खानेपानी अभाव भएपछि धरानमा आन्दोलन
धरान : एसियाली विकास बैंकको आर्थिक सहयोगमा धरान उपमहानगरपालिकाले सुरु गरेको एक अर्ब ७७ करोड रुपैयाँको धरान खानेपानी आयोजनाको काम अलपत्र परेको छ। चारपटक म्याद थप हुँदासमेत खानेपानी आयोजनाको काम समयमा सम्पन्न नभएपछि स्थानीय आन्दोलित भएका छन्।
स्थानीयले धरान खानेपानी आयोजना निर्माणमा भएको आर्थिक अनियमितताको छानविन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्। धरान उपमहानगरपालिकाका पूर्वउपमेयर कृष्णनारायण पलिखेको नेतृत्वमा आन्दोलन सुरु भएको हो।
पाँच वर्ष अगाडि निर्माण थालिएको धरान खानेपानी आयोजनाको काम सन् २०१७ सम्ममा निर्माण सम्पन्न हुनुपर्ने थियो। तर नेपाल–चीनको साझेदार ठेकेदार कम्पनी तेन्जिङ तुन्दि जेभीको चरम लापरवाहीका कारण खानेपानीे आयोजनाको काम अलपत्र अवस्थामा छ।
नयाँ खरिद ऐन अनुसार ठूला आयोजनाको म्याद एक पटक मात्र थप्ने प्रावधान छ। ठेकेदारले समयमा काम नसक्दा चार पटकसम्म म्याद थप भएको छ।
एसिशियाली विकास बैंकले एक अर्ब ७७ करोड ऋण अनुदान दिएपछि धरान उपमहानगरपालिकाले पाँच वर्ष अगाडि चारकोसे जङ्गलबाट डीप बोरिङ गरी खानेपानी आयोजनाको काम सुरु गरेको थियो।
धरानको मंगलबारे, फुस्रे र पिण्डेश्वरमा खानेपानी ट्यांकी निर्माण गरीे धरान उपमहानगरपालिकाकाको साविकका १९ वडामा जमिन मुनि पाइप बिच्छाएको थियो। सबैतिर पानी नपुग्दा धारा जोडेका धरानबासी पानीको अभावमा छटपटाइरहेकाा छन्।
कांग्रेस धरानका सभापति तिलक राईले खानेपानी आयोजनामा चरम भ्रष्टाचार र निर्माणमा लापरवाही भएकाले छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरे।
धरान १८ का वडाअध्यक्ष प्रविण राईले आफ्नो वडामा उपमहानगरको खानेपानी विस्तार नगरेको बताए। धरान खानेपानी परियोजनाका प्रमुख राजु पोखरेलले खानेपानी आयोजनाको काममा ढिलाई भएको स्वीकार गरे। उनले खानेपानी संस्थानसँग इन्टरकनेक्शनमा कुरा नमिल्दा पानी आपूर्तिमा समस्या भएको बताए।