एकता महाधिवेशन अनिश्चित

एकता महाधिवेशन अनिश्चित

काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा)को एकता महाधिवेशन अन्योलमै देखिएको छ। उक्त पार्टीले वैशाख ७ गतेदेखि तीन दिन महाधिवेशन गर्ने भनेको थियो। त्यसको तयारी नपुगेको भन्दै कात्तिकमा सारिएको छ। महन्थ ठाकुरको संयोजकत्वमा मूल तयारी समिति गठन गरिएको छ तर बैठकै बस्न सकेको छैन।

तत्कालीन मधेसी मोर्चामा आबद्ध ६ दलले एकीकरण गरी तीन वर्षअघि राजपा गठन गरेका थिए। त्यस बेला एक वर्षभित्र एकता महाधिवेशन गर्ने घोषणा भनिएको थियो। कात्तिकमा गर्ने गरी नयाँ मिति घोषणा भए पनि त्यसको तयारी देखिएको छैन। अध्यक्षमण्डलका संयोजक राजकिशोर यादवले चाँडै बैठक बस्ने बताए। ‘केही समययता हामी पार्टीको आन्तरिक कुराबारे लगातार छलफल गरिरहेका छौं’, उनले अन्नपूर्णसँग भने, ‘अब चाँडै हामी यसको तयारी सुरु गर्दै छांै।’

गत माघमा सुरु भएको पार्टी सदस्यता वितरण अझै टुंगिएको छैन। केही जिल्लामा विवाद देखिएको थियो। संयोजक यादवले पहिलो महाधिवेशन ठाउँ तोक्ने र त्यसपछि सक्दो चाँडो महाधिवेशन प्रतिनिधिको टुंगो लगाइने बताए। राजपाले महाधिवेशनबाट एकल नेतृत्वमा जाने निर्णय गरिसकेको छ। त्यसअनुरुप पार्टीको नयाँ विधानसमेत तयार पारिसकेको छ। जुन विधान महाधिवेशनबाटै कार्यान्वयनमा आउनेछ। नेता लक्ष्मणलाल कर्ण नेतृत्वको समितिले एकल नेतृत्वमा जाने गरी विधान तयार पारी अध्यक्षमण्डललाई बुझाएको छ।

राजपाजस्तै समाजवादी पार्टीको पनि अवस्था उस्तै छ। उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम र अशोक राई नेतृत्वको संघीय समाजवादीबीच एकीकरण भएको चार वर्ष नाघ्यो। एकताबाट बनेको संघीय फोरमको महाधिवेशन भएन। पटक–पटक महाधिवेशन गर्ने घोषणा भने उक्त पार्टीले गरेको थियो। वैशाख अन्तिम साता जनकपुरमा महाधिवेशन गर्ने घोषणा गरिएको थियो। बरु २३ वैशाखमा डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसँग पुन एकीकरण भयो। समाजवादी पार्टी गठनपछि चाँडै एकता महाधिवेशन गर्ने भनिएको थियो।

तीन महिनापछि पार्टी समायोजनको काम अघि बढेको छ। विदेश विभाग प्रमुख अर्जुन थापाले समायोजन सकिएपछि मात्रै महाधिवेशनबारे पार्टीले निर्णय लिने बताए। ‘हामी प्रादेशिकस्तरमा पार्टी समायोजनका काम सम्पन्न गर्न लागेका छौं’, उनले भने, ‘पार्टी एकीकरणपछि गरिनुपर्ने सम्पूर्ण समायोजन सकिएलगत्तै महाधिवेशन घोषणा हुन्छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.