‘ल्यान्डिङ प्वाइन्ट’ को खोजीमा नेकपा जेट

‘ल्यान्डिङ प्वाइन्ट’ को खोजीमा नेकपा जेट

दुई अध्यक्ष राखेर पार्टी एकीकरणको घोषणा गरेको नेकपा डबलले पहिलो वर्षगाँठ बितिसक्दासमेत एकीकरण प्रक्रिया टुंग्याउन सकेको छैन। यद्यपि नेकपा डबलको सांगठनिक एकीकरण केवल प्राविधिक पक्ष मात्रै हो। भावनात्मक रूपले पार्टी एकीकृत हुन सकेको छैन। किनकि, नेकपा डबल निर्माणको सैद्धान्तिक ग्लु र एकीकरणको रसायनबारे खासै प्रस्टता छैन।

पार्टी एकीकरणले केवल चुनावी रणनीतिलाई उपयोग गर्दैगर्दा प्राप्त मतादेशलाई एउटै डालोमा हाल्ने काम मात्रै भएको भनेर टिप्पणी गर्नेहरू पनि धेरै छन्। जब एकीकरणको ग्लु र रसायन नै अस्पष्ट छ, त्यसले कति काम गर्ला ? आशंकामिश्रित प्रश्न निरुत्तर नै छ। यद्यपि नेकपा डबल बनेको यथार्थ हो र अहिले त्यही नेकपा डबलको दुईतिहाइ बहुमतको सरकार छ।

व्यंग्य चेतले लेस पार्टी अध्यक्ष एवं प्रधानमन्त्री खड्गप्रसाद ओलीले दुई अध्यक्षको औचित्यता प्रस्ट्याउँदै भनेका थिए, ‘नेकपा (डबल) कुनै ट्याम्पु होइन, यो जेट विमान हो, जहाँ एउटा ड्राइभर होइन, दुइटा पाइलट हुन्छन्।’ उनले आफूहरूलाई जेट विमानको दुई पाइलटसँग तुलना गर्दै जेटरूपी नेकपाले समृद्धिको उडान भर्ने घोषणा गरेका थिए। तर, उडान भरेको वर्ष दिन बितिसक्दासमेत जेटरूपी नेकपा अवतरित हुन सकेको छैन।

सायद अवतरण विन्दु पहिल्याउन नसक्दा पाइलटद्वय अहिले अलमलमै देखिन्छन्। पाइलटको अलमलसँगै जेट विमानमा सवार सिंगो पार्टीका नेता–कार्यकर्ता पनि विलखबन्दमा परेका छन्। धेरैको कामना छ– अवतरणको गन्तव्यअगावै जेट दुर्घटनामा नपरोस् !

नेकपाका नेतृत्वद्वय उद्देश्य र गन्तव्य फेला नपर्दा अल्मलिइरहेका छन्। दुई पाइलटको ‘ल्यान्डिङ प्वाइन्ट’ फरक परेमा नेकपाको दुर्घटना अवश्यम्भावी छ।

बजार हल्ला भन्छ– अब जेट विमानको सकुशल अवतरण सम्भव छैन। नेकपामा सानो–ठूलो दुर्घटना अवश्यम्भावी छ ! आशा गरौं– त्यस्तो नहोस् ! किनकि, दुर्घटना आफैंमा राम्रो होइन। तर, हाम्रो कामनाले मात्रै कहाँ पुग्छ र ? दुर्घटनाको सम्भावना टार्न पाइलटको कुशलता, मौसमको अनुकूलता अनि विमानको यान्त्रिक अवस्था पनि त ठीक हुन जरुरी छ। जेटरूपी नेकपा अहिले सही सलामत नै छ भनेर ठोकुवा गर्ने अवस्था देखिँदैन। त्यसैले बजार हल्ला चर्कै सुनिन्छ।

आफ्नो पहिलो प्रधानमन्त्रित्वकाल उखान, टुक्का अनि हास्यविनोदी भाषणमै व्यतीत भएकाले दोस्रो कार्यकालमा पनि त्यही प्रवृत्ति पछ्याइरहँदा जगत् भने मिच्छिएको छ। आखिर व्यंग्यविनोदी आनन्दले मात्रै चिज बन्दैन। समस्या र असहजताका डंगुर हट्दैन। नागरिकका दुःख र पीडाका पहाड छिचोलिँदैन। जीवनका अनगिन्ती जँघार आफैं तरिइँदैन। त्यसैले त केही विचार, दृष्टिकोण, चिन्तन, सुझबुझ अनि कार्यकौशलता चाहिन्छ। तर, आफूलाई स्वप्नद्रष्टा झैं सम्झिने प्रधानमन्त्रीले केवल अप्रासंगिक व्यंग्यविनोदी सपनाबाहेक आमनागरिकलाई कार्यक्रमिक र शृंखलाबद्ध योजनाले विश्वस्त पार्न सकेका छैनन्।

यो कमजोरी हुँदै हो। तर, हाम्रा प्रधानमन्त्री यो कमजोरी हो भन्ने महसुस गर्ने अवस्थामा समेत छैनन्। प्रधानमन्त्रीले सिंहदरबारको गद्दीमा बसेर कल्पिने समृद्धिको लयात्मक भाष्य र आमनागरिकले खेप्नुपरेको सास्ती र हैरानीबीचको दूरी घटाउन आवश्यक छ। वातानुकूलित भवनको वास अनि वातानुकूलित मोटरकेडको यात्राले जोकोहीको चिन्तन पद्धति बदलिदिन्छ। यो अवस्थाबाट उम्केर बाहिरी संसार नियाल्दै तथ्य खोज्नु कम्ती दुःखको कुरा होइन।

सबैलाई थाहा छ– हाम्रा प्रधानमन्त्री यस्ता दुःख र हैरानी बेसाउने मार्काका होइनन्। त्यसैले उनले जे सोचे त्यही सत्य हो। अनि जे बोले त्यो नै यथार्थ हो। होमा हो गर्ने अरिंगालहरूको झुण्ड सिंहदरबारकै वरिपरि छँदै छ।

यो एक वर्षमा धेरै चीज सतहमा आए, अनि बर्खामा परेको पानीको फोका झैं सबै एकाएक अलाप पनि भए। गएको असार अन्तिम साता आएको भीषण वर्षाले निम्त्याएको बाढीपहिरोको प्रकोपमा परी ९० जना नागरिकको ज्यान गयो। २९ जना अझै हराइरहेका छन् भने ४१ जना घाइते भएका छन्। त्यस्तै प्राकृतिक प्रकोपबाट खासगरी पूर्वीनेपालका २८ जिल्ला प्रभावित भएका छन्। १२ हजार घरधुरी विस्थापित भएका छन् भने एक लाख बढी नागरिक प्रत्यक्ष प्रभावित भएका छन्।

तर, सरकारको उद्धार र राहतको काम निष्प्रभावी देखियो। प्रतिकूल स्वास्थ्य हुँदाहुँदै पनि काममा अहोरात्र खटिने छवि बनाएका प्रधानमन्त्रीले ती प्रकोपबाट अत्तालिएका नागरिकको दुःख र पीडामा मलम लगाएको भने देखिएन। अझ यस्तो विपद् अवस्थामा पनि नागरिकका समस्याबारे छलफल गर्ने थलो संसद्समेत स्थगित गरियो। सायद सरकारलाई नागरिकको पीडा दुख्दैन ! त्यसैले प्रधानमन्त्रीलाई पनि दुखेन !

सायद प्रधानमन्त्रीलाई लाग्दो हो– सबै ठिकै त छ ! सबैले आफ्नो काम गरेकै छन्। दिनरात, हिउँद बर्खा, घामपानी, हुरीबतास उसैगरी चलेकै छ। प्रधानमन्त्रीले देख्ने अनुहारहरू उस्तै हँसमुख छन्। नियमित गरिने कार्यक्रम र भाषणबाजी चलेकै छ। सदन, सरकार, आवास अनि आवास सरकार सदनको बाटो उस्तै खुलै छ। जात्रा, मेला, पर्वहरू उसैगरी भएकै छन्। मान्छेले रिनधन गरेरै भए पनि चाडपर्वमा मीठोमसिनो खाएकै छन्।

काठमाडौं भित्रिने रात्रिबसमा रगत पसिना बेच्नका लागि खाडीमा भास्सिने युवाको मलिनो अनुहारले चकाचौध सहरमा उसैगरी कन्ट्र्यास्ट भरेकै छ। मैलो शरीरबाट निस्कने अमिलो गन्धले सहरमा थुप्रिएको फोहोरको डंगुरलाई माथ गरेकै छ। जेनतेन सबैले गुजारा गरेकै छन्। हुनेले पूर्ववत् खर्च गरेकै छ। राजस्व असुली बढेकै छ। खर्च गरिएकै छ। सडकमा मान्छे र सवारीको चाप बढेकै छ। आखिर सबै ठिकै त छ !

हो, मान्छेहरूले विरोध गरेर केवल कुण्ठा मात्र पोखिरहेका छन्। त्यसैले त आन्तरिक वा बाह्य विरोधीलाई प्रधानमन्त्रीका सल्लाहकार ‘छौंडा’ करार गर्न पुग्छन्। अनि उही स्टारडम शैलीमा प्रधानमन्त्रीको हुँकार प्रस्तुत हुन्छ– यो दुईतिहाइ बहुमतको शक्तिशाली सरकार हो, झिँगाले सरापेर थोरै डिंगा मर्छ !

हो, हामी सबैलाई राम्रै हेक्का छ– देशमा दुईतिहाइ बहुमतको सरकार छ ! तर, सरकार दुईतिहाइ बहुमतको हुँदैमा नागरिकले पनि दुईतिहाइ सुख पाउने होइन रहेछ। दुईतिहाइ बुद्धि र विवेक पलाउने पनि होइन रहेछ। जनतामा पनि दुईतिहाइ हाँसो, खुसी र वहार आउने पनि होइन रहेछ। अनि दुईतिहाइ समृद्धि पनि आउने होइन रहेछ। सरकारले गर्ने काम सबै उही छ। राजस्व असुली र खर्चको काइदा उस्तै छ। अझ बेरुजु र रकमान्तर बढेको छ। पहिलेजस्तै असारे विकासले प्र श्रय पाएकै छ। लक्ष्यअनुरूप राजस्व संकलन र खर्च हुन सकेको छैन। भएको खर्च पनि असारे विकासमै केन्द्रित छ।

इतिहासकै बलियो कहलिएको सरकारका गतिविधि हेर्दा कुनै योजनाविहीन लहडमा आधारित देखिन्छ। प्रधानमन्त्रीको असंगतिपूर्ण अभिव्यक्ति र केटौले कार्यशैलीले देशमा सम्भावनाको खोजीभन्दा पनि अन्धकारतर्फको यात्रातिर बरालिए झैं प्रतीत हुन्छ। भ्रष्टाचारजन्य गतिविधि बढेकै छ। महँगी र सास्ती थपिएकै छ। नागरिक झन्झन् गरिब हुँदै गएका छन्। लैंगिक हिंसा, बलात्कारजन्य घटना बढेकै छ। बलात्कारपछि हत्या गरिएको निर्मला पन्तको हत्यारा अझै पनि पत्ता लागेको छैन।

राज्यको शान्तिसुरक्षाको अवस्था नाजुक बन्दै छ। सरकार शान्तिसुरक्षा दिने बहानामा गैरन्यायिक हत्यामा संलग्न हुँदै छ। राजनीतिक आस्थाकै आधारमा नागरिकलाई धरपकड गर्नु, शान्तिपूर्ण भेला हुन पाउने संविधानप्रदत्त अधिकारमाथि धावा बोलिनु, राजनीतिक गतिविधिमा प्रतिबन्ध लगाउनु, झूटो मुठभेडको नाममा नागरिकको हत्यासम्ममा उत्रिनुले सरकारको निरंकुश र स्वेच्छाचारी शैली छर्लंग हुँदै गएको छ।

सरकारले जनमुखी काम गर्न नसकेको यथार्थ र पार्टी एकतालाई सैद्धान्तीकृत गर्दै उद्देश्य र गन्तव्यमाथि विश्वस्त पार्न नसक्नुको दुईतिहाइ मनोदशामा नेकपा डबल नेतृत्व अल्मलिएको छ। यिनै दुई एजेन्डा नेकपा डबलको नेतृत्वका लागि अवसर र चुनौती हुन्। दुई पाइलटको ‘ल्यान्डिङ प्वाइन्ट’ फरक परेमा नेकपाको दुर्घटना अवश्यम्भावी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.