कुन विधामा कति आकर्षण ?
स्वतन्त्र रूपमा व्यवसाय गर्न चाहने इन्जिनियरका लागि पनि प्रर्याप्त अवसर छ।
काठमाडौं : उद्यमशीलता र रोजगारीको प्रचुर सम्भावना र अवसर भएको क्षेत्र हो, इन्जिनियरिङ। प्राविधिक शिक्षा भएकाले पनि यस क्षेत्रसम्बन्धी जनशक्तिको माग बढ्दो छ। इन्जिनियरिङ प्राचीन इतिहास भएको ज्ञान हो। भवन निर्माणदेखि सहर निर्माणसम्म, कुलो निर्माणदेखि हाइड्रोपावर तथा सफ्टवेयर बनाउनसम्म इन्जिनियरिङको आवश्यकता पर्छ।
इन्जिनियरिङ आफैंमा एक संकाय हो। यसअन्तर्गत विभिन्न विषयहरू पढाइ हुन्छन्। हरेक विषयको आफ्नै कार्यक्षेत्र र स्कोप छन्। आधुनिक सभ्यतामा कुनै एक निर्माणका लागि एक क्षेत्रको इन्जिनियरिङ ज्ञानले मात्र पुग्दैन। नेपाल जस्तो विकासोन्मुख राष्ट्रमा इन्जिनियरको महत्त्व धेरै हुने काठमाडौं इन्जिनियरिङ कलेजका प्रोफेसर प्रिन्सिपल इ. हिरेन्द्रमान प्रधान बताउँछन्।
इन्जिनियरिङ रोजगारीका लागि मात्र अध्ययन गरिने विषय हैन। यसका विद्यार्थीले रोजगारी पनि सिर्जना गर्छन। इन्जिनियरले आफ्नै लगानीमा परामर्शदाता तथा निर्माण कम्पनी खोलेर अन्यलाई जागिर पनि दिने गरेका छन्। सरकारले कोटै तोकेर इन्जिनियरका लागि आवेदन माग गर्ने गरेको छ। कर्पोरेट हाउस, सरकारी कार्यालय, स्थानीय तह, दूरसञ्चार, उड्डयनलगायत सबैमा इन्जिनियरको माग छ। औद्योगिक प्रतिष्ठानमा पनि आवश्यकता अनुरूपको इन्जिनियर उपलब्ध हुन सकेका छैन। स्वतन्त्र रूपमा व्यवसाय गर्न चाहने इन्जिनियरका लागि पनि प्रर्याप्त अवसर छ।
सिभिल इन्जिनियरिङ यस विधामा लोकप्रिय विषय हो। घर निर्माणदेखि सडक निर्माणसम्म यसको माग छ। पुनर्निर्माणतर्फ तथा समृद्धितर्फ अग्रसर नेपाली समाजलाई त यसको झनै आवश्यकता छ। त्यसबाहेक सिभिल इन्जिनियरिङबाट ब्याचलर गरेपछि मास्टर्समा विभिन्न क्षेत्रमा विशेषज्ञता हासिल गर्न सकिन्छ। सिभिल इन्जिनियरिङमा ब्याचलर गरेका विद्यार्थी हाइड्रोपावर, वाटर रिसोर्स, स्ट्रक्चरल इन्जिनियरिङ, इन्भारमेन्टल इन्जिनियरिङ, जियो–टेक इन्जिनियरिङलगायत विषयमा दक्षता हासिल गर्न सक्छन्।
२०७२ सालको महाभूकम्पपछि आर्किटेक्चर इन्जिनियरिङतर्फ पनि विद्यार्थीको रुचि बढ्दो क्रममा छ। आर्किटेक्चर इन्जिनियरिङ मूलतः घर निर्माणसँग सम्बन्धित छ। तर यसको स्कोप यतिमा सीमित छैन। आर्किटेक्चर इन्जिनियरिङमा ब्याचलर गरेकाले अर्बन प्लानिङ (सहरी योजना), कन्स्ट्रक्सनल म्यानेजमेन्टलगायत विषयमा विशेषज्ञता हासिल गर्न सक्छन्।
कल्पित चौलागाईं थापाथली इन्जिनियरिङ कलेजमा आर्किटेक्चर १०औं सेमेस्टरमा अध्ययनरत छन्। अध्ययन पूरा हुनु अघि नै उनले आफ्नो भावी योजना तयार गरिसकेको छन्। ६ सेमेस्टरदेखि विभिन्न परामर्शदातासँग काम गरिरहेको उनले बताए। अध्ययनका क्रममा रहे पनि सीभीको आधारमा परामर्शदातासँग काम गर्ने अवसर पाएको उनी बताउँछन्। यसरी काम गर्दा उनले विभिन्न घरको पुलको, स्कुल, पोखरीको सुन्दरीकरण, पार्कको मास्टर प्लान, नगरपालिका तथा गाउँपालिकाको प्रशासन भवनको डिजाइन गर्ने अवसर प्राप्त गरेका थिए। साथै फुटबल र क्रिकेट स्टेडियमको पनि डिजाइन गरेका बताउँछन्। ‘अध्ययन पूरा हुन तीन महिना बाँकी छ। जागिरका लागि थुप्रै अफर आएका छन्। तर आफ्नै कम्पनीमा काम गर्ने छु,’ उनी भन्छन्।
यसका लागि कम्पनी दर्ता गर्ने तयारीमा रहेको उनी बताउँछन्। भूकम्प अघि घरको डिजाइन सिभिल इन्जिनियरले गर्ने गरे पनि पछिल्लो समय आर्किटेक्चर नै खोज्ने गरेका छन्। अहिले मुलुकमा अहिले मुलुकमा औद्योगिक कलकारखाना विस्तारले व्यापकता पाएको छैन। तर सरकारले विदेशी लगानी भित्र्याउनका लागि २०७५ चैतमा दोस्रो लगानी सम्मेलनको गरेको थियो। सरकार र नीति तर्फबाट करिब ३४ खर्ब रुपैयाँ बराबरको परियोजना सम्मलेनमा प्रस्तुत गरिएको थियो। विदेशी लगानीकर्ताको उत्साहजनक रूपमा लगानीका लागि प्रतिबद्धता जाहेर गरेका थिए। लगानी बोर्ड लगानीकर्ताले पेस गरेको आवेदनको मूल्यांकनमा छ।
यसमा पनि औद्योगिक क्षेत्र विस्तार हुन्न सक्ने अपेक्षा गर्न सकिन्छ। ठूला औद्योगिक प्रतिष्ठान स्थापना भएसँगै इन्ड्रस्ट्रियल इन्जिनियरिङको माग बढ्दै जानेछ। मेकानिकल इन्जिनियरिङको यो एउटा अंग हो। यसमा विशेषतः उद्योग, कलकारखानाका लागि आवश्यक मेसिनहरूको निर्माण र मर्मतबारे पढाइन्छ। नेपालमा यसको ठूलो सम्भावना छ। विस्तारै देश औद्योगिकीकरणतर्फ गइरहेकाले यसको सम्भावना छ।
इलेक्ट्रोनिक्स इन्जिनियरिङ सञ्चार प्रविधिका ससाना सामग्रीसँग सम्बन्धित छन्। कम्प्युटर इन्जिनियरिङसँग मिल्दोजुल्दो भए पनि यो हार्डवेयरसँग सम्बन्धित छ। तर नेपालमा भने कम्प्युटर इन्जिनियरिङ र इलेक्ट्रोनिक्स इन्जिनियरिङको कोर्स ७० प्रतिशतभन्दा बढी मिल्ने काठमाडौं इन्जिनियरिङ कलेजका सिनियर लेक्चरर इ. श्याम दाहाल बताउँछन्।
इलेक्ट्रोनिक्स इन्जिनियरिङ पनि राम्रो स्कोप भएको विषय हो। लेक्चरर दाहालका अनुसार सूचना प्रविधिको मेरुदण्ड हो। यसमा ब्याचलर गरेकाहरूले डाटा कम्युनिकेसन, डिजिटल सेटेलाइट कम्युनिकेसन, आर्टिफिसेल इन्टिलिजेन्स आदिमा दक्षता हासिल गर्न सक्छन्। आईटी क्षेत्र र दूरसञ्चारमा जागिरमा लाग्न सक्छन्।
पछिल्लो समय सरकारी तथा निजी क्षेत्रमा आईटी इन्जिनियरको व्यापक माग छ। अहिले धेरै जस्तो कम्पनी र सरकारी कार्यालयमा आईटी इन्जिनियर राख्ने गरिएको छ। साथै यो विषयका इन्जिनियरले स्वतन्त्र रूपमा काम गरेर विभिन्न सफ्टवेयर, एप्स बनाएर लाखौं रुपैयाँ कमाउन सक्छन्।
ह्वाइटहाउस इन्स्टिच्युसन अफ साइन्स एन्ड टेक्नोलोजीबाट कम्प्युटर साइन्समा स्नातक उत्तीर्ण गरेका एलेक्स मगर टचवयर आईटी नेपाल प्रालिका सञ्चालक तथा फुल स्ट्याक डेभलपरको रूपमा काम गर्दै छन्। उनी ६ सेमेस्टरमा अध्ययन गर्दा नै टचवयर आईटी इटालीको नेपाली प्रतिनिधिको आईटी क्षेत्रमा प्रवेश गरेका हुन्। टचवयरमा कार्यरत उनीसहित पाँचजना साथी मिलेर इटाली कम्पनीको साझेदारको रूपमा काम गरिरहेका छन्। उनको कम्पनीले थप पाँच इन्जिनियरलाई रोजगारी पनि प्रदान गरेको छ।
कम्प्युटर इन्जिनियरिङ कम्प्युटरको सफ्टवेयरसँग सम्बन्धित छ। नयाँनयाँ सफ्टवेयर निर्माणका लागि यसको खाँचो पर्छ। यो कम्प्युटरको युग भएकाले पनि यसको स्कोप निकै बढी छ। यसको संसारभर उत्तिकै आकर्षण छ।
इलेक्ट्रिकल इन्जिनियरिङले विद्युत्को काममा दक्ष बनाउँछ। यो विषयको अध्ययनले विद्युत् सामग्रीको निर्माणदेखि विद्युत् जडान र प्रवाहमा योग्य बनाउँछ। नेपालजस्तो जलविद्युत्को उच्च सम्भावना रहेको देशमा यसको महत्त्व हिलसाइड इन्जिनियरिङ कलेजका प्रबन्ध निर्देशक गोपीकृष्ण न्यौपाने बताउँछन्।
राज्यले १५ वर्षमा १५ हजार मेगावट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ। यस क्षेत्रमा माग धान्न सक्नेगरी इन्जिनियर उत्पादन भइसकेको छैन। टेलिकम्युनिकेसनको क्षेत्रमा पनि इलेक्ट्रिकल इन्जिनियर आवश्यक पर्छ। मुलुकमा स्मार्ट सिटी, ठूला पूर्वाधार, जलविद्युत् आयोजना सम्पन्न गर्न धेर इन्जिनियरको आवश्यक पर्ने बताउँछन्। तत्कालीन समयमा सडक, पुललगायतको सिभिल इन्जिनियरले गर्नुपर्ने धेरै काम बाँकी छ।
मेकानिकल इन्जिनियरिङ औद्योगिकीकरणको मेरुदण्ड मानिन्छ। उद्योग, कलकारखानामा आवश्यक पर्ने ठूलाठूला मेसिनहरूको निर्माणदेखि सवारीसाधनको निर्माणमा पनि यो इन्जिनियरिङ आवश्यक पर्छ। न्यौपानेका अनुसार देशको विकासमा मेकानिकल इन्जिनियरिङको ठूलो भूमिका हुन्छ।
विकास निर्माणको सुरुआती चरणमा नेपाल भएकाले हरेक क्षेत्रमा इन्जिनियरको माग व्यापक छ। स्वदेशमा अध्ययन गर्ने विद्यार्थीहरू बेरोजगार बस्नुपर्ने अवस्था छैन। सस्तो मूल्यमा इन्जिनियरिङ पास गर्न चाहने विद्यार्थीको समस्या विकराल बन्दै गएको न्यौपाने बताउँछन्। इन्स्टिच्युट अफ इन्जिनियरिङको इन्ट्रान्स पास गर्ने विद्यार्थीलाई विदेशमा अध्ययन गर्नका लागि नो अब्जक्ेसन लेटर दिनुपर्ने उनको भनाइ छ।
आईओईको इन्ट्रान्स पास नगर्ने पनि विदेशमा गएर इन्जिनियरको सर्टिफिकेट ल्याउने गरेका छन्। साथै, उनीहरूले इन्जिनियरिङका क्षेत्रमा काम गर्न सबल छन् भनेर मापन पनि गर्ने गरिएको छैन। यसका कारण पछिल्लो समय इन्जिनियरिङ क्षेत्र बदनाम बन्दै गएको न्यौपानेको भनाइ छ।
अटोमोबाइल इन्जिनियरिङ नेपालमा नयाँ विषय हो। नेपालमा अटोमोबाइलको संख्या बढिरहेको तर यसमा काम गर्ने दक्ष जनशक्तिको अभाव छ। नेपालमा सवारीसाधन उत्पादन हुँदैन। चर्चित बजाज मोटरसाइकल एसेम्बलिङ सुरु भइसकेको छ। नेपालको लागि हुन्डाई मोर्टसको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले गाडी उत्पादन गर्ने भन्दै कम्पनी दर्ता गरिरहेको छ।
दक्षिण कोरियाली कम्पनी मोट्रेक्सले प्लान्ट खोल्नका लागि लागनी बोर्डमा प्रस्ताव पेस गरेको छ। यसले पनि यो क्षेत्र सम्भावनाले भरिपूर्ण भएको देखाउँछ। अहिले नेपालमा सवारी बिक्री सवारी गरिरहेका कम्पनीमा माग अनुसारको अटोमोबाइल इन्जिनियर प्राप्त गर्न सकेका छैनन्। यी कम्पनीले विदेशीबाट इन्जिनियर लिएर काम गरिरहेका छन्।
औषधि उपचारमा आवश्यक उपकरणको निर्माण तथा मर्मत एवं मेडिकल क्षेत्रमा आवश्यक अन्य सामग्रीको नेपालमा बायोमेडिकल इन्जिनियरिङको अध्ययन क्षेत्र हो। अस्पतालमा प्रयोग गरिने ईसीजी, एक्सरेजस्ता उपकरणहरूको निर्माण पनि यही इन्जिनियरिङले गर्छ। शरीरको एक भागको टिस्यु (तन्तु) विकास गरेर अर्को भागमा जोड्ने कामका लागि यही इन्जिनियरिङको आवश्यकता पर्छ। विषय अध्ययन गर्ने विद्यार्थी बेरोजगार बस्नुपर्ने छैन।
यीबाहेक सर्भे इन्जिनियरिङ र एग्री इन्जिनियरिङ पनि आकर्षणका विषय बन्दैछन्। सर्भे इन्जिनियरिङ भूमिको नापजाँचसँग सम्बन्धित छ भने एग्री इन्जिनियरिङले कृषि उपकरणको निर्माण र मर्मतबारे ज्ञान दिन्छ।