एयरहोस्टेससँग डेट गर्न बमको हल्ला
गएको बिहीबार लुफ्थान्सा एयरलाइन्सको जहाज सर्बियाको राजधानी बेलग्रेडबाट जर्मनीको शहर फ्य्रांकफर्ट उड्ने तयारीमा थियो। यत्तिकैमा एक जना ६५ वर्षीय सर्बियाली नागरिकले विमानमा बम भएको भनेर टेलिफोन गरेपछि वातावरण आतंकित भयो। विमानमा १ सय ३० जना यात्रु र पाँच जना कर्मचारी थिए। हतार–हतार विमान खाली गराइयो। प्रहरीले तालिमप्राप्त कुकुरको सहयोगमा बम खोज्यो तर भेटिएन।
पछि थाहा भयो, ती सर्बियाली नागरिकले बमको अफवाह फैलाएका थिए। कारण थियो– उनी लुफ्थान्साकी एक जना एयरहोस्टेससँग डेट गर्न चाहन्थे। बमको हल्ला फैलाएर उनी ती एयरहोस्टेसलाई केही समय भए पनि आफ्नै देशमा अल्झाउन चाहन्थे।
नाम नखुलाइएको ती व्यक्तिलाई प्रहरीले शुक्रबार कल ट्रेस गरेर पक्राउ गर्यो। शनिबार उनले अदालतमा आफूले बमको हल्ला फिँजाएको स्वीकार गरे। सर्बियाली सञ्चारमाध्यमका अनुसार उनलाई अशान्ति र त्रास फैलाएको आरोपमा हिरासतमा राखिएको छ।
बमको हल्ला फैलाउने प्रौढ व्यक्तिले एउटा होटलमा लुफ्थान्साका दुई जना एयरहोस्टेसलाई भेटको थिए। तीमध्ये एक जनालाई आफूले डेट गर्न खोजेको तर उनले भाउ नदिएपछि ती व्यक्तिले बमको हल्ला फैलाएका थिए। उनका कारण विमान आठ घण्टा ढिलो उडेको थियो। ती व्यक्तिविरुद्ध कानुनी कारबाहीको प्रक्रिया चलिरहेको छ।