अन्ततः बेल रियलमै
म्याड्रिड : वेल्सका प्रभावशाली खेलाडी गारेथ बेल स्पेनिस क्लब रियल म्याड्रिडमै रहने भएका छन् । एक दिनअघिसम्म बेलले रियल छाड्दै चिनियाँ क्लबमा कीर्तिमानी रकममा अनुबन्ध हुन खोजेको समाचार बाहिरिएको थियो । स्पेनिस क्लब रियल म्याड्रिडले आइतबार बेललाई चीन पठाउने प्रक्रिया रद्द गरिदिएको छ । पछिल्लो निर्णयपछि बेल रियल म्याड्रिडमै बस्नेछन् ।
३० वर्षीय बेल रियलका प्रशिक्षक जिनेदिन जिदान उनीप्रति अनुदार देखिएका कारण रियल छाड्ने निर्णय नजिक पुगेका थिए । यद्यपि रियलसँग उनको सम्झौता तीन वर्ष बाँकी रहेकाले उनको भित्री इच्छा रियलमै बस्ने थियो । बेलको उक्त इच्छालाई रियलले अन्तिममा पूरा गरेको छ । चिनियाँ सुपर लिग क्लब जियाङ्सु सुनिङले बेललाई साप्ताहिक एक मिलियन पाउन्डमा तीन वर्षका लागि अनुबन्ध गर्ने तयारी गरिरहेको थियो ।
एक साताअघि मात्र प्रशिक्षक जिदानले बेलले चाँडै नै क्लब छाड्ने बताएका थिए । उनले बेलले क्लब छाड्नु सबैका लागि उपयुक्त हुने उल्लेखसमेत गरेका थिए । जिदान र बेलबीच केही असन्तुष्टि रहेको खबर बेलाबेलामा बाहिरिएको थियो । जिदानले अघिल्लो साता युरोपियन क्लब फुटबलको नयाँ सिजनको तयारीका लागि खेलिएको इन्टरनेसनल च्याम्पियनसिपमा पनि बेललाई खेलाएका थिएनन् । सोही खेलपछि जिदानले बेलको विषयमा आफ्नो धारणा सार्वजनिक गरेका थिए । ‘हाम्रो विचारमा बेलले छिट्टै नै रियल छाड्दै छन् । उनको यो निर्णय सबैका लागि राम्रो हुनेछ । उनको स्थानान्तरको विषयलाई लिएर आवश्यक प्रक्रिया अघि बढिसकेको छ’, जिदानले भनेका थिए । जिदानले व्यक्तिगत रूपमा बेलसँग आफ्नो कुनै पूर्वाग्रह नरहेको पनि बताएका थिए । तर जिदानको उक्त भनाइलाई रियलले उल्टाई दिएको छ ।
बेल सन् २०१३ मा इङ्लिस क्लब टोट्टनहामबाट आठ करोड ५० लाख पाउन्डमा रियलमा आबद्ध भएका थिए । त्यतिबेला रियलले बेलका लागि खर्चिएको उक्त रकम कीर्तिमानी थियो । रियलबाट खेल्दा उनले चार पटक च्याम्पियन्स लिगको उपाधि जितेका थिए । च्याम्पियन्स लिग युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता हो । पछिल्लो समय बेललाई भित्र्याउन इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड र टोट्टनहाम तथा जर्मन च्याम्पियन बायर्न म्युनिख इच्छुक देखिएका थिए ।
पछिल्लो समय चोटको समस्याले गर्दा उनी लामो समय मैदान बाहिर थिए । पटकपटक घाइते भएका कारण उनले पछिल्लो चार वर्षमा स्पेनिस ला लिगामा ७९ खेलमात्र खेलेका छन् । त्यसमध्ये पनि अधिकांश खेलमा उनी परिवर्तित खेलाडीका रूपमा मैदान प्रवेश गरेका छन् । फ्रान्सेली राष्ट्रिय टोलीका पूर्वखेलाडी जिदान रियलको प्रशिक्षक भएलगत्तै बेलले क्लब छाड्ने चर्चा सुरु भएको थियो । अघिल्लो सिजनको ला लिगामा रियलले निकै निराशाजनक प्रदर्शन गरेको थियो । यस अवधिमा १२ हार भोगेको रियल ६८ अंकसहित तालिकामा तेस्रो भएको थियो ।
ला लिगा च्याम्पियन बार्सिलोनाभन्दा रियल १९ अंकले पछाडि परेको थियो । पछिल्लो २० वर्षमा रियलको यो सबैभन्दा निराशाजनक प्रदर्शन हो । गत सिजनको च्याम्पियन्स लिगमा पनि रियल प्रिक्वार्टरफाइनल चरणभन्दा अगाडि बढ्न सकेको थिएन । अन्तिम १६ टोलीबीचको भिडन्तमा रियललाई डच क्लब आयाक्सले हराएको थियो । त्यसपछि गत मार्चमा रियलले जिदानलाई पुनः प्रशिक्षकमा नियुक्त गरेको थियो । रियलले एकै सिजनमा तेस्रो पटक प्रशिक्षक परिवर्तन गरेको थियो । जिदान दोस्रो पटक रियलको प्रशिक्षक नियुक्त भएपछि बेलका प्रतिनिधि जोनाथन बार्नेटले उनको नियुक्तिलाई खराब समाचारको संज्ञा दिएका थिए ।
यसका प्रमुख कारण जिदान र बेलबीचको खराब सम्बन्धलाई लिइएको थियो । चारवटा च्याम्पियन्स लिगका अतिरिक्त बेलले रियलका लागि एउटा ला लिगा र एउटा कोपा डेल रेको उपाधि पनि जितेका छन् । यसैगरी बेलले रियलबाट तीनवटा सुपर कप र तीनवटा क्लब विश्वकपको उपाधि पनि हात पारेका छन् । आफ्ना साथीहरूबाट ‘दी गल्फर’ को उपनाम पाएका बेलले स्पेनिस क्लबका लागि एक सयभन्दा बढी गोल गरेका छन् ।