तुलसीपुर मालपोतले उठायो १८ करोड राजस्व
दाङ : मालपोत कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०७५/७६ मा साढे १८ करोड राजस्व संकलन गरेको छ। पश्चिम दाङका चार स्थानीय तहलाई कार्यक्षेत्र बनाएर स्थापना भएको मालपोत कार्यालयले पहिलोपटक साढे १८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। गत वर्ष यसको आधा मात्रै राजस्व संकलन भएको थियो।
मालपोतले पुँजीगत लाभकर, राजीनामा, धितो, रोक्का, दण्ड जरिवाना र पुर्जालगायतका शीर्षकमा १८ करोड ५६ लाख २४ हजार रुपैयाँ राजस्व संकलन गरेको मालपोत अधिकृत नरेशकुमार खडकाले जानकारी दिए। राजस्वमा सबैभन्दा धेरै राजीनामा शीर्षकमा संकलन भएको छ। मालपोत कार्यालय तुलसीपुरका प्रमुख खड्काकाले कुल राजस्व मध्ये १३ करोड ८८ लाख ५६ हजार रुपैयाँ राजीनामा शीर्षकमा राजस्व संकलन भएको बताए। दुई करोड ५५ लाख २९ हजार २३ केन्द्रीय कोषमा रहेको पुँजीगत लाभकरमार्फत संकलन भएको खड्काले बताए।
यस्तै धितोमार्फत एक करोड ८२ लाख २२ हजार पाँच राजस्व संकलन भएको छ। मालपोत कार्यालयले प्रदान गर्ने अन्य सेवा जस्तैः रोक्का, दण्ड, जरिवानालगायतका शीर्षकमार्फत ३० लाख १६ हजार आठ सय ५० रुपैयाँ राजस्व संकलन भएको छ।
१३ करोड स्थानीय तहलाई
यसैबीच मालपोत कार्यालय तुलसीपुरले विभिन्न स्थानीय तहमा १३ करोड बराबरको राजस्व बाँडफाँट गरेको छ। कार्यालय प्रमुख खड्काले कार्यलयमार्फत सेवाप्रवाह हुने तुलसीपुर उपमहानगरपालिका, दंगिशरण, शान्तिनगर र बबई गाउँपालिकामा १२ करोेड ९८ लाख ९६ हजार रुपैयाँ राजस्व बाँडफाँट गरेको हो।
यसअनुसार तुलसीपुर उपमहानगरपालिकामा पाँच करोड १९ लाख ५८ हजार ६ सय ७९ रुपैया राजस्व बाँडफाँट गरिएको छ। यसैगरी दंगिशरण गाउँपालिकामा २१ लाख ४६ हजार राजस्व बाँडफाँट गरिएको हो। यस्तै १७ लाख ७५ हजार राजस्व शान्तिनगर गाउँपालिकाका लागि बाँडफाँट गरिएको छ। बबई गाउँपालिकामा १० लाख ५६ हजार बाँडफाँट गरिएको कार्यालय प्रमुख खड्काले जानकारी दिए।
यस्तै मालपोत कार्यालय तुलसीपुरमा गत आव २०७५/७६ को माघ ८ गते सम्मको रजिस्ट्रेसनको मात्रै बाँडफाँट गरिएको खड्काको भनाइ छ। माघ ८ गते पछिका रजिस्ट्रेसनको एक करोड २१ लाख ३७ हजार राजस्व केन्द्रीय खातामा दाखिला भएको छ। पछि दर्ता भएको कारोबारको राजस्व बाँडफाँट सम्बन्धमा कुनै निर्देशन प्राप्त नभएकाले केन्द्रीय खातामा रहेको उनले बताए। एक करोड ८० लाख ६२ हजार राजस्व भने बाँडफाँट हुन बाँकी छ।