पहाड सर्दै कालाजार र मलेरिया

पहाड सर्दै कालाजार र मलेरिया

ओखलढुंगा : कालाजार र मलेरिया पहाडमा पनि देखिन थालेको छ। कोसी किनारका बस्तीमा कालाजार र मलेरियाको संक्रमण देखिएको हो। सगरमाथाका पहाडी जिल्ला ओखलढुंगा र खोटाङमा कालाजार र मलेरियाका बिरामी फेला परेका छन्।

पोथी भुसुनाको टोकाइबाट सर्ने सरुवा रोग कालाजार र मलेरियाका पाँच जना बिरामी पहिचान भएका छन्। ओखलढुंगा सामाुदायिक अस्पतालमा आएका बिरामीको परीक्षणमा गत वर्षबाट दुवै रोग पहिचान भएको अस्पतालका तथ्यांक अधिकृत फणिन्द्र दानीले बताए।

उनले कालाजार र मलेरियाका अतिरिक्त लहरेखोकीका बिरामीसमेत फेला परेको जानकारी दिए। ओखलढुंगाको मानेभञ्ज्यांग गाउँपालिका र सुनकोसी तथा खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका दुधकोसी किनारका बस्ती कालाजारको जोखिममा रहेको दानीको भनाइ छ। अस्पतालले गरेको परीक्षणमा असोज, मंसिर र जेष्ठ महिनामा कालाजार फेला पारेको थियो।

कालाजार मानेभञ्ज्यांग गाउँपालिका-५ सुनकोसी गाउँपालिका ४ सिस्नेरी, र हलेसी तुवाचुङ नगरपालिकाको बाहुनीडाँडाका एक एक जना बिरामीमा देखा परेको छ। यो रोग लाग्दा लगातार ज्वरो आउने, फियो र कलेजो ठूलो भई पेट फुल्ने, कमजोरी महसुस हुने, शरीर कालो हुनेलगायत लक्षण देखिने स्वास्थ्यकर्मी बताउँछन्।

जलवायु परिवर्तन र तराईबाट सामान गाडीमा पहाडमा लाने बढदो क्रमलगायत कारणले पहाडी जिल्लामा कालाजारको असर देखिन थालेको हो। जिल्ला स्वास्थ्य प्रमुख मोहन सुवेदीले भने, ‘हालको चुनौति भनेकै रोग नियन्त्रणका लागि कार्यक्रम नै नभएका हिमाली र पहाडी जिल्लामा कालाजार देखिनु हो।’ कालाजार सार्ने भुसुनाको आकार लामखुट्टेको दाँजोमा अति सानो हुन्छ। कालाजार सार्ने भुसुना मार्न कोशी किनारका उबूँ, वाक्सा, थाक्ले, मानेभञ्ज्यांग, सिस्नेरी लगायतका ठाउँमा औषधी छरेर अभियान थालिएको सुवेदीले जानकारी दिए।

रोग पहिचान भएका क्षेत्रलाई जोखिम मानेर भूसुना मार्ने वा रोग नियन्त्रणका अन्य उपाय अपनाउनु पर्ने सरोकारवालाहरुले बताएका छन्। मानेभञ्ज्यांग गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख विश्वराज दाहालले जिल्ला स्वास्थ्य कार्यालयसँगको सहकार्यमा भुसुना मार्ने औषधी छरेको बताए। कोसी किनारमा जनचेताना फैलाउन आवश्यक रहेको वडा अध्यक्ष उमेश कार्कीले जनाए। उनले कालाजार भुसुना नियन्त्रण अभियान जिल्लाभर आवश्यक रहेको बताएका छन्।

त्यस्तै दुई नाबालकमा क्लिनिकल मलेरिया फेला परेको छ। सामुदायिक अस्पतालका तथ्यांक अधिकृत दानीका अनुसार दुई नाबालकमा औलो ज्वरोका रुपमा चिनिने मलेरिया दुई बालकमा देखिएको छ। पहाडमा समेत तराईको रोग फेला परेपछि स्वास्थ्य क्षेत्रमा चुनौति थपिएको दानीले बताए। यो रोग एनोफिलिज जातको पोथि लामखुट्टेको टोकाइबाट सर्छ। मारेर मात्रै सम्भव नरहेकाले झुल प्रयोग गरेर लामखुट्टेले टोक्नबाट जोगिनु उपयुक्त हुने उनले बताए।

सरकारले मधेसका जिल्लामा कालाजार र मलेरिया नियन्त्रणसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्दै आएको छ। तर, पहाडी र हिमाली जिल्लामा यससम्बन्धी कार्यक्रम खासै छैनन्। सरकारले कालाजार नियन्त्रणका लागि अपनाउँदै आएको मधेस केन्द्रित नीतिमा परिवर्तन गर्नुपर्ने आवश्यकता देखिएको विशेषज्ञहरू बताउँछन्। उनीहरूका अनुसार बढ्दो गर्मी र यातायातको सुगमतासँगै पहाडी जिल्लाहरूमा कालाजारको असर देखिन थालेको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.