दलहरूलाई हेर्ने नेकपाको नजर : कांग्रेसलाई भन्यो 'भ्रष्ट संरक्षण गर्ने पार्टी'

दलहरूलाई हेर्ने नेकपाको नजर : कांग्रेसलाई भन्यो 'भ्रष्ट संरक्षण गर्ने पार्टी'

काठमाडौं : सत्तारुढ नेकपाले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमाथि 'भ्रष्टहरूको संरक्षण गरेको' आरोप लगाएको छ। तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकतालगत्तैको केन्द्रीय समिति बैठकले पारित गरेको राजनीति प्रतिवेदनमा कांग्रेसले 'भ्रष्टाचारविरुद्ध आफूलाई खडा गर्न नसकेको' र 'कैयौँ सन्दर्भमा भ्रष्टहरूको संरक्षणसमेत गरेको' आरोप लगाइएको छ।

२०७५ मा जेठ ३ मा दुई दलबीच एकता भएर नेकपा बनेपछि सोही दिन बसेको प्रथम केन्द्रीय कमिटी बैठकबाट पारित राजनीतिक प्रतिवदन ढिलोगरी सार्वजनिक गरिएको हो। एकीकृत पार्टीको राजनीतिक कार्यदिशा के हुने भन्नेमा दुई खेमा (पूर्वएमाले र पूर्वमाओवादी) बीचको विवादले प्रतिवेदन छापिन सकेको थिएन।

कांग्रेसलाई पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने पार्टी भनिएको उक्त प्रतिवेदनमा भनिएको छ- 'सामन्तवादविरोधी पुँजीवादी क्रान्तिको नेतृत्व गर्ने अवसर पाए पनि ढुलमुले, सम्झौतापरस्त र दलाल प्रवृत्तिको कारणबाट यसको नेतृत्वमा लोकतान्त्रिक क्रान्तिले पूर्णता प्राप्त गर्न सकेन।'

कांग्रेसले लोकतान्त्रीकरणको प्रक्रिया र लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै प्रसंसा गरिए पनि प्रतिवेदनको 'राजनीतिक शक्तिहरूको विश्लेषण' खण्डमा कांग्रेसको ‘प्रजातान्त्रिक समाजवादको नारा औपचारिकता र ढोँगमा परिणत भएको' टिप्पणी गरिएको छ।

प्रतिवेदनमा कांग्रेसबारे भनिएको छ-

नेपालको दलाल तथा नोकरशाही पुँजीपति वर्गको मुख्य हिस्साको प्रतिनिधित्व नेपाली काङ्ग्रेसले नै गरेको छ। त्यसैले अन्तर्राष्ट्रिय एकाधिकार पुँजीवादसँग यसको घनिष्ट एवम् अन्योन्यास्रित सम्बन्ध छ। यसको नवउदारवादी आर्थिक नीतिको अन्धानुकरणलाई यसै परिप्रेक्ष्यमा बुझ्नुपर्दछ।

उसको यही आर्थिक नीतिकै कारणबाट काङ्ग्रेस नेतृत्वको लामो अवधिमा पनि देशमा उत्पादक शक्तिको विकासले गति लिन सकेन र आर्थिक विकास हुन सकेन। नेपाली काङ्ग्रेसको वर्गचरित्रमा आधारित नवउदारवादी नीतिकै कारणबाट उसले लगाउने गरेको ‘प्रजातान्त्रिक समाजवाद’ को नारा औपचारिकता र ढोँगमा परिणत भएको छ।

कांग्रेसले २००७ सालको दिल्ली सम्झौतादेखि २०७२ सालको नाकाबन्दीसम्मका प्रमुख घटनामा आत्मसमर्पणवादी नीति लिँदै आएको आरोप नेकपाले लगाएको छ।

प्रतिवेदनमा भनिएको छ-

नेपाली काङ्ग्रेस राष्ट्रिय स्वाधीनता र हितका सन्दर्भमा दृढतापूर्वक उभिन सकेको छैन। उसको नेतृत्वमा सरकार हुँदा कैयौँपटक राष्ट्रिय हितविपरीत सन्धि–सम्झौता र राष्ट्रियतामाथि आघात पुर्‍याउने निर्णय भएका छन्। २००७ सालको दिल्ली सम्झौतादेखि २०७२ सालको नाकाबन्दीसम्मका प्रमुख घटनाहरूमा यसले राष्ट्रिय हित र स्वाधीनताको पक्षमा अडान लिनुको साटो आत्मसमर्पणवादी नीति लिँदै आएको छ।

लोकतान्त्रिक संघर्षको पुरानो पार्टी भए पनि कांग्रेस लोकतान्त्रिक मूल्य–मान्यतामा खरो उत्रन सकेको नेकपाको आरोप छ। सरकारमा रहँदा पनि यसले पटक–पटक अलोकतान्त्रिक काम गरेको नेकपाको दाबी छ। 'भ्रष्टाचारविरुद्ध आफूलाई खडा गर्न नसकेको मात्र होइन, यसले कैयौँ सन्दर्भमा भ्रष्टहरूको संरक्षणसमेत गरेको छ', प्रतिवेदनमा भनिएको छ।

प्रतिवेदनमा उल्लेख छ-

राष्ट्रियताको मुद्दामा सम्झौतापरस्त नीति यसको प्रवृत्ति नै बन्न पुगेको छ। नेपालको लोकतान्त्रिक सङ्घर्षको पुरानो पार्टी भएर पनि यो लोकतान्त्रिक मूल्य–मान्यतामा खरो उत्रन सकेको छैन। सरकारमा रहँदा यसले पटक–पटक अलोकतान्त्रिक निर्णय र काम गर्ने गरेको छ। भ्रष्टाचारविरुद्ध आफूलाई खडा गर्न नसकेको मात्र होइन, यसले कैयौँ सन्दर्भमा भ्रष्टहरूको संरक्षणसमेत गरेको छ।

नेकपाले कांग्रेससँग सहकार्य गर्ने नीति लिएको उल्लेख गर्दै नेकपाले कांग्रेसलाई नै मुख्य प्रतिस्पर्धी मानेको छ। 'विगतमा हामीले सामन्तवादविरुद्धको सङ्घर्षमा पटक–पटक नेपाली कांग्रेससँग सहकार्य गरेका छौँ र भविष्यमा पनि संविधान कार्यान्वयन, राष्ट्रियताको रक्षा र समृद्धिको सवालमा जति हदसम्म ऊ तयार रहन्छ, त्यति हदसम्म सहकार्य गर्ने नीति लिइनेछ', प्रतिवेदनमा भनिएको छ, 'तर, वर्गीय, वैचारिक र राजनीतिक रूपमा कम्युनिस्ट आन्दोलन र सर्वहारा श्रमजीवी वर्गले प्रतिस्पर्धा गर्नुपर्ने मुख्य शक्ति भने कांग्रेस नै हो।'

तराई मधेश केन्द्रित संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीबारे पनि नेकपाको प्रतिवेदनमा विश्लेषण गरिएको छ। कतिपय सवालमा यी दुवै पार्टीको नीति समान देखिए पनि यी दुईमा भिन्नता रहेको नेकपाको बुझाई छ। 'कतिपय बेला ढुलमुल देखिए पनि सङ्घीय समाजवादी फोरम राष्ट्रिय एकता र राष्ट्रिय स्वाधीनताको पक्षमा तुलनात्मक रूपमा सही ढङ्गले उभिने गरेको छ', प्रतिवेदनमा उल्लेख छ, 'यसले समाजवादउन्मुख समावेशी लोकतन्त्रलाई पनि सकारात्मक रूपमा आत्मसात गरेको छ। जातीय, भाषिक र सङ्घीयताको सन्दर्भमा यसको सोच र नीतिमा केही सङ्कीर्णता र अतिवाद प्रकट हुने गरेका छन्। यसका त्यस्तो सोच, नीति र कमजोर पक्षको आलोचना गर्दै यससँग सहकार्य गर्न सकिन्छ।' यो पार्टी डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसँग एकता गरी नेपाल समाजवादी पार्टी बनेको छ। र, ओली नेतृत्वको सरकारमा सत्ता साझेदार छ।

समाजवादी फोरमप्रति 'सफ्ट कर्नर' राखेको नेकपाले अर्को तराई मधेस केन्द्रित दल राजपाप्रति भने कडा रुपमा प्रस्तुत भएको छ। यद्पि राजपासँग सहकार्यको सम्भावना भने नेकपाले जीवित राखेको छ।

'राजपा नेपाल जातीय, भाषिक र सङ्घीयताको विषयमा अतिवादको पक्षपोषण गर्दछ। यसले मजदुर किसान, गरिब, सर्वहारा श्रमजीवी वर्गको हितको पक्षपोषण गर्दैन, बरु तिनका विरुद्धमा उभिने गर्दछ', प्रतिवेदनमा भनिएको छ, 'राष्ट्रिय स्वाधीनता र हितका सन्दर्भमा यसले आत्मसमर्पणवादी नीति अवलम्बन गर्ने गरेको छ।'

कतिपय बेला राजपाका नेताहरूबाट बाह्य शक्तिको हित गर्ने र विखण्डनकारी विचार पनि प्रकट हुने गरेका उसले आरोप लगाएको छ। 'मूलतः यसले तराई–मधेशका बचे–खुचेको सामन्त र दलाल पुँजीपति वर्गको एउटा हिस्साको प्रतिनिधित्व गर्दछ', प्रतिवेदनमा उल्लेख छ, 'संविधानको कार्यान्वयन एवम् देश तथा जनताको हितको विषयमा यसले जति हदसम्म आफूलाई प्रस्तुत गर्दछ, त्यति हदसम्म यससँग सहकार्य हुनसक्छ।'

सङ्घीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपाल दुवैलाई राष्ट्रिय राजनीतिको मूलधारमा रहन प्रोत्साहित गर्नुपर्ने प्रतिवेदनको ठहर छ।

अन्य कम्युनिस्टको आलोचना

नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेमकिपा र अन्य कम्युनिस्ट तथा वामपन्थी समूहहरूलाई पनि एकतामा सामेल गर्न पहल गर्ने नेकपाको प्रतिवेदनमा छ। तर उनीहरूको 'जडसूत्रीय, सङ्कीर्ण, आत्मकेन्द्रित चिन्तन, नीति र व्यवहारको आलोचना गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।

'उनीहरूसँग राष्ट्रियता, लोकतन्त्र, समृद्धि र समाजवादका विषयमा कार्यगत एकता र सहकार्यको नीति लिइनेछ। तर, उनीहरूका गलत नीति र व्यवहारका विरुद्ध सैद्धान्तिक र वैचारिक सङ्घर्ष गर्ने हाम्रो नीति स्पष्ट छ', प्रतिवेदनमा भनिएको छ।

नेत्रविक्रम चन्द समूहले उग्रवामपन्थी प्रवृत्तिको प्रतिनिधित्व गरिरहेको नेकपाको ठहर छ। 'नेपाली जनताको बलिदान र सङ्घर्षबाट प्राप्त परिवर्तन र त्यसलाई संस्थागत गर्ने संविधानलाई अस्वीकार गर्दै पुनः सशस्त्र सङ्घर्षलाई तत्कालीन राजनीतिक कार्यसूची बनाउने वकालत गरिरहेको छ। यो नेपालको आजको आवश्यकता र परिस्थितिसँग पटक्कै मेल नखाने काम हो', प्रतिवेदनमा भनिएको छ, 'यसले ऐतिहासिक परिवर्तनलाई कमजोर पार्ने र यसलाई उल्ट्याउन तथा नेपालमा अस्थिरता उत्पन्न गर्न चाहने विभिन्न शक्ति तथा प्रवृत्तिलाई बल पुर्‍याउने कार्य गर्दछ।'

विप्लवको उग्रवामपन्थी प्रवृत्तिको कडा आलोचना गर्दै यसलाई राजनीतिको मूलधारमा ल्याउने प्रयत्न गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।

तीन समूहमा विभाजित पूर्वपञ्चहरूको पार्टी राप्रपाले सामन्तवादी अवशेषको प्रतिनिधित्व गर्ने नेकपाको विश्लेषण छ। 'यिनीहरूले हिन्दू राज्यको नाममा धर्मलाई राजनीतिको अस्त्र बनाउन खोजिरहेका छन्। पछिल्लो निर्वाचनबाट राप्रपाका सबै समूहहरू जनताबाट पूरै अस्वीकृत भएका छन्', प्रतिवेदनमा उल्लेख छ।

र, आफूबारे

नेकपाले आफूलाई 'नेपाली जनताको आशा र भरोसाको केन्द्र' भएको दाबी गरेको छ। 'नेपाली सर्वहारा श्रमजीवी वर्गको राजनीतिक प्रतिनिधि' का रुपमा उसले आफूलाई चित्रित गरेको छ।

'यसले राष्ट्रिय पुँजी र राष्ट्रिय पुँजीपति वर्गको हितको पनि रक्षा गर्दछ। हाम्रो पार्टी सामन्तवादविरोधी जनवादी क्रान्तिको मूल नेता हो', प्रतिवेदनमा भनिएको छ, 'यो देशभक्तिपूर्ण आन्दोलनको अगुवा शक्ति हो।'

पढ्नुस् प्रतिवेदनको पूर्ण पाठः


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.