इबोलाका कारण साउदी प्रवेशमा कडाइ
किन्सासा : साउदी अरेबियाले कंगोमा प्राणघातक इबोला रोग फैलिएको भन्दै कंगोबाट साउदी भ्रमणमा जानेलाई प्रवेशाज्ञा (भिसा) दिन रोक लगाउने निर्णय गरेको छ । विश्व स्वास्थ्य संगठनले इबोला फैलिएका मुलुकका नागरिकलाई अन्य मुलुकको यात्रामा अवरोध नगर्न सिफारिस गरे पनि साउदीले नयाँ व्यवस्था लागू गरेको हो ।
कंगोका केही मुस्लिम समुदायले अर्को महिना साउदी अरेबियामा हज गर्ने योजना बनाएका थिए । साउदीस्थित कंगोको राजदूतावासलाई साउदी विदेश मन्त्रालयले पत्र पठाई तीर्थयात्री र अरूको सुरक्षाका कारण कंगोली नागरिकलाई भिसा दिन बन्द गरेको उल्लेख छ । विश्व स्वास्थ्य संगठनले यसै महिना इबोलाको संक्रमण तीव्र भएको जनाउँदै आपत्काल भनी घोषणा गरेको थियो ।
कंगो र आसपासका मुलुकमा इबोलाबाट हालसम्म करिब १ हजार ७ सयको ज्यान गइसकेको छ । साउदीले पश्चिम अफ्रिकामा केही वर्षअघि इबोला फैलिँदा पनि यस्तै निर्णय गरेको थियो । कंगो सरकारले साउदीको निर्णयप्रति कुनै प्रतिक्रिया जनाएको छैन । –रासस÷एपी