‘मात चढेको साँझ’
काठमाडौं : भदौ ६ गते रिलिज हुने नेपाली फिल्म ‘जाइरा’ को आइटम गीत रिलिज भएको छ। शुक्रबार इन्टरनेटमा रिलिज ‘यो मात चढेको साँझ’ बोलको गीतमा मीना निरौलाको स्वर छ।
यो गीत पुरानो फिल्म ‘मनको बाँध’ मा रहेको गीतको रिमेक हो। उक्त फिल्ममा रहेको गीतमा मीरा राणाको स्वर थियो। यो गीतमा गीतकार किरण खरेलले शब्द लेखेका छन् भने शिव शंकरको संगीत छ। ‘जाइरा’का लागि रिमेक गरिएको गीतमा फिरोज वज्राचार्य र डीजे राजुले रिएरेन्ज गरेका छन्। शाही नेपाल चलचित्र संस्थानद्वारा निर्मित तथा प्रकाश थापा निर्देशित ‘मनको बाँध’ सन् १९७४ मा रिलिज भएको थियो।
‘यो मात चढेको साँझ’ मा तनुजा गुरुङले उत्कृष्ट नृत्य गरेकी छन्। कोरियोग्राफर गोविन्द राई हुन्। तनुजालाई अडिसन मार्फत यो गीतमा नृत्यको लागि छनोट गरिएको थियो।
आशुतोषराज श्रेष्ठले निर्देशन गरेको ‘जाइरा’ मा नायिका नम्रता श्रेष्ठ मिक्स मार्सल आर्ट खेलाडीको भूमिकामा छिन्। पर्दामा प्रायः लभर गर्लको भूमिकामा प्रस्तुत हुँदै आएकी श्रेष्ठले यसमा आफूलाई एक्सन प्रधान देखाएकी छन्।
फिल्ममा नम्रताको साथमा अनुपविक्रम शाही, प्रमोद अग्रहरि, रेमनदास श्रेष्ठसहित नवकलाकारहरू सिर्जना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरले शीर्ष भूमिकामा अभिनय गरेका छन्। पटकथा निर्देशक श्रेष्ठ र निरोज महर्जनको छ।
कटामरी फिल्मस्को ब्यानरमा निर्माण भएको यो फिल्म नम्रता श्रेष्ठ प्रोडक्सन र ट्रेन्ड सेटर्स प्रालिको ब्यानरमा प्रस्तुत भएको हो। प्रसन्न गोपाली कार्यकारी निर्माता रहेको यसको छायांकन बाबु श्रेष्ठले तथा लोकेश वज्राचार्यले सम्पादन गरेका हुन्।