कश्मीरमा हजारौ सैनिक थप, स्थानीय त्रसित
श्रीनगर : गत साताको अन्त्यमा भारत प्रशासित कश्मीरमा १० हजार भारतीय सैनिक तैनाथ गरिएपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्। भारतीय अधिकारीले भने उक्त कदम नियमित तालिकाअनुसार भएको बताएका छन्। सन् १९४७ मा भारत र पाकिस्तान विभाजित भएपछि भारतले उक्त क्षेत्रमा करिब पाँच लाख सैनिकलाई सुरक्षार्थ खटाएको छ।
कश्मीर क्षेत्रमा पछिल्ला वर्षमा विद्रोहीहरूका गतिविधि बढेको भारतको बुझाइ छ। भारतको सर्वोच्च अदालतले गत वर्ष कश्मीरसम्बन्धी मुद्दामा सुनुवाइ शुरु गरेपछि स्थानीयहरूमा विशेषाधिकार गुम्नसक्ने त्रास बढेको बताइएको छ।
भारतीय अधिकारीले भनेका छन्, ‘सैनिक दस्ताको तैनाथी गत वर्षदेखि निर्वाचनका लागि खटिएका सैनिक अधिकारीलाई आराम दिन र अमरनाथ तीर्थयात्रीको सुरक्षाका लागि भएको हो।’ सरकारले त्यस ठाउँमा २० हजार सैनिक तैनाथ गर्ने बताएको छ। ‘सैनिकहरूले लगातार सात महिनादेखि उक्त क्षेत्रमा निरन्तर काम गरिरहेका छन्। केही बिदामा घरमा जान चाहेका र केहीलाई तालिममा खटाइएकाले सीमा क्षेत्रमा सुरक्षाको प्रत्याभूत गराइराख्न १० हजार सैनिक अधिकारी तैनाथ गरिएको हो’, प्रहरी महानिर्देशक दिलबाग सिंहले भने, ‘नियमित सेवाका लागि उक्त स्थानबाट २०० कम्पनी (२० हजार सैनिक) माग भएकाले थप केही जाने तयारी रहेको छ।’ यस क्षेत्रमा सम्भावित विरोध तथा आन्दोलनका कार्यक्रम हुनसक्ने सूचनाका आधारमा थप सैनिक तैनाथ गरिएको अनुमान गरिएको छ।
यसैबीच आइतवार भारतीय राष्ट्रिय सुरक्षा परिषद् र जम्मु कश्मीरमा प्रतिआतंकवादमा काम गरिरहेका अधिकारीबीच बैठक बसेको छ। सैनिक तैनाथीको जम्मु कश्मीरकी पूर्व मुख्यमन्त्री एवं पीपुल्स डेमोक्र्याटिक पार्टी (पीडीपी) प्रमुख महबूबा मुफ्तीले विरोध गरेकी छन्। उक्त तैनाथीबाट कश्मीरलाई आधारक्षेत्र बनाएर राजनीति गरिरहेका पीडीपी र नेशनल कन्फ्रेन्स निकै असन्तुष्ट बनेका छन्।
महबूबा मुफ्तीले चेतावनी दिँदै उक्त कदम बारुदमा हात हाल्नु भएको बताइन्। त्यस्तो काम गर्ने व्यक्ति वा सरकार जलेर खरानी हुने उनको दाबी छ। उनले कश्मीर राजनीतिक समस्या भएको बताइन्। उनले सैनिक फिर्ता लान केन्द्र सरकारलाई आग्रह गरिन्। पीडीपीले भनेको छ, ‘केन्द्र सरकारले आफ्नो कश्मीर नीतिमाथि पुनर्विचार गरोस्।’ महबूबाले थप सैनिक तैनाथ गरेर सरकारले जम्मु कश्मीरमा आतंक फैलाएको आरोप लगाइन्। राजनीतिक समस्यालाई सैनिकबाट सामाधान गर्न खोज्नु ठूलो भूल भएको उनको भनाइ छ।
कश्मीर समस्या सुल्झाइने : कुरैशी
पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशीले कश्मीर समस्या सुल्झाउन सकिने बताएका छन्। सरकारी ‘रेडियो पाकिस्तान’सँग कुरा गर्दै कुरैशीले कश्मीर समस्यालाई पाकिस्तानी प्रधानमन्त्री इमरान खानले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई प्रमुख मुद्दा भएको स्पष्ट पार्न सकेको दाबी गरे।
कश्मीरबारे ट्रम्पले मध्यस्थता गर्न चाहेको पनि उनले दाबी गरे। गत साता ट्रम्पले कश्मीर विवादबारे भारत र पाकिस्तानबीच मध्यस्थता गर्न चाहेको बताएका थिए। यद्यपि भारतले ट्रम्पको भनाइ अस्वीकार गरेको छ। भारतले कश्मीर विवाद द्विपक्षीय समस्या भएको बताउँदै कसैको मध्यस्थता नस्विकार्ने बताउँदै आएको छ।