नगरपालिका मेयर र उपमेयर समूहबीच झडप : उपप्रमुखसहित ६ घाइते

नगरपालिका मेयर र उपमेयर समूहबीच झडप : उपप्रमुखसहित ६ घाइते

जनकपुरधाम : धनुषाको हँसपुर नगरपालिकामा प्रमुख रामज्ञान मण्डल र उपप्रमुख रेणु झाबीचको विवादले उग्ररुप लिएको छ। नगरपालिकाको कार्यालय सार्ने विषयलाई लिएर उत्पन्न भएको विवाद झडपमा समेत परिणत भएको हो।

झडपमा परेर उपप्रमुख रेणु झासहित ६ जना स्थानीय घाइते भएका छन्। नगरपालिकाको बघचौडामा रहेको साबिकको कार्यालयलाई हँसपुर चोकमा सार्ने विषयलाई लिएर दुबै पक्षबीच मंगलबार झडप भएको हो। 

उपप्रमुख झाको घर समेत रहेको बघचौडाबाट प्रमुख मण्डलले आफ्नो गाउँ नजिक हँसपुरको बेल्ही चोकमा कार्यालय सार्न खोजेपछि महिनादेखि विवाद सुरु भएको थियो। 

करिब डेढ महिना अगाडी प्रमुख मण्डलले बेल्ही चोकमा एउटा भवन भाडामा लिएर त्यहीँबाट कार्यालय संचालन गर्दै आएका थिए भने उपप्रमुख झा बघचौडास्थित साबिकको कार्यालयमा बसेर काम गर्दै आएकी थिइन्। यसै क्रममा मंगलबार प्रमुख मण्डलले तीनवटा ट्याक्टरमा आफ्ना कार्यकर्ताहरुलाई पठाएर बघचौडास्थित कार्यालयबाट सामानहरु सार्न खोजेपछि उपप्रमुख झाले कार्यालयमा ताल्चा लगाएकी थिइन्। 

प्रहरीको सहयोगमा प्रमुख मण्डल पक्षधरहरुले कार्यालयको ताल्चा खोल्ने  प्रयास गरेपछि उपप्रमुख झा पक्षका वडाध्यक्ष र सर्वसाधारणले ढुंगामुढा गरेका हुन्। झडप नियन्त्रण गर्न प्रहरीले लाठी चार्ज गर्दै टियर ग्याँस समेत प्रहार गरेको थियो। 

शान्ती सुरक्षा कायम गर्न र भीड नियन्त्रण गर्न प्रहरीले केही राउण्ड टियर ग्याँस प्रहार गरेको धनुषाका प्रहरी उपरिक्षक शेखर खनालले बताएका छन्। झडपमा परी उपप्रमुख झा सहित वडा–२का वडाध्यक्ष उदय साह, स्थानीय तपेश्वर मण्डल, फेकन कापर र उपप्रमुखका गाडी चालक पुण्य खत्री सहित सातजना घाइते भएका छन्। झडप साम्य पार्न खटिएका प्रहरीहरु मध्ये पनि केही घाइते भएका छन्। 

प्रमुख मण्डलले बेल्ही चोक नगरपालिकाको बिचमा भएको हुँदा सबैलाई पायक पर्ने हुनाले नगरपालिकाको कार्यालय त्यहाँ राख्नु पर्ने बताउँदै आएका छन्। तर, उपप्रमुख झाले भने बघचौडा साबिकबाटै कार्यालय रहेको हुँदा यहाँ नै कार्यालय रहनु उपयुक्त हुने अडानमा छिन्। 

‘मेयर मण्डलले कार्यालय सम्बन्धी विवाद बसेर छलफल गरी सल्टाउनुको साटो आफ्नो गुण्डा पठाएर कागजपत्र लुट्न खोज्दा हामीले प्रतिकार गरेका हौं,’ उपप्रमुख झाले भनिन्,‘उनको गुण्डागर्दी शैलीको विरोध गर्दा सर्वसाधारण जनतामाथि लाठि बर्साइएको छ।’

अर्कोतर्फ, प्रमुख मण्डलले सम्पूर्ण घटनाको जिम्मेवारी उपप्रमुखले लिनुपर्ने बताउँछन्। ‘अति आवश्यक कागजातहरु उपप्रमुखले आफूले संचालन गरेको कार्यालयमा राखेकी थिइन्’, प्रमुख मण्डलले भने,‘उनले कागजात नदिँदा कार्यालयको कार्य संचालनमा समस्या भयो र कागजात लिन प्रहरीको सहयोगमा हामी जाँदा विवाद गरेर झडपको अवस्था सिर्जना गराउनु भयो।’

कार्यालय सार्ने विषयमा निर्वाचित भएदेखि नै प्रमुख र उपप्रमुखबीच विवाद रहँदै आएको छ। राष्ट्रिय जनता पार्टी नेपालबाटै निर्वाचित भएका प्रमुख मण्डल र उपप्रमुख झाबीचको विवाद पुरानो छ। उपप्रमुख झाले आफूलाई कुनै मतलबनै नराखी प्रमुख मण्डलले नगरपालिका संचालन गर्दै आएको आरोप लगाउँदै आएकी छिन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.