विंगर र टेम्पो ठोक्किँदा दुईजनाको मृत्यु
![विंगर र टेम्पो ठोक्किँदा दुईजनाको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/accident_20190217102945_C6hRrx2U4d.jpg)
जनकपुरधाम : जनकपुरधाम–महेन्द्रनगर सडकखण्डमा विंगर र टेम्पो एकआपसमा ठोक्किँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ ।
आइतबार अपराह्न करिब ५ बजे महेन्द्रनगरबाट जनकपुर तर्फ आउँदै गरेको ना १ ज ७०२२ नम्बरको विंगर र जनकपुरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ज १ ह ४८९६ नम्बरको टेम्पो क्षीरेश्वरनाथ नगरपालिका—४ हरैया नजिकै आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुवैतर्फबाट सवारी तीव्र गतिमा आउँदा दुर्घटना भएको र टेम्पो क्षतविक्षत हुन पुगेको प्रहरी उपरीक्षक शेखर खनालले बताएका छन् । मृत्यु हुनेमा धनुषाको रमेशपुर निवासी ७२ वर्षीय रामदेव साह र एकजना महिला छन् । मृतक महिलाको पहिचान खुल्न सकेको छैन ।
अन्य दुई यात्री घाइते भएका छन् । घाइते भएकाहरुको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ । घटनाका विषयमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)