सम्झुँ सम्झुँ लाग्यो मलाई...
कतै टाढा तिमीबाट पुगे भने कल्पेर नबस्नु,
अरुण थापाको स्वरमा रहेको यो गीत पलेँटी शृंखलामा विक्रम गुरुङले गाएर दिवंगत गायक थापालाई समर्पण गरे। अरुण थापासँग सांगीतिक सहयात्रा गरेका विक्रम गुरुङले कालिकास्थानस्थित आरशाला स्टुडियोमा महफिल तताए।
हरेक अंग्रेजी महिनाको अन्तिम शुक्रबार, शनिबार र आइतबार तीन दिन पलेँटी सांगीतिक कार्यक्रम सञ्चालन हुन्छ। नेपाली संगीतमा सक्रिय नेपालीभाषी अग्रज कलाकारलाई सम्मानस्वरूप कार्यक्रममा निम्त्याइन्छ। सानैदेखि गीतसंगीतमा रुचि राख्ने गुरुङ विगत ३० वर्षदेखि हङकङ बस्दै आएका छन्।
पलेँटीमा उनले आफैंले संगीत भरेका १४ वटा गीत गुनगुनाए। उनलाई मीना निरौलाले गायनमा साथ दिएकी थिइन्। गुरुङले गीत गाउनुअघि पोखरामा पहिलोपटक अरुणलाई भेट्दाको पल स्मरण गरे। अरुणप्रति श्रद्धाञ्जलिका शब्द अर्पण गरे। उनले भने, ‘अरुण भर्खर पोखरा आएको थियो, लोकप्रिय हिन्दी गीत र केही नेपाली गीत गाउँथ्यौं। दुवैजनाले सँगै केही गीत पनि रेकर्ड गराएका थियौं।’
गुरुङ हुर्केको समय गीतसंगीतबाट पनि पैसा कमाउन सकिन्छ भन्ने थिएन। कास्कीको तामाग्रीमा जन्मेका गुरुङ इन्डियन लाहुरे बुवाको साथ भारतको देहरादुनस्थित क्यान्डियन स्कुलमा कक्षा ५ सम्म पढे। सोही स्कुलमा नै उनको संगीतसँग पहिलो साक्षात्कार भयो। स्कुलकी शिक्षिका निकै सुरिलो पियानो बजाउँथिन्। बच्चाहरू वरपर बसेर अंग्रेजी गीत गाउँथे। बडो मनमोहक लाग्छ उनलाई त्यसबेलाको बाल्यकाल। यही जतन गरेर पोको पारेको सम्झनाले उनलाई संगीतकार बनायो।
पलेँटी शृंखलामा विक्रमले देहरादुनको पढाइ, पोखराको सांगीतिक लहर, कीर्तिपुरका साथीसर्कल र विश्वविद्यालयको अध्ययनसँगै हङकङको पेसागत अनुभव साटे।
विक्रमले दोस्रो गीत सुनाए, ‘आँखाको नीद खोसी लाने, हृदयको तरंग छेडी जाने’। अरुण थापाले गाएका अधिकांश गीत लोकप्रिय छन्। विक्रम गुरुङकै शब्द रचनाको ‘आँखाको नीद’ पनि लोकप्रिय भयो। आम श्रोता र संगीतका मर्मज्ञ दुवैथरीले रुचाए यो गीत। उनी सांगीतिक विगतमा डुब्थे र अरुणबारे बोल्दै गर्दा भावुक बन्थे।
गम्भीर स्वभावका संगीतकार विक्रमले सुनाएको तेस्रो गीत थियो, ‘जति माया आफ्नो लाग्छ, त्यति माया तिम्रो पनि।’ गीतकार प्रकट पगेनी शिवले लेखेको यो गीत रेकर्ड भएको छैन। तर यो गीतसँग पनि अरुण थापाकै कथा जोडिएको रहेछ। विक्रमले पछिल्लो चरणमा धुन भरेका केही गीत अरुणको स्वरका निम्ति छानेका रहेछन्। रेकर्डिङको प्रबन्ध पनि भइसकेको रहेछ। हङकङबाट बिदामा आएका बखत अरुणलाई खोजेर स्टुडियोमा ल्याइएछ।
अरुणलाई स्टुडियोमा सुरुमा विक्रमले चिन्नै सकेनछन्। चिन्न नसक्नुको कारण लामो अन्तरालपछिको भेट मात्र थिएन, उनको तत्कालीन शारीरिक अवस्था पनि कारक थियो। अरुण निकै कमजोर भइसकेका थिए। विक्रमले भावुक हुँदै त्यो भुल्न चाहेको क्षणलाई सम्झिए, ‘त्यतिबेला अरुणको भित्री मनले जीवनको महत्त्व बुझ्न थालेको थियो कि झैं लाग्थ्यो। तर उसको शरीर उसलाई साथ दिन नसक्ने अवस्थामा पुगेको रैछ।’
गुरुङले थप सम्झे, ‘अरुणले नयाँ गीतहरू गाउन प्रयास गर्यो तर उसको शरीरले साथ दिएन। म रेकर्डिङको काम अधुरै छोडेर हङकङ फर्कें। उता पुगेको केही समयमै उसले संसार छोडेको खबर सुन्नु पर्यो।’ अरुणको निम्ति छुट्ट्याइएको धुन सुनाइरहेका विक्रमको मुहार पढ्दा लाग्थ्यो, गायक अरुण विक्रमकै छेउछाउमा गुमसुम बसेका छन्।
गायिका मीना निरौलाले विक्रमका ‘विरह चलेजस्तो, मेरो भाग्य मैसँग रिसाए जस्तो’, ‘किन मुटुको ढुकढुकी बढ्यो’ र ‘रात राम्रो तारा जूनले’ बोलका गीत सुनाइन्।
विद्यालयको अध्यापन कालको चर्चासँगै जोडिएको गीत ‘रात राम्रो तारा जूनले’ स्कुले विद्यार्थी निम्ति सिर्जना भएको गीत थियो। त्यो गीत विक्रमले आफ्ना विद्यार्थीप्रति समर्पित गरेका थिए। विद्यार्थीको चर्चा हुँदै गर्दा गुरुको सांगीतिक सिर्जनाहरूको आनन्दमा ध्यानमग्न देखिएका लेखक कुमार नगरकोटी आफ्नो विद्यार्थीकालको अतीतमा चुर्लुम्मै डुबेझैं देखिन्थे।
गायक अरुण थापाको सन्दर्भबाट सुरु भएको कार्यक्रम उनकै सन्दर्भमा आएर समापन भएको थियो। अरुणकै निम्ति सिर्जना भएर रेकर्ड हुन नपाएको अर्को रचना ‘एक युगपछिको तिम्रो स्मृति’ गाइसकेर भावुक बनेका विक्रमतिर फर्केर कार्यक्रम सञ्चालक संगीतकर्मी आभासले भने, ‘विक्रम दाइ ! मित्र बितेर गए पनि मित्रता सधैं अमर रहन्छ ! कार्यक्रमको समापन तपाईं र गायक अरुण थापा दाइको मित्रताको उत्सवपूर्ण सम्झनाबाट गरौं।’
त्यसपछि मुसुक्क हाँस्दै विक्रमले हार्मोनियममा औंला चाल्दै कार्यक्रमको समापन गीत सुनाए, ‘भुलूँ भुलूँ लाग्यो मलाई...’ गीतको अन्तिम अन्तरा सकिसकेपछि पनि विक्रमको मुहारमा भने अरुणकै सम्झना घुमेझैं अनुभूत हुन्थ्यो।
विक्रमको कार्यक्रमको आनन्द लिन पोखरादेखि उनका सहपाठी र प्रशंसकहरू पनि आरशालामा उपस्थित थिए। कार्यक्रममा उपस्थित भएका विक्रमका सहपाठी साथी साहित्यकार सरुभक्त र विक्रमको पुनर्मिलन गजबको देखिन्थ्यो। सरुभक्तले कार्यक्रमको प्रतिक्रिया दिँदै भने, ‘तिम्रो संगीत त तिम्रै निकटमा रहेर उहिलेदेखि नै सुनेको हो तर मञ्चमा पनि यति सुन्दर ढंगले तिमीलाई प्रस्तुत गर्न सकिने रहेछ भन्ने कुरा आजको पलेँटीबाट चाल पाएँ बधाई छ विक्रम।’
पलेँटीमा वाद्यवादनतर्फ बेस गितारमा अम्बर गुरुङ ‘पोखरेली’ किबोर्डमा दिनेश रेग्मी, बाँसुरीमा बलराम समाल, तबलामा सन्देश महर्जन, गितारमा सुरज प्रधान र प्रकसनमा पारस सुवेदीले साथ दिएका थिए।