जानकी मन्दिरमा विवाद : सन्त निवासको निर्माण रोकियो

जानकी मन्दिरमा विवाद : सन्त निवासको निर्माण रोकियो

जनकपुरधाम : जनकपुरधामस्थित जानकी मन्दिर अहिले सौन्दर्यीकरणको नाममा विवादित हुन पुगेको छ।प्रदेश सरकारका तीनवटा मन्त्रालय र पूरातत्व विभागले मन्दिरमा हाल मर्मत सम्भार तथा रङरोगनको काम गरिराखेको छन्। तर, उनीहरुबीच तालमेल नहुँदा मन्दिर विवादको थलो बन्दै गएको हो।

प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मुख्यमन्त्री स्वच्छता अभियानअन्र्तगत जानकी मन्दिर सौन्दर्यीकरणको काम अघि बढाइएको हो। मन्दिरको कम्पाउण्ड क्षेत्रमा अन्डरग्राउन्ड डेनेज व्यवस्थापन, मार्बल लगाउने र ३ वटा मुख्यद्वार निर्माण गर्ने काम मुख्यमन्त्री कार्यालयले ठेक्‍कामा लगाएर काम सुरु गरेको छ।

प्रेरा आरजे रंजन जेभि ललितपुरले ६ करोड ७५ लाख ४६ हजार १०५ रुपैयाँ ठेक्‍का कबुल गरी काम गरिराखेको ठेकेदार खुशिलाल ठाकुरले बताए। २०१८ डिसेम्बर ३ मा ठेक्‍का सम्झौता भई २०१९ डिसेम्बर २ मा काम सन्पन्न गर्नुपर्ने हो। हालसम्म आफूहरुले ३५ प्रतिशतभन्दा बढी काम गरिसकेको तर, मन्त्रालयबाट मूल्यांकन हुन बाँकी रहेको ठाकुरले बताए।

मुख्यमन्त्री कार्यालयले पूरातत्व विभागसँग स्वीकृति लिएर मन्दिरको भित्रि संरचनामा क्षति नपुग्ने गरी बाहिरी कम्पाउण्डमा रङ रोगनको काम गरिरहेको प्रोजेक्ट म्यानेजर भगवान झाले बताए। तर, मुख्यमन्त्री कार्यालयले एकातर्फ काम बाँकी राखेर अर्कोतर्फ सामाजिक विकास मन्त्रालयले मन्दिरको पछाडी पट्टी साधुसन्त निवासस्थलको काम अगाडी बढाएको हो। 

मन्त्रालयले सो निवासस्थल बनाउनका लागि ९० लाख रुपैयाँ बजेट विनियोजन गरी पूर्वाधार विकास कार्यालयमार्फत कार्यसम्पादन अघि बढाएको छ। असार मसान्तको अन्तमा जेनतेन सुरु गरिएको सन्त निवासको काम उपयुक्त नरहेको र यसले मन्दिरको महत्वलाई नै धमिलो पार्ने भन्दै केही व्यक्तिले मुख्यमन्त्री कार्यालयमा उजुरी समेत हालेका छन्। 

पुरातत्व विभागसँग समेत स्वीकृति नलिई काम अघि बढाइएको भन्दै भोर नामक संस्थाले पुरातत्व विभागको ध्यानाकर्षण गराएपछि तत्कालका लागि सन्त निवास निर्माणको काम अघि नबढाउन निर्देशन दिएको छ।

मुख्यमन्त्री कार्यालयसँग कुनै समन्वयनै नगरी सामाजिक विकास मन्त्रालयले सन्त निवासको काम अघि बढाएपछि मार्बल लगाउने रङ रोगन लगाउने काममा समेत अड्चन थपिएको प्रोजेक्ट प्रमुख झाले बताए।

जुन ठाउँमा मार्बल लगाउनुपर्ने हो त्यहाँ भौतिक संरचनाको काम सुरु भएपछि सौन्दर्यीकरणअन्तर्गत भएका अन्डरग्राउण्ड ड्रेनेजलाई पनि क्षति पुर्‍याएको उनले जानकारी गराए। 

जानकी मन्दिरकै अधिनमा रहेको रामजानकी विवाहमण्डपमा प्रदेश सरकारको वातावरण, वन तथा पर्यटन मन्त्रालयले समेत कसैलाई थाहै नदिइ उपभोक्ता समितिमार्फत ६० लाखको काम अघि बढाएको छ। 

मन्त्रालयमार्फत भइरहेको कामका बारेमा जानकारीका लागि नत कतै सूचना बोर्ड राखिएको छ नत कसैलाई जानकारी नै छ । विवाहमण्डपमा लगाइएका पुराना टाइल्सलाई हटाएर नयाँ लगाउने काम सो समितिले गरिरहेको छ।

उपभोक्ता समितिमार्फत भएको सो कामको भुक्तानी समेत भइसकेको स्रोतले जनाएको छ। तर, सो काम भने हालसम्म पूरा भएको छैन्।  अर्कोतर्फ पुरातत्व विभागले मन्दिरको छाना पुरानो भइसकेको अवस्थामा त्यसको मर्मत सम्भारको काम अघि बढाइरहेको छ । मन्दिर सौन्दर्यीकरणका लागि चारवटा निकायले काम गरिरहे पनि आपसी समन्वय र सहकार्यको अभावमा काम प्रभावित मात्र भइरहेको उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव बताए। उनले भने, 'मन्दिरलाई सौन्दर्यीकरण गर्नुपर्ने दायित्व सबैको हो, तर यसमा आपसी समन्वय निकै आवश्यक छ।'

गुनासो बढेपछि छानविन समिति गठन 

जानकी मन्दिरमा भइरहेको काम मनपरी ढंगबाट भइरहेको र यसले पुरातात्विक महत्वको मन्दिरलाई क्षति पार्ने भन्दै गुनासो बढेपछि मुख्यमन्त्री कार्यालयले एक समिति गठन गरेको छ। मुख्यमन्त्री कार्यालयका सचिव शंकरप्रसाद सुवेदीको नेतृत्वमा गठित चार सदस्यीय समितिले सोमबार जानकी मन्दिरमा विभिन्न निकायले भइरहेको कामहरुको अनुगमन गरेको हो। 

'हामीले अहिले स्वच्छता अभियानअन्तर्गत भइरहेका कामको अनुगमन गरेका छौं र त्यसैगरी अन्य मन्त्रालयबाट पनि काम हेर्यौ, 'सचिव सुवेदीले भने, 'भइरहेका कामकारवाहीका विषयमा थप अध्ययनपछि निष्कर्श निस्केका कुरा तपाईहरुलाई जानकारी गराउनेछौं।' जानकी मन्दिरमा भइरहेको कामको अनुगमन गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको टोली । तस्वीर ः मनिका झा ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.