सल्टिएन 'स्कुल' को विवाद : नेकपाले अब नेताको रुचि बुझ्ने !
काठमाडौं : केन्द्रीय विभागहरूको नेतृत्वमा सहमति जुटाउन बसेको सत्तारुढ नेकपाको सचिवालय बैठक स्थगित भएको छ। स्कुल विभागमा भागबन्डा नमिल्दा सचिवालय बैठक चौँथोपटक प्रभावित भएको हो।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले साउन २८ गते दिउँसो ३ बजे बैठक बस्नेगरी आइतबारको बैठक स्थगित भएको जानकारी दिए। 'एउटा विभागकोमात्र विवाद भन्ने कुरा सही होइन', श्रेष्ठले भने, 'केन्द्रीय सदस्यहरूको कार्यविभाजनका लागि उहाँहरूको रुचि बुझेर उपयुक्त निर्णय हुन्छ।'
श्रेष्ठले 'सबैसँग रुचिका प्राथमिकताका बारेमा सल्लाह गर्ने र व्यवस्थित तथा परिमार्जित प्रस्ताव ल्याउने गरी बैठक स्थगित भएको' जानकारी दिए।
सचिवालय बैठकबाट केन्द्रमा रहने ३२ विभाग, २२ जनवर्गीय संगठन र एउटा प्रतिष्ठानको जिम्मेवारी टुंगो लगाउने नेकपाको तयारी थियो।
नेकपाको सचिवालयमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरू माधवकुमार नेपाल र झलनाथ खनाल, नेताहरू बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा र महासचिव विष्णु पौडेल छन्।
ओली र प्रचण्डको आ-आफ्नो अडान
स्कुल विभागमा प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य ईश्वर पोखरेलले दाबी गर्दै आएका छन्। त्यस्तै, स्थायी समितिबाट घनश्याम भुसाल र वेदुराम भुसालले पनि आफ्नो दाबी प्रस्तुत गरिरहेका छन्।
स्कुल विभागको नेतृत्वलाई लिएर तत्कालीन एमाले तर्फका ओली पक्ष र तत्कालीन माओवादी पक्षका बीचमा आआफ्नो समूहका नेतालाई नेतृत्व दिलाउन रस्साकस्सी चलेपछि सचिवालय बैठक तीनपटकसम्म प्रभावित भएको थियो। पढ्नुस्ः नेकपाको 'स्कुल' मा किन अड्कियो भागबन्डा ?
३२ विभाग र एउटा प्रतिष्ठानमध्ये स्कुलिङ विभागबाहेक १८ विभागको नेतृत्व तत्कालीन एमाले र १४ विभागको नेतृत्व तत्कालीन माओवादी तर्फका नेताले जिम्मेवारी लिने गरी भागबन्डा भइसकेको छ।
के गर्छ स्कुल विभागले ?
स्कुल विभागले पार्टीका नीति, सिद्धान्त, विचारहरू कार्यकर्तामाझ लगेर प्रशिक्षण दिन्छ। नेकपाको नियमावलीमा विभागका मुख्य ७ ओटा काम तोकिएका छन्।
पार्टीका सिद्धान्त, कार्यक्रम र नीतिअनुरूप नियमित वा आवधिक स्कुल सञ्चालन गर्ने र त्यसका निम्ति कार्ययोजना तयार गरी कमिटीसमक्ष प्रस्तुत गर्ने, पार्टी सदस्यको सैद्धान्तिक–वैचारिक स्तर उठाउन आवश्यक योजना निर्माण र कार्यान्वयन गर्ने, स्कुलका निम्ति आवश्यक प्रशिक्षक तथा विशेषज्ञ तयार गर्ने काम विभागको हुनेछ। पढ्नुस्ः स्कुल विभागमा आकर्षण किन ?
त्यस्तै, पार्टी स्कुलका पाठ्यक्रम तयार गर्ने, तदनुसार पाठ्यसामग्री तयार गर्ने र सम्बन्धित पार्टी कमिटीको स्वीकृतिमा प्रकाशन गर्ने, प्रशिक्षण कार्यक्रमको मूल्यांकन गर्ने, प्रशिक्षार्थीको परीक्षा लिने तथा प्रमाणपत्र दिने र सोको अभिलेख राख्ने, स्वदेश तथा विदेशका पार्टी स्कुलसँग अनुभव आदानप्रदान गर्ने र पार्टीमा एकीकृत भएका वा नयाँ प्रवेश गरेका सदस्यलाई विशेष प्रशिक्षणको व्यवस्था गर्ने काम विभागको हुन्छ।
यो पनि पढ्नुस्ः नेकपा स्कुल विभाग अध्यक्षले नै लिँदैछन् ? भुषालले भने- 'यसरी झन् चल्दैन'