सोलुखुम्बु क्याम्पसको अर्ब जुटाउने अभियान
ओखलढुंगा : सोलुखुम्बुमा ५ सय विद्यार्थीलाई आवासीय सुविधासहितको उच्चशिक्षा उपलब्ध गराउन अभियान सुरु भएको छ। प्रथम सगरमाथा आरोही एडमन्ड हिलारीको पहलमा स्थापित सोलुखुम्बु बहुमुखी क्याम्पसले टुरिजम र माउन्टेनरिङ विषयमा निःशुल्क शिक्षा उपलब्ध गराउन लागेको हो। यसका लागि क्यापसले मेची–काली अभियान थालेको छ।
अभियानअन्तर्गत क्याम्पसले ७७ जिल्लाका ५ लाख व्यक्ति, ५ हजार सरकारी तथा गैरसरकारी संस्था र विश्वका २५ देशका नागरिकसँग सहयोग जुटाउँदै छ। यसलाई संसारकै धेरै नागरिकको सहभागितामा सञ्चालित पब्लिक क्याम्पस बनाइने क्याम्पस प्रमुख उद्धवकुमार शर्माले बताए।
एक व्यक्तिसँग न्यूनतम १ सय रुपैयाँ सहयोग लिएर एक अर्बको अक्षयकोष बनाउने लक्ष्य क्याम्पसको छ। अभियान आगामी पाँच वर्ष चल्नेछ। कोषको ब्याजबाट ७७ जिल्लाका एक छात्र एक छात्रा गरी १ सय ५४ जनाका लागि बर्सेनि निःशुल्क प्राविधिक तथा व्यावसयिक शिक्षाको कोटासमेत उपलब्ध हुने बताइएको छ।
स्वेदशी र विदेशीलाई पर्यटन तथा पर्वतारोहणसम्बन्धी शिक्षा दिने नेपालकै पहिलो क्याम्पसका रूपमा स्थापित गर्न अभियान थालिएको सहायक क्याम्पस प्रमुख निरञ्जन कट्टेलले जानकारी दिए।
०७६ असार मसान्तसम्म १ हजार २ जना व्यक्तिबाट १५ लाख ९८ हजार २ सय ९८ रुपैयाँ संकलन भइसकेको छ। अहिले नेपालभर र प्रथामिकताका साथ छिमेकी जिल्लामा अभियानअन्तर्गत क्याम्पसलाई इच्छादान लिने र क्याम्पसको सदस्यता हस्तान्तरण भइरहेको छ।
क्याम्पस २०५० सालमा प्रथम सगरमाथा आरोही एडमन्ड हिलारी र ०२७ सालको एसएलसीका फोर्ड फस्ट आङरिता शेर्पाको पहलमा स्थापना भएको थियो। क्याम्पसको मेचीकाली विश्व अभियानको राष्ट्रपति विद्यादेवी भण्डारीले ०७५ फागुन ४ गते शुभारम्भ गरेकी थिइन्।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सोलखुम्बु बहुमुखी क्याम्पसमा अहिले शिक्षाशास्त्र, व्यवस्थापन र मानविकी संकायमा स्नातकोत्तर तहसम्म पठनपाठन हुन्छ। यो अभियान संसारका पब्लिक क्याम्पसका लागि नमुना हुने ओखलढुंगा क्याम्पसका क्याम्पस प्रमुख नारायणबहादुर सैंजुले बताए।