नेकपा बैठकमा आधा घण्टा बाघको चिन्ता !
काठमाडौं : सत्तारुढ नेकपामा विभागको जिम्मेवारी फाँडफाँटको विषय पेचिलो बनेको छ। पार्टी स्कुल विभागको नेतृत्वका विषया आन्तरिक विवाद मिल्न नसक्दा विभाग गठन अल्झिएको छ। विवाद सुल्झाउन सोमबार पनि सचिवालय बैठक बोलाइएको थियो।
बैठकको सुरुमै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले तयारी नपुगेको भन्दै प्रस्ताव गरे- ‘विभागको विषयमा कुरै नगरौँ।’
तर, बैठक भने रोकिएन।
नेताहरूले नयाँ विषय प्रवेश गराए। र, नेपालमा बाघ कसरी बढाउने भन्ने विषयमा चिन्ता गरे। सन्दर्भ पनि उस्तै- विश्व बाघ दिवस।
सचिवालयका ९ नेताले बाघको चर्चा गरेरै आधा घण्टा बिताए। ‘प्रत्येक नेताले गरी बाघको विषयमा करिब आधा घण्टा धारणा राख्नुभयो’, एक सचिवालय सदस्यले अन्नपूर्णसँग भने।
पार्टी वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल बाघ दिवसकै सन्दर्भ पारेर केही वर्षअघि रसिया गएका रहेछन्। सचिवालय बैठकमा उनले पनि त्यहाँको अनुभव सुनाउने मौका पाए। 'उहाँले पनि आफ्ना स्मरण सुनाउनुभयो', ती सचिवालय सदस्यले बताए।
बैठकमा अब बाघको संख्या कसरी बढाउने भन्नेबारे नेताहरूले चिन्ता व्यक्त गरेका थिए। हाल नेपालमा २३५ बाघ छन्। सन् २०२० सम्म बाघको संख्या २५० बढाउने नेपालको लक्ष्य छ। यसका लागि नेपालसँग १५ बाघ अपुग छन्। यो लक्ष्य कसरी पूरा गर्ने भन्नेमा नेकपाका नेताहरू केन्द्रित भए।
बैठकको अन्तिममा विशेष कमिटी र सम्पर्क समिति बनाउने विषयमा पनि छलफल भयो। तर, यो विषय पनि अध्यक्ष ओलीले 'तयारी नपुगेको' भनेपछि टुंगो लागेन।
नेकपाको अर्को सचिवालय बैठक साउन २८ गते बोलाइएको छ। बैठकमा केन्द्रीय सदस्यलाई जिम्मेवारी दिनका लागि आफूले रुचि राखेका विषय प्राथमिकतामा राखेर टिपाउन भनिएको एक सचिवालय सदस्यले बताए।
यो पनि पढ्नुस्ः सल्टिएन 'स्कुल' को विवाद : नेकपाले अब नेताको रुचि बुझ्ने !