६५ जना मलामीकाे हत्यादेखि हङकङकाे आन्दाेलनसम्म
हङकङ आन्दोलनमा चीनको आक्राेश : हिंसात्मक प्रदर्शनकारीलाई तत्काल कारवाही गर्नुपर्छ
बेइजिङ : हङकङमा जारी प्रदर्शन तथा हिंसाबारे चीनले कडा प्रतिक्रिया दिएको छ । हङकङको ‘हिंसात्मक प्रदर्शनकारी’लाई तत्काल कारवाही गर्नुपर्ने भन्दै त्यहाँको गतिविधि प्रति असन्तुष्टि जनाएको छ । उसले याे आन्दाेलनलाई कट्टरपन्थी तत्वले गरेकाे हिंसाकाे संज्ञा दिँदै आक्राेश व्यक्त गरेकाे छ ।
अध्यागमन विधेयकको विरोध गर्दै हङकङमा दुई महिनादेखि प्रदर्शन हुँदैआएको छ । प्रतिपक्षी दलको समर्थनमा भएको हङकङको आन्दोलनलाई ‘प्रो डेमोक्र्यासी मुभमेन्ट’ नाम दिइएको छ । यसबाहेक चीनको सरकारी पत्रिका चाइना डेलीले हङकङ आन्दोलनबारे चासो देखाउँदै सम्पादकीय नै लेखेको छ ।
नाइजेरियामा बोको हरामको हमलाबाट मलामी गएका ६५ जना मारिए
नाइजेरिया : नाइजेरियाको बोर्नो प्रान्तस्थित एक मृत्यु संस्कारमा मलामी गएका मानिसहरुलाई लक्षित गर्दै भएको आक्रमणमा कम्तिमा ६५ जना मारिएका छन् ।
यस आक्राणमा १० जना घाइते भएका छन् । दुई साताअघि स्थानीय बासिन्दाहरुको हमलाबाट १५ जना बोको हरामका कार्यकर्ता मारिएका थिए । सोही घटनाको बदलाको रुपमा बोको हरामले यसपटक आक्रमण गरेको हुनसक्ने बताइएको छ ।
स्थानीय मिडियाका अनुसार बोको हरामका लडाकुको आक्रमणबाट यो घटना भएको हो । भागदौड तथा प्रतिवादको क्रममा केही बोको हरामका लडाकु पनि मारिएको बुझिएको छ ।
चीनबाट दशौं हजार अतियार खरिद गर्दै कम्बोडिया
कम्बोडिया : कम्बोडियाले दशौं हजारको संख्यामा चीनसँग हातहतियार खरिद गर्ने भएको छ । यसका लागि रकम छुट्याइसकिएको यहाँका अधिकारीले जनाएका छन् ।
प्रधानमन्त्री हुन सेनले चीनसँगको हतियार सम्बन्धी सम्झौता अनुरुप नै यस वर्षको लागि हतियार गर्न ४० लाख अमेरिकी डलर छुट्याइसकिएको बताएका छन् । र ती वैकल्पिक हतियार रहेको समेत बताइएको छ । कम्बोडियाका महत्वाकांक्षी विकास परियोजनामा समेत चीनले लगानी गर्दैआएको छ ।
अमेरिकाको फूड फेस्टिवलमै आक्रमण, तीनजना मारिए
वासिङ्टन : अमेरिकाको क्यालिफोर्नियास्थित ‘फूड फेस्टिवल’ भइरहेको स्थलमा हतियारधारी युवकले फायरिङ गर्दा तीनजना मारिएका छन् । अरु १५ जना घाइते भए ।
एक लाख भन्दा धेरै मानिसको भीड लागेको तीनदिने फेस्टिवलको अन्तिम दिनमा यस्तो हमला भएको हो । आक्रमणकारी ती मानिस समेत प्रहरीको आक्रमणबाट मारिएका छन् । यहाँका मेयर रोलान्ड भेस्कोले घटनाको अनुसन्धान भइरहेको बताएका छन् ।
लिबियामा सैनिक हमलाबाट पाँच चिकित्सक मारिए, सातजना घाइते
त्रिपोली : लिबियाको सैनिक कमान्डर खालिफा हफ्तर नेतृत्वको सैनिकले गरेको हवाइ हमलाबाट लिबियामा पाँचजना चिकित्सक मारिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता लामिन अल हसेमीका अनुसार त्रिपोली नजिकैको एयपोर्ट रोडमै रहेको अस्पतालमाथि हमला लक्षित थियो । हमलाको क्रममा उद्धारकर्मी सहित अरु सातजना घाइते भएका छन् ।
अमेरिकी गुप्तचर निकायका प्रमुख पदमुक्त
वासिङ्टन ः अमेरिकी गुप्तचर निकायका प्रमुख ड्यान कोट्सले राजीनामा दिएका छन् । कोट्सलाई दुई वर्षे कार्यकालको लागि धन्यवाद दिँदै राष्ट्रपति डोनल्ड ट्रम्पले पदमुक्त भएको घोषणा गरेका हुन् ।
ट्रम्पसँग इरान, उत्तर कोरिया लगायत मुद्दामा कोट्सको मतभेद् रहँदैआएको थियो । ट्रम्पले भने उनको स्थानमा आगामी अगस्ट महिनामा जन र्याक्लिफलाई मनोनयन गर्ने बताएका छन् ।
अफगानिस्तानमा बम विस्फोट हुँदा २० को मृत्यु
काबुल : अफगानिस्तानको काबुलमा बम विस्फोट गराइँदा २० जना मारिएका छन् । ५० जना घाइते छन् । ग्रिन ट्रेन्ड पार्टीको तर्फबाट उपराष्ट्रपति उम्मेदवार अमरुल्लाह सालेहको काबुलस्थित कार्यालयलाई लक्षित गर्दै विस्फोट भएको बताइएको छ । घटनास्थलबाट ८५ जना स्थानीयलाई उद्धार गरिएको प्रहरीले जनाएको छ ।