क्षतिग्रस्त सिद्धिचरण राजमार्ग अझै खुलेन

क्षतिग्रस्त सिद्धिचरण राजमार्ग अझै खुलेन

उदयपुर : पहिरोले क्षतिग्रस्त बनेको सिद्धिचरण राजमार्गमा यातायात सहज रूपले सुचारु गर्न अझै तीन दिन लाग्ने भएको छ। राजमार्ग खुलाउन सडक डिभिजन कार्यालय लहानले अधिकतम शक्ति प्रयोग गरे पनि प्राविधिक समस्याका कारण अझै तीन दिन लाग्ने बताएको छ।

उदयपुरको कटारी–घुर्मी खण्डको कटारी नगरपालिका–११ स्थित ठाँटीभञ्ज्याङमा तीन साताअघि गएको ठूलो पहिरोले चार सय मिटर ट्रयाक नै बगाएपछि नयाँ ट्रयाक खोल्न कठिनाई भएको डिभिजन प्रमुख विनोदकुमार साहले बताए। जटिल भौगोलिक अवस्थाका कारण सडक मर्मत गरेर चलाउन नमिल्ने भएपछि ठाँटीभञ्ज्याङमा अलाइनमेन्ट नै परिवर्तन गरेर नयाँ ट्रयाक खोल्ने काम भइरहेको उनको भनाइ छ।

यातायात सुचारु गर्न सडक कार्यालयले ४० मिटर माथिबाट चार सय मिटर लामो ट्रयाक खोल्न चारवटा स्काभेटर र १० वटा अन्य सवारी साधनको प्रयोग गरिरहेको साहले बताए। ‘सडक पूरै भत्किएकाले हाइट कटिङ गरेर बेस बनाउनु पर्ने हुन्छ’, प्रमुख साहले भने, ‘आधार नै भत्किएकाले अलाइनमेन्ट परिर्वतन गर्नु परेको छ।’ पहिरोले ठूलो क्षति भएपछि नयाँ ट्रयाक खोल्ने काम भइरहेको छ तर त्यसैमा समय निकै लाग्ने देखिएको छ।

अहिले मोटरसाइकल कुदाउनसम्म सक्ने अवस्था भए पनि तीन दिनभित्रै ठूला सवारी साधन सञ्चालन गर्ने प्रयास भइरहेको साहको भनाइ छ। सडकको दुवै भाग पहिरोको चपेटामा रहेकाले नयाँ ट्रयाक पनि दिगो समाधान नहुने कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए। उनले भने, ‘जनताको सहजताका लागि तत्काल सडक सुचारु गर्नुको विकल्प हामीसँग थिएन, तर यो ट्रयाक विकल्प भने हैन। दीगो समाधानका लागि अन्यत्र ठाउँको खोजी गरी सडक लैजानु पर्दछ।’

चार सय मिटर लम्बाई रहेको भत्किएको सडकको बेस निकै तल भएकाले त्योसँग मिलाउन माथिको अलाइनमेन्ट झन्डै एक सय मिटर खन्नु पर्ने प्राविधिक बताउँछन्।

कटारीको व्यापार ठप्प

सिद्धिचरण राजमार्ग अवरुद्ध हुँदा उदयपुरको प्रमुख व्यापारिक केन्द्र कटारीमा आर्थिक मन्दी भएको छ। माथिल्लो सगरमाथाको प्रमुख नाका कटारी बजार हुँदै उदयपुरको पश्चिमी क्षेत्रसहित तीन जिल्ला खोटाङ, ओखलढुंगा र सोलुखुम्बुबासीले उक्त राजमार्ग प्रयोग गर्दै आएका थिए।

चारै जिल्लाका सर्वसाधारण र व्यापारीले समेत कटारी बजारबाट किनमेल गर्दै आएकोमा सडक अवरुद्ध हुँदा कटारी बजारको व्यापार व्यवसाय ठप्प भएको उदयपुर उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर खड्काले बताए।

खड्काले भने, ‘अधिकांश व्यापारीको सामान खरिद गर्ने थलो कटारी नै हो, राजमार्ग अवरुद्धले व्यापारी आउन सकेनन्।’ समयमै सडक सुचारु नहुँदा उदयपुरलगायत चार जिल्लाका सर्वसाधारणलाई खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्री नुन, तेल, चामल अभाव भएको वडाध्यक्ष दिपक बुढाथोकी बताउँछन्। यी ठाउँमा कटारीबाट सामान लगिने गरिन्थ्यो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.