हेटौंडाका ४ ठाउँमा शंकास्पद वस्तु, २ सवारीमा आगजनी
हेटौंडा : विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको मध्यक्षेत्र बन्दको क्रममा मकवानपुरमा दुई वटा सवारी साधनमा आगजनी भएको छ । गएराति मकवानपुरको उत्तरी फाखेल हुमाने सडक खण्डमा बा १४ च ८२३४ नम्बरको निजी कारमा अज्ञात समूहले आगजनी गरेको मकवानपुर प्रहरी प्रमुख एसपी मुकेश सिंहले जानकारी दिए । कार पूर्ण रुपमा जलेको र कारमा चढेका दुईजना भने सकुशल रहेको उनले बताए ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मनहरीको खरङ्गामा बा ५ ख १७३९ नम्बरको ट्रकमा आगजनी भएको छ । गुडीरहेको ट्रकमा बुधबार बिहान अज्ञात समूहले पेट्रोल बम प्रहार गरेको मकवानपुर प्रहरी प्रमुख सिंहले बताए । पेट्रोल बम प्रहारबाट ट्रकको अगाडीको भाग जलेको उनले जानकारी दिए ।
बन्दको पूर्व सन्ध्यामा हेटौंडाको चार स्थानमा शंकास्पद वस्तु फेला परेको छ । बम लेखिएका शंकास्पद वस्तु हेटौंडाको चौकीटोल, हुप्राचौर, पारिजातपथ र थानाभ¥याङमा फेला परेकोमा नेपाली सेनाले डिस्पोज गरेको मकवानपुर प्रहरीले जनाएको छ ।
आफ्ना नेता तथा कार्यकर्तालाई सरकारले पक्राउ र हत्या गर्ने क्रम नरोकेको भन्दै बुधबार मध्य कमाण्ड बन्दको घोषणा गरिएको विप्लव मकवानपुर सेक्रेटरी अनुरागले निकालेको विज्ञप्तिमा उल्लेख छ ।