नेपालको लज्जास्पद हार, विश्वकप सपनामा ब्रेक

नेपालको लज्जास्पद हार, विश्वकप सपनामा ब्रेक

काठमाडौं : लिग चरणको अन्तिम खेलमा कमजोर ब्याटिङ र बलिङमा समेत लय गुमाएपछि नेपालको आईसीसी टीट्वेन्टी विश्वकप छनोट यात्रा अधुरो बनेको छ। 

सिंगापुरमा आइतबार भएको आईसीसी टीट्वेन्टी विश्वकप क्रिकेटअन्तर्गत एसियाली छनोट प्रतियोगिताको अन्तिम खेलमा नेपाल आयोजक सिंगापुरसँग ८२ रनको फराकिलो अन्तरले पराजित भयो। 

यस हारसँगै नेपालको छनोट यात्रा सकिएको हो। पहिलो खेलमा तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी कतारसँग पराजित हुनु नेपालका लागि अर्को दुर्भाग्य बन्यो। नेपाललाई हराएको सिंगापुर ग्लोबल छनोटमा पुगेको छ।

प्रतियोगितामा अपराजित रहेको सिंगापुरले सात अंक जोड्दा शीर्ष स्थानमा आसीन रह्यो। दोस्रो स्थानमा रहेको कतारले चार अंक बनायो। समान चार अंक बनाएको नेपाल तेस्रो स्थानमा रह्यो। तीन अंक बनाएको कुवेत चौथो र दुई अंक बनाएको मलेसिया अन्तिममा रह्यो। 

ग्लोबल छनोट आगामी असोजमा यूएईमा हुनेछ। ग्लोबल क्वालिफायरमा १४ टोलीको सहभागिता रहनेछ। त्यसमा शीर्ष ६ मा रहने टोलीले सन् २०२० मा अस्ट्रेलियामा आयोजना हुने टीट्वेन्टी विश्वकप क्रिकेट खेल्न पाउनेछन्।

नेपालले मुख्य आश गरेको बलरहरूले राम्रो प्रदर्शन गर्न नसक्दा सिंगापुरले ठूलो योगफल खडा गरेको थियो। सिंगापुरले दिएको एक सय ९२ रनको विजय लक्ष्य पछ्याएको नेपाल १५ ओभरमा सबै विकेटको क्षतिमा एक सय नौ रनमा समेटिएको थियो। नेपालका सात जना ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्। 

ओपनरको रूपमा खेलेका कप्तान पारस खड्का १२ रनमा पेभेलिएन फर्किएका थिए। १० बलको सामना गरेका उनले एक छक्का र एक चौका हानेका थिए।

त्यसपछि नेपालको पालि केहीबेर उपकप्तान ज्ञानेन्द्र मल्लले सम्हाले। ज्ञानेन्द्रले सर्वाधिक ३९ रन बनाए। २१ बलमा उक्त रन बनाएका ज्ञानेन्द्रले तीन छक्का र चार चौका हानेका थिए। तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका शरद भेषावकर सात रनमा आउट भए। त्यसपछि दीपेन्द्रसिंह ऐरीले २३ रन बनाए। ऐरीले २२ बलमा एक छक्का र एक चौकाको सहयोगमा उक्त रन बनाएका थिए। 

सोमपाल कामीले ११ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपाललाई सस्तोमा समेट्न सिंगापुरका सिलाडोरे विजयकुमारले चार विकेट लिए। भिनोद भास्करणले दुई विकेट लिए। जनक प्रकाश, अम्जाद महबुब र अनन्थ कृष्णले एक÷एक विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक ९१ रन बनाएको थियो। सिंगापुरका लागि रोहन रंगराजन र टिम डेभिडले ८९ रनको उत्कृष्ट साझेदारी गरे। ओपनर रोहनले ४९ रन बनाए। रोहनले ३३ बलमा चार छक्का र तीन चौकाको सहयोगमा उक्त रन बनाएका थिए। 

टिमले सर्वाधिक ७७ रनको अर्धशतकीय पाली खेले। ४३ बलमा उक्त रन बनाएका टिमले तीन छक्का आठ चौका हानेका थिए। मनप्रित सिंहले ४२ रन बनाए। २७ बलको सामना गरेका मनप्रितले दुई छक्का तीन चौका हानेका थिए।

नेपालका लागि अविनाश बोहोराले चार विकेट लिए। करण केसीले दुई विकेट झारेका थिए। बलिङमा मुख्य आशा गरिएका वसन्त रेग्मी र सन्दीप लामिछाने महँगो सावित भए। चार ओभर बलिङ गरेका वसन्तले ५४ रन खर्चिए पनि विकेट लिन सकेनन्। तीन ओभर बलिङ गरेका सन्दीपले पनि ३४ रन खर्चिए। सिंगापुरका टिम डेभिड प्लेयर अफ दी म्याच घोषित भए। पाँच टोली सम्मिलित प्रतियोगिताको पहिलो खेलमा नेपाल कतारसँग चार विकेटले पराजित भएको थियो। 

नेपाली टोली दोस्रो खेलमा भने मलेसियालाई सात विकेटले हराएर खेलमा फर्किएको थियो। तेस्रो खेलमा कुवेतलाई हराएपछि नेपाल छनोटको मुखमा पुगेको थियो। जित्नै पर्ने खेल गुमाएपछि अन्नतः नेपाल विश्वकपबाट टाढियो। यसअघि नेपालले २०१४ मा बंगलादेशमा भएको टीट्वेन्टी विश्वकप खेलेको थियो।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.