यसैलाइ मध्यनजर गरेर पाटीले सदस्यता लिने बेलामा सोधेको पनि बताए। तर कुनै पनि पाटीको प्रमुख हुन नपाउने र सदस्य बन्न पाइने भन्ने जानकारी पाएकाले सदस्यता लिएको उनले उल्लेख गरे।
शिक्षा ऐन २०२८, ९ औं संशोधनको दफा १६ (ङ) शिक्षक युनियन, शिक्षक तथा कर्मचारीको पदीय आचारण तथा व्यवस्थाको खण्ड ५ (छ) मा शिक्षक वा कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको पाइएमा शिक्षकलाई पदबाट हटाइने व्यवस्था रहेको छ।
शिक्षा विकास तथा समन्वय इकाई ललितपुरका प्रमुख योगेन्द्रप्रसाद बरालले उक्त विषयमा जानकारी भइनसकेको बताए। ‘जानकारी आएको खण्डमा कारवाहीका लागि मन्त्रालयसँग समन्वय गरिदिन सक्छौ’ बरालले भने ‘तर केही कारवाही गर्ने अधिकार भने हामीलाई छैन।