मीमांसा : आत्माको कथा
काठमाडौं : नेपाली समाजमा आत्माका बारेमा अनेक टीकाटिप्पणी सुन्न पाइन्छ। आत्मालाई कहिल्यै नमर्ने वस्तुका रूपमा लिइन्छ। मान्छे मरेर गए पनि आत्मा उडेर जान्छ वा चोला फेरेर अर्को भेषमा रहन्छ भन्ने विश्वास छ। आत्मा विवादित पनि छ।
आत्मा, परविज्ञान र सम्मोहनको विषयमा अनेक फिल्म बनेका छन्। कैयौं साहित्य लेखिएको छ। आत्मा हुन्छ कि हुँदैन भन्ने विषयमा मण्डला थिएटर अनामनगरमा ‘मिमांसा’ नाटक मञ्चन भइरहेको छ। नेपाली बृहत् शब्दकोषअनुसार मिमांसा भनेको अनुमान र तर्कवितर्कद्वारा कुनै विषयको मूल तत्व वा वास्तविकता पत्तो लगाउने काम हो; जसमा गम्भीर मनन, तर्क वा विचार गरेर मात्रै निर्णय गर्ने गरिन्छ।
नाटकको कथावस्तु रोचक छ। सुरुआती दृश्यले उत्साहित बनाउँछ। थिएटरको प्रांगणमा टिकट हातहातमा लिएर बसेका दर्शक एकाएक तितरबितर हुन्छन्। चर्को साइरन बजाउँदै एक हुल प्रहरी थिएटर परिसरमा आउँछन्। बाटो छाड्नुस् भन्दै हतारहतार पस्छन्। ‘भित्र भर्खरै मात्रै कुनै चर्चित मान्छेले आत्महत्या गरेको छ। घटनाको अनुसन्धान गर्न हामीलाई सहयोग गर्नुहोला’, प्रहरी निरीक्षक आदेश दिन्छ।
नाटक हेर्ने पालो पर्खेर बसेका दर्शक सुरुमा त के भएको हो पत्तो पाउँदैनन्। प्रहरीको साइरनको आवाज र उपस्थितिले वास्तविक घटना घटेको हो कि जस्तो पनि लाग्छ। दर्शक अलमलमा पर्छन्।
नेपाली साहित्यमा शंकर लामिछानेको बेग्लै उचाइ छ। उनको लेखनशैली र वैचारिक स्तरको चर्चा हुन्छ। धेरैले पछ्याउनेमध्ये पर्छ उनको लेखनी। उनै लामिछानेको कथा ‘आत्माको मिमांसा’लाई नाटक निर्देशक प्रवीण खतिवडाले नाट्य रूप दिएका छन्। शंकरको लेखनशैलीको प्रशंसा गर्दै प्रकाश सायमी भन्छन्, ‘अभिनयलाई उनले कहिल्यै जीवन ठानेनन्, तर जीवनभर उनले अभिनय गरिरहे। कहिले कथामा त कहिले निबन्धमा उनको अभिनयात्मक उपस्थिति हुन्थ्यो।’
मिमांसा नाटकले विशेषतः आत्मा र मानवबीचको सम्बन्ध खोज्छ। नाटकका प्रमुख पात्र डा. हरिहर सिग्देल मानव मस्तिष्कबारे भन्छन्, ‘मनुष्यका मानसिक सतह तीन किसिमका छन्। सचेत, अर्धचेत र अचेत। सचेत अवस्थामा हाम्रो वर्तमानका घटना तथा विचार प्रवाहित भइरहेका हुन्छन्। अर्धचेत सतहमा हामीलाई जरुरतमा चाहिने तथा चाहिने बेलामा तुरुन्त झिक्न सक्ने घटनाको सम्झना रहन्छ। अचेत सतहमा मस्तिष्कले बेकार ठानेको तथा भुल्नुपर्ने कुरा संगृहीत गरेर राख्छ।’
मनोवैज्ञानिक सिग्मन्ड फ्रायडले मानव मस्तिष्कलाई केन्द्रमा राखेर मनोविश्लेषणवादी सिद्धान्त प्रतिपादन गरेका थिए। यही सिद्धान्तलार्ई नाटक मिमांसाले पुनः खोजी गर्ने कोसिस गरेको छ। डा. हरिहरले अतुलमार्फत मस्तिष्कको अवस्था प्रयोग गरेका छन्। केही वैज्ञानिक र केही काल्पनिकजस्तो देखिने नाटकको कथा दर्शक तान्न सफल छ। दर्शक घरि खित्का छाडेर हाँस्छन् त घरि आत्मा बोल्छ भन्ने मान्यतामा सोचमग्न हुन्छन्।
एक बिरामी वृद्धले अचेतन अवस्थामा १५ वर्षअघिको घटना सुनाउँदै बर्बराएपछि चेकजाँचका लागि हरिहरको टिम बिरामीसँग पुग्छ। बिरामीले पुराना घटना सुनाउँदै केही वर्षअघि दिवंगत भएकी श्रीमतीसँग कुरा गरिरहेको हुन्छ निदाएको अवस्थामै। यो घटनाले डा. हरिहर सोचमग्न हुन्छ। उसले आत्माको खोजी गरी नयाँ प्रयोग गर्ने सोच बनाउँछ। आफ्नो एसिन्टेट डा. अतुल चौलागाईंमा पटकपटक आत्माको प्रयोग गर्छ।
हरिहर अतुललाई भन्छ, ‘पूरा ध्यान सिस्टममा एकत्रित गर। अतुल चौलागार्इं तिमीलाई विस्तारै विस्तारै निद्रा लाग्छ। तिम्रा आँखाका परेली भारी हुन्छन्, तिम्रा आँखाका परेली बन्द गर, तिमी गहिरो निद्रामा छौ। तर मेरो आवाज सुनिरहेका छौ। जब म तिम्रो कानको छेउमा ताली बजाउँछु, तिमी विस्तारै निद्राबाट बिउँझिन्छौ।’
सम्मोहित भएको अतुल चौलागाईंलाई प्रश्न गर्छ, ‘तिमी अहिले कहाँ छौ ? ’
अतुल, ‘म अहिले पत्नीसँग छु, नीलो रङको कपडामा मेरी पत्नी अहिले सुन्दर देखिएकी छन्।’
अतुलले सम्मोहित अवस्थामै आफ्नी दिवंगत श्रीमतीसँग कुरा गर्छ; जो चार महिनाको गर्भवती अवस्थामा भर्याङबाट लडेर मर्छे। हरिहर अतुलकी श्रीमतीसँग कुरा गर्छ। प्रयोगमा रहेको अतुलमा उसकी श्रीमतीको आत्मा सवार भएको छ। बारम्बार अतुलकी श्रीमतीसँग गफ गर्दा डा. उनीसँग आकर्षित भएको छ। ऊ पनि आफू मरेर अतुलमार्फत आफ्नो आत्मा बोलेको हेर्न चाहन्छ।
अतुलमाथि आत्माको प्रयोगपछि डा. यो निष्कर्षमा पुग्छ कि, ‘मान्छेले गर्न नसकेको काम या पूरा गर्न नसकेको रहर आत्ममार्फत पूरा गर्छ। सपनामा भएको बेला होस् या सम्मोहित भएर अचेत भएको अवस्थामा होस्, उसले अनेक कल्पना गरिरहेको हुन्छ। उसले शरीर नाश भए पनि आत्मा नाश नहुने कुरा प्रमाणित गर्न खोजेको छ।’
डा. हरिहर आफैंले कन्चटमा गोली हानी आत्महत्या गर्छ। आफ्नो जीवनको आदर्श मानेको डा. हरिहरको आत्महत्याले अतुलमा मानसिक आघात पर्छ। प्रहरी घटनाको अनुसन्धान गर्न क्लिनिक गएको बेला अतुल बोल्छ, ‘डाक्टर यहीँ छ, मलाई कुरा गर्न दिनुहोस्। ऊ मसँग कुरा गर्न चाहन्छ। उसको अन्तिम इच्छा पनि यही थियो। इन्सपेक्टर तपाईं मलाई सहयोग गर्नुस्। तपाईंमाथि म मनोबल प्रयोग गरेर यसको आत्मालाई बोलाउन चाहन्छु।’
नाटकमा रंगकर्मी सुनील पोखरेल देखिएका छन्। लामो समयदेखि नाटक निर्देशनमा सक्रिय पोखरेलले डा. हरिहरको भूमिकामा जीवन्त अभिनय गरेका छन्। आरोहण गुरुकुल स्कुल अफ थिएटरको प्रस्तुति मिमांसा नाटकलाई प्रवीण खतिवडाले निर्देशन गरेका छन्। २०३८ सालमा रंगकर्मको उद्देश्यले स्थापना भएको आरोहणले सन् २००३ मा गुरुकुल नाट्य केन्द्र स्थापना गर्यो। गुरुकुल नाट्य विद्यालयका रूपमा स्थापित थियो। सन् २०१२ मा यो बन्द भयो। गुरुकुलको भौतिक भवन बन्द भए पनि त्यहाँका उत्पादन अझै छन् भन्ने प्रमाणस्वरूप मिमांसा नाटक निर्देशन गरेको खतिवडाले स्पष्टीकरण दिए।
कलाकार राजकुमार पुडासैनी डा. अतुल चौलागार्इंको भूमिकामा छन्। अन्य कलाकारमा निशा शर्मा, विजय बराल, घनश्याम जोशी, सुरज तमु, अर्जुन सिवाकोटी, मौसम खड्का, आलोक थामी, सुमित तामाङ, राज न्यौपानेलगायत छन्। डेढ घण्टा दर्शक तानेर राख्छ नाटकले। यो नाटक साउन १० देखि ३२ गतेसम्म मञ्चन हुनेछ।