सिद्धबाबा सुरुङमार्गको विस्तृत सम्भाव्यता अध्ययन तयार
काठमाडौं : बुटवल–पाल्पा सडक खण्डमा पर्ने सिद्धबाबा डाँडाको पहिरो छल्न सुरुङ मार्ग निर्माण गरिने भएको छ। चटाने सिद्धबाबा डाँडाबाट खस्ने सुख्खा पहिरोले यो सडक प्रयोग गर्ने यात्रीको ज्यान लिने गरेको छ।
सिद्धबाबा सडक खण्ड हुँदै जोखिमपूर्ण यात्रा गर्नेलाई सुरक्षित राख्न सुरुङ मार्ग निर्माण गर्न खोजिएको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख शिव नेपालले जानकारी दिए। ‘केही वर्षदेखि सिद्धबाबाको पहिरोले निकै दुःख दिइरहेको छ। सिद्धबाबा पुग्ने हरेक यात्रु कुन समय पहाडबाट ढुंगा खस्ने हो भन्ने त्रासदीपूर्ण यात्रा गर्न बाध्य छन्’, नेपालले भने, ‘यो सडकलाई सुरक्षित बनाउन आवश्यक छ।’
नेपाल सरकारको आग्रहमा स्वीस सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सिद्धबाबाको सुरुङ मार्गको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार पारेको हो। स्वीसले तयार पारेको विस्तृत सम्भाव्यता प्रतिवेदन सडक विभागलाई असारमै हस्तान्तरण गरिसकेको छ।
प्रतिवेदनअनुसार सुरुङ मार्ग निर्माण गर्न आठ अर्ब ७६ करोड रुपैयाँ लाग्नेछ। दुई लेनको सडक रहने सुरुङ मार्गको लम्बाई १.२ किलोमिटर छ। सुरुङ प्रवेश गर्ने सडक १.४ किलोमिटर सडक पनि मर्मत सम्भार गर्नुपर्नेछ। तर वातावरणीय प्रभावको मूल्यांकन नेपाली पक्षले गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ। सरकारले पनि सिद्धबाबा सुरुङमार्गलाई प्राथमिकतामा राख्दै चालु आबका लागि ५० करोड रुपैयाँ विनियोजन गरेको छ।
विशेषगरी सुरुङमार्ग सडकको लम्बाई घटाउन, जोखिम न्यूनीकरण गर्न र उच्च ट्राफिक व्यवस्थापनका लागि निर्माण गरिन्छ। सिद्धबाबा खण्डमा सुख्खा पहिरोका कारण वर्षेनी यात्रुले ज्यान गुमाउने गरेका छन्। प्रतिवेदनमा ठेक्का लगाउँदा डिजाइन एन्ड बिल्ट मोडालिटी उपयुक्त हुने उल्लेख छ। ‘यो सुरुङमार्ग सरकारको प्राथमिकतामा छ। सुरुङमार्ग निर्माण गर्नेतर्फ सरकार सकारात्मक छ। थोरै भए पनि बजेटको विनियोजन भएको छ। केन्द्र सुरुङमार्गको वातावरणीय प्रभाव मूल्यांकनका लागि कार्यशर्तको खाका तयार गर्दैछ।
नेपालमा पहिलो सडक सुरुङमार्ग थानकोट–नागढुंगा हो जुन निर्माण भइरहेको छ। थानकोट–नागढुंगा सुरुङमार्गको डीपीआर तयार गर्दा प्रयोग गरिएको वातावरणीय प्रभाव मूल्यांकन यसमा पनि आधार मानेर कार्यशर्तको खाका तयार गरिने नेपालले जानकारी दिए। ‘सुरुङमार्ग नेपालका लागि नयाँ प्रविधि हो। यसका लागि विस्तृत अध्ययन आवश्यक पर्छ। यो क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिको अभाव पनि छ’, उनले भने। एक किलोमिटर सुरुङमार्ग निर्माण गर्न दुईदेखि तीन अर्बसम्म खर्च हुन्छ।