बाघ संरक्षणमा उदासीनता

बाघ संरक्षणमा उदासीनता

संरक्षणकर्मीको इमानदार र जवाफदेहीमूलक त्याग र समर्पणले बाघलाई दोब्बर मात्र होइन, छिटै तेब्बर बनाएर देखाउन सकिन्छ।


मिसन ‘पाटे बाघ’ भनेर पाँच दिनअघि बर्दिया राष्ट्रिय निकुञ्ज पुगें। बर्दिया ‘टाइगर ल्यान्ड’ भएको छ। दुनियाँलाई बाघ देखाएर खुसी पारेको छ बर्दियाले। साउन ८ गते बुधबार साँझ दुईजना पर्यटक भेटें। उनीहरूले बर्दियामा बाघ देखेर खुसी मनाइरहेका रहेछन्। फेरि अझै एकपटक बाघ हेर्ने इच्छा जागृत भएकाले चर्को गर्मी हुँदाहुँदै पनि उनीहरू आफ्नो बसाइ लम्ब्याएर ठाकुरद्वारामा बस्दै आएको पाएँ। मलाई खुसी लाग्यो। मैले उनीहरूलाई ‘गुड्लक’ पुकारेर बिदाइ गरें।

चालक गोविन्द भाइले जिप चलाउँदा राजमार्गमा धेरैपटक बाघ देखेको कथा सुनाए। अर्का चालक किसनले पनि जिपबाटै पटकपटक बाघले राजमार्गमा ओहोरदोहोर गरेको र बाटो काटेको देखेका रहेछन्। त्यो बाघ बढेको सकारात्मक र सुन्दर सन्देश थियो।

म खुसीले हर्षित भएँ। मैले परिकल्पना गरेको ‘रामराज्य’ मेरै बर्दियामा रहेछ। ठीक २० वर्षअघि म त्यही बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको गोठालो थिएँ। बाघलाई औधि माया गरेर बसेको हिजोजस्तो लाग्छ। त्यसबेला बाघलाई म ईश्वर भनेर पुकार्ने गर्दथें। बाघलाई म मेरो इच्छानुसार जतिबेला भन्यो त्यतिबेर दर्शन गर्न सक्थें। तर, समय र स्थान मिलाउनु पर्दथ्यो। त्यति गरेपछि प्रायः बाघ नहेरी मलाई फर्किनुपर्ने अवस्था आउँदैनथ्यो। कथं खाली हात फर्किनुपरेमा मलाई रातभर निद्रा पर्दैनथ्यो। मेरो बाघलाई तलमाथि केही भयो कि भन्ने पिरले सताउँथ्यो। अर्को दिन बिहान ५ बजे उठेर म बाघको घर पुगी पोजिसन लिइसकेको हुन्थें। बाघको दर्शन पाएर म ढुक्क भएर फर्कन्थें।

त्यही बेलाको कुरा हो, बाघले सैनवार पोस्टनजिकको राजमार्ग अवरुद्ध गर्दा रातको समयमा म आफैं उपस्थित भएर लामबद्ध सवारी साधनका चालकलाई सम्झाइबुझाइ गरेको थिएँ। त्यो दुर्लभ अवसरलाई अवलोकन गरेर आत्मसन्तुष्टि लिन र खुसी हुन आग्रह गरे। सबैले करिब दुई घण्टा बाघको चर्तिकला हेरेर मजा लिएका थिए। त्यहाँ दुई बाघ र बघिनीको मेटिङ प्रक्रिया जारी थियो। झगडा गर्ने, कराउने, रुने, घुर्की देखाउने गर्दै उनीहरूले मेटिङलाई समय लगाइरहेका थिए।

विसं २०५६ सालको कुरा भएकाले आजजस्तो मोबाइल फोन र क्यामराको सुविधा उपलब्ध थिएन त्यसबेला। दुई घण्टापछि उनीहरू जंगल लागे। अवरुद्ध सडक सुचारु भयो। तर, म दुःखी भएँ। मलाई धेरै समय बाघ र बघिनीको खेल हेर्ने रहर थियो। निकुञ्जको बाघ गोठालोलाई बराल्नु हुँदैन भन्ने मेरी पत्नीको मान्यता थियो। त्यसैले उनको निकुञ्ज भिजिट ज्यादै कम हुने गर्दथ्यो। त्यही बेला विश्व बन्यजन्तु कोष नेपालको बर्दिया आयोजनामा सुशीला नेपाली कार्यरत थिइन्। अमेरिकाबाट फिल्ड भिजिटमा आएको उनको टोलीलाई पनि मैले लालमाटीस्थित राजमार्गमा पेटभरि बाघ देखाइदिएको थिएँ।

विसं २०५८ भदौ महिनामा बाघको रामराज्य बर्दियामा तत्कालीन द्वन्द्वरत माओवादी र नेपाल सरकारका वार्ता टोलीबीच वार्ता हुने तय भयो। हामीले सम्पूर्ण व्यवस्था मिलाएर वार्ता सम्पन्न गरायौं। वार्तास्थल वनखेतसम्म म पैदल आवतजावत गरेर पुग्ने गर्दथें। बिहान सबेरै वार्तास्थल जाँदा मैले ५ दिनमा तीनपटक बाघ देख्न पाएँ। बाघले वार्ताको विरोध गरेजस्तो महसुस भयो मलाई उसको मनोविज्ञान बुझ्न खोज्दा।

निकुञ्जमा वार्ता गराएर हामीले बाघलगायत वन्यजन्तुप्रति ठूलो अन्याय गर्‍यौं। यो जघन्य त्रुटि सम्झना गर्दा मलाई पश्चात्तापको आगोले आज पनि पोलिरहन्छ। द्वन्द्वले नेपाली सेनालाई कहिल्यै कुनै असर गर्दैन भनेर तत्कालीन मेरा कमान्डर ठोकुवा गर्दथे। तर, म त्यसमा रत्तिभर सहमत थिइनँ।

मैले द्वन्द्व सेनाको ढोकासम्म आइसकेको र छिट्टै ब्यारेकभित्र प्रवेश गर्ने पूर्वानुमान लगाइसकेको थिएँ। निकुञ्ज–आरक्ष र सेनाको जंगल डिउटी पनि छिट्टै प्रभावित हुने मेरो भविष्यवाणी थियो। तर, द्वन्द्वले जंगल र वन्यजन्तुलाई तहस–नहस पार्नेछ भनेर मैले अनुमान गर्न सकिनँ। मानवीय धर्म, नैतिकता र प्रकृतिप्रेमले वन र वन्यजन्तु विनाश गर्नेछ भनेर मैले कल्पना पनि गरेको थिइनँ। कर्णाली नदीपारि एकान्त र आइसोलेसनमा रहेको गोला पोस्टले संरक्षण सक्रियता देखाउन सक्दैन भनेर हामीले कर्णालीको गेरुवा नदी पूर्व बाक्ला मचान खडा गर्‍यौं। आवश्यक परेमा ससाना गस्ती टोलीलाई सुत्न बस्न हुने गरेर ती मचान अग्ला, फराकिला, मजबुत र सुरक्षित बनायौं। हामीले परिकल्पना गरे झैं द्वन्द्व ब्यारेक प्रवेश गर्‍यो। र, लगत्तै निकुञ्जभित्र पनि छिर्‍यो।

दुर्भाग्य ! गोला पोस्ट उठ्यो। ठाकुरद्वारामा मर्ज भयो र तिनै विशाल र सुन्दर मचानबाट निकुञ्जको पश्चिम किनारा एवं कर्णाली नदीको तटीय क्षेत्रलाई सुरक्षा पहरा दिइयो।

हेर्दाहेर्दै द्वन्द्वले निकुञ्जभित्र अड्डा जमायो। वन र वन्यजन्तुको चरम विनाश भयो। बबई उपत्यकाबाट ६ दर्जन गैंडा बीउसमेत मासिने गरेर मारिए। पछि ती गैंडा मासुका लागि मारिएको तथ्य उजागर भयो अनुसन्धानबाट। मलगायत सम्पूर्ण संरक्षणविद्लाई स्तब्ध पार्ने अकल्पनीय क्षति र विनाश थियो त्यो। प्रकृतिले वास गरेको निकुञ्जजस्तो धार्मिक र पुण्यभूमि रणमैदानमा परिणत होला भनेर अन्दाज गर्न नसक्नुलाई म मेरो ठूलो कमजोरी ठान्छु।

नेतृत्वले बौद्धिकता, संरक्षणमा प्रतिबद्धता, प्रकृति प्रेम र परिपक्वता प्रदर्शन नगर्ने हो भने बाघको संख्या २५० पुग्ने होइन ओरालो लागेर विनाशको बाटोतिर जाने सम्भावना हुन्छ।

ठीक द्वन्द्वलाई सँघारसम्म बोलाएर मैले २०५८ असोजमा बाघको घर मेरो प्यारो बर्दिया छाडेर काठमाडौं सरुवा भएर जानुपर्‍यो। वार्ताको पश्चात्तापजस्तै गेरुवा नदीको किनारमा खडा गरेका अब्जर्भेसन टावर अथवा सुरक्षा मचानसँग पनि मलाई पश्चात्ताप छ। किनभने, बाघको मुख्य वासस्थानलाई वाधा–व्यवधान हुने गरेर त्यसरी मचान खडा गर्नु हुँदैनथ्यो। सुरक्षाको दृष्टिले सायद त्यसको अर्को उत्तम विकल्प पनि थिएन।

गैंडाको बीउ मासिँदा अरू प्रजातिका वन्यजन्तु कसरी बाँचून्। सबै स्वाहा भए। द्वन्द्व सकिनासाथ मैले आफूले पसिना खर्चेको निकुञ्जको कुनाकुना पुगेर अवलोकन गरें। एउटा गैंडा नजर आएन। हात्ती पनि देखिनँ। बाघ देख्ने झन् गुञ्जायसै भएन।

मैले निकुञ्जको भित्रभित्र कोर एरियामा यत्रतत्र कुकुर देखें। त्यो वास्तवमा वन्यजन्तुरहित खाली निकुञ्जको इन्डिकेटर थियो। धन्य ! म काठमाडौंस्थित जंगी अड्डामा रहेर सबै निकुञ्जको सुरक्षा कार्य हेर्ने महत्त्वपूर्ण जिम्मेवारीमा खटिएको थिएँ। हामीले कुकुर मार्ने अभियान तीव्र पारेर वन्यजन्तु बढाउने उद्देश्यमा आफूलाई विलय गरायौं।

बाघको संख्या घटेर आठ थियो। बाघ लोपको डरले हामी ज्यादै चिन्तित थियौं। आफ्नो ढुकुटीको सम्पत्ति नाश हुँदा हामीलाई चिन्ता, आक्रोश, पश्चात्ताप आदि सबैको आगोले भस्म पारेजस्तो भएको थियो। ‘गर नत्र मर (डु अर डाई)’ नारा अख्तियार गरेर हामी संरक्षणमा होमियौं। हाम्रो तपस्या क्रमशः फलिफाप हुँदै गयो। दिन दुगुणा रात चौगुणा भने झैं वन्यजन्तुको आकस्मिक र अत्यधिक वृद्धि भयो। मुलुकले ‘शून्य सिकार वर्ष’ मनाउनेसम्मको हैसियत प्राप्त गर्‍यो। निकुञ्ज व्यवस्थापकको व्यापक सक्रियता र नेतृत्वदायी भूमिकाले संरक्षणमा कायापलट भयो।

संरक्षणमा सहकार्य गर्ने सबै स्टेक होल्डरहरूको साथ, सहयोग र सहकार्यले वाञ्छित परिणाम हासिल गर्न ऊर्जा प्राप्त भयो। स्थानीय जनताको शुभेच्छा, सहयोग र वन्यजन्तुको स्वामित्व ग्रहणको भावनाले उपेक्षा गरेको उपलब्धि हासिल गर्न मद्दत मिल्यो। यी सबै कुराको परिणाम हो आजको संरक्षण सफलता। त्यसकै फलस्वरूप मेरो प्यारो बर्दिया आज ‘टाइगर ल्यान्ड’ को नामले चिनिन थालेको छ। बर्दिया सारा पर्यटकलाई बाघ देखाएर अथवा इच्छा पूरा गराएर पठाउन सफल भएको छ।

नयाँ स्थापना भएको कान्छो बाँके राष्ट्रिय निकुञ्जले समेत २१ वटा बाघलाई वासस्थानको बन्दोबस्त गर्न सफल भएको छ। पर्साको विस्तारित क्षेत्रमा बाघ पुगिसकेको अवस्था छ। ती सी क्लासका वासस्थानलाई हामीले छिटो ए क्लासमा अपग्रेड गर्नुपर्ने चुनौती छ। गत वर्ष बाघ गणना सम्पन्न गरेर २३५ बाघको संख्या घोषणा गर्ने मुलुक नेपालको संरक्षण पहल र प्रयास वास्तवमा प्रशंसनीय छ। यो राष्ट्रिय गौरवको विषय हो।

सुन्दर रामराज्य अनि कहालीलाग्दो द्वन्द्वकाल र त्यसले पुर्‍याएको अकल्पनीय क्षति तथा कालरात्रि र पुनः प्राप्त सुन्दर रामराज्यपछिको भावी संरक्षण रणनीति के त ? नेपालले सन् २०२२ सम्ममा दुर्लभ र लोपोन्मुख पाटे बाघको संख्या दोब्बर बढाउने कबोल गरेको छ। यो राष्ट्रिय कबोल पूरा र्न हामीले बाघको संख्या २५० पुर्‍याउनुपर्ने हुन्छ। गत वर्षको बाघ गणना परिणाम हेर्ने हो भने हामी सफलताको नजिक छौं। आफ्नो वाचा पूरा गर्न सकिने देखिन्छ। वाचा पूरा भएको दिन मुलुकभर खुसी छाउने छ। अन्तर्राष्ट्रिय समुदायले प्रशंसा, बधाई र सम्मानको बिगुल फुक्नेछ। यसमा म बाघ गोठालो पूर्ण आशावादी छु।

यद्यपि मेरा केही चासो, चिन्ता र गुनासो छन्। आज विश्व बाघ दिवसको अवसर पारेर म आफ्ना ती कुरा राख्नु आफ्नो कर्तव्य ठान्छु।

पहिलो, बाघ संरक्षण समिति गठन भएको छ। त्यसको अध्यक्ष प्रधानमन्त्री हुनुहुन्छ। लामो समय भइसक्यो यो समितिको बैठक आह्वान भएको छैन। बैठक बस्नु, प्रगति विवरणको समीक्षा हुनु र भविष्यका लागि रोडम्याप तय हुनुलाई संरक्षण प्राथमिकता मानिन्छ। सदस्य सचिव वन तथा वातावरणमन्त्री र सदस्यहरू वन सचिव र अझ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको महानिर्देशकको पहल एवं जिम्मेवारी हो– यो बैठक राख्ने र सम्बन्धित सबैलाई अद्यावधिक राख्ने। यसो गर्दा राष्ट्रिय र अझ अन्तर्राष्ट्रिय परिवेशमा नेपाल सरकारको संरक्षण प्राथमिकताको सकारात्मक सन्देश प्रवाह हुन्छ। अन्तर्राष्ट्रिय संरक्षण समुदाय र दातृ निकायको समर्थन र सहयोग प्राप्त गर्न सजिलो हुन्छ।

दोस्रो, कोठे बैठक र ओठे भाषण एवं संकल्पले जग हँसाउनु हुँदैन। हालै जलवायु परिवर्तनका अवसरमा नेपालगञ्जमा सम्पन्न भेला र त्यसका लागि खर्च भएको आर्थिक उल्झनको विवादास्पद विषय एवं काठमाडौंस्थित पार्क भिलेजमा आयोजित वन्यजन्तु अपराध नियन्त्रण गोष्ठीमा वन तथा वातावरणमन्त्रीको भाषणले राष्ट्रिय–अन्तर्राष्ट्रिय संरक्षणविद्लाई चिन्तित र दुःखी तुल्याएको देखियो। जुन विडम्बनापूर्ण छ। ‘सरंक्षण किन र केका लागि ? अबको एजेन्डा संरक्षण क्षेत्र हटाउने भनेर चुनाव लड्नेले जित्नेछन् भनेर नेतृत्वले दिएको वक्तव्यले संरक्षणकर्मीमा हदैसम्मको निराशा र चिन्ता पैदा गरेको छ।

संरक्षणका खातिर आफ्नो ज्यानको आहुति दिने सवा सयभन्दा धेरै संरक्षण सहिदको बलिदानमाथि निन्दा र अपमान गर्ने गरेर दिएको अभिव्यक्तिलाई र प्रकृति एवं वातावरणविद् र संरक्षणविद्ले कसरी विश्लेषण गर्ने ? नेतृत्वले बौद्धिकता, संरक्षणमा प्रतिबद्धता, प्रकृति प्रेम र परिपक्वता प्रदर्शन नगर्ने हो भने बाघको संख्या २५० पुग्ने होइन ओरालो लागेर विनाशको बाटोतिर जाने सम्भावना हुन्छ। तसर्थ, नेतृत्व सतर्क, सावधान र संवेदनशील हुन जरुरी छ।

तेस्रो, नेपालको तीनखम्बे संरक्षण नीतिमा केन्द्रको ढुलमुले र फितलो नीतिबाट रत्तिभर विचलित नभई पहिलो खम्बा स्थानीय निकुञ्ज प्रशासन, दोस्रो खम्बा नेपाली सेना र तेस्रो तर झन् महत्त्वपूर्ण खम्बा स्थानीय जनता एवं अन्य संरक्षण साझेदार संघसंस्था संरक्षणप्रति बफादार र समर्पित हुनुपर्छ। तेस्रो खम्बा स्थानीय जनताको संरक्षण चेतना, निकुञ्जमाथि अपनत्व भावना र स्वामित्व ग्रहणको भावना अभिवृद्धिप्रति मेरो हार्दिक सलाम ! बाघको संख्या बढाउने र दिगो संरक्षण गर्ने काममा स्थानीय आफैं जागरुक भएर उठेपछि केन्द्रको उदासीनता र निस्क्रियताको केही माने रहँदैन। आशातीत उपलब्धि हासिल भएर छाड्छ। बाघका असली मालिक पनि तिनै स्थानीय हुन्।

हामी जनताको चिन्ता र चासो एवं फिल्डस्थित फ्रन्टलाइनमा खटिने संरक्षणकर्मीको इमानदार र जवाफदेहीमूलक त्याग र समर्पणले बाघलाई दोब्बर मात्र होइन, छिटै तेब्बर बनाएर देखाउन सकिन्छ। विश्व बाघ दिवसले प्रकृतिप्रेमी नेपाली जनतालाई यही पवित्र र महत्त्वाकांक्षी उद्देश्यप्रति दत्तचित्त भई लाग्न प्रेरणा देओस्।

—कार्की प्रकृति संरक्षणमा लामो समय सेवारत अवकाश प्राप्त सहायक रथी हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.