कश्मीरी महिला-बालबालिकाको चिन्तादेखि केन्याको संसदसम्म

कश्मीरी महिला-बालबालिकाको चिन्तादेखि केन्याको संसदसम्म

रुसको सैनिक क्याम्पमा विस्फोट हुँदा २ को मृत्यु


मस्को : रुसको उत्तरी क्षेत्रस्थित एक सैनिक क्याम्पमा रकेट इन्जिन विस्फोट हुँदा दुईजनाको ज्यान गएको छ । अरु ६ जना घाइते छन् । रक्षा मन्त्रालयले बिहीबार विज्ञप्ति मार्फत् यस्तो जानकारी गराएको हो । घाइतेलाई अस्पताल लगिएको छ ।

पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज सरिफकी छोरी पक्राउ परिन्

इस्लामाबाद : पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज सरिफकी छोरी तथा मुस्लिम लिगकी उपाध्यक्ष मरियम सरिफ पक्राउ परेकी छन् । ‘नेश्नल एकाउन्टेबिलिटी ब्यूरो’का अनुसार बिहीबार उनी जेलमा रहेका आफ्ना बावुलाई भेटेर फर्कने बेला पक्राउ परेकी हुन् ।

पाकिस्तानमा ठूलो मानिएको चौधरी सुगर मिल्स मुद्दामा मरियम पनि संलग्न रहेको भन्दै उनीमाथि मुद्दा थियो । उनी अहिले हिरासतमै रहेको स्थानीय मिडियाले जनाएका छन् ।

कश्मीरी महिला र बालबालिकाबारे मलालाको चिन्ता

इस्लामाबाद : नोबेल पुरस्कार विजेता तथा पाकिस्तानी अभियन्ता मलाला युसफ्जाइले कश्मीरका महिला तथा बालबालिकाबारे चिन्ता व्यक्त गरेकी छन् । भारत सरकारले कश्मीरको स्वायत्तता खारेज गरेपछि त्यहाँका महिला र बालबालिकाको सुरक्षामा मलालाले चिन्ता व्यक्त गरेकी हुन् ।

‘म बच्चा भएदेखि नै, मेरी आमा र बा बच्चा भएदेखि नै, मेरा हजुरबा युवा हुँदादेखि नै कश्मीरका जनता द्वन्द्वमा बाँच्दैआएका छन्,’ मलालाले आफ्नो ट्वीटमा लेखेकी हुन् ।

२२ वर्षीया मलालाले यस क्षेत्रमा शान्ति स्थापनाका लागि अन्तर्राष्ट्रिय समुदायसँग आग्रह समेत गरेकी छन् । उनले लेखेकी छन्, ‘म आज कश्मीरी महिला र बालबालिकाको सुरक्षाबारे चिन्तित भएको छु ।’

पाकिस्तानले रोक्यो भारत जाने यात्रुवाहक रेल

इस्लामाबाद : कश्मीर मामिलासँगै भारतसँग रुष्ट भएको पाकिस्तानले भारत जाने रेल ‘सम्झौता एक्सप्रेस’ बन्द गरिदिएको छ । सम्झौता एक्सप्रेसका यात्रुहरु बिहीबार घण्टौँसम्म वाघा बोर्डरमै रोकिनुपरेको छ ।

बिहीबार पाकिस्तानी रेलमन्त्री शेख रसिदले सम्झौता एक्सप्रेस रोक्ने कुरा पत्रकार सम्मेलन गरी जानकारी गराए । बिहीबार १ बजे उक्त रेल वाघा बोर्डरमा पुगेर अब अघि नबढ्ने बताइएको हो । साथै पाकिस्तानी पक्षबाट अब भारतीय सुरक्षाकर्मी नै आएर भारतीय भूमिमा रेल जानुपर्ने शर्त राखिएको छ ।

अल्पसंख्यक याजिदी महिला र बालबालिकालाई फ्रान्समा शरण मिल्यो

पेरिस : फ्रान्सले अल्पसंख्यक इराकी याजिदी महिला र बालबालिकको समूहलाई एकैचोटि शरण दिएको छ । यहाँको आन्तरिक तथा विदेश मन्त्रीहरुका अनुसार यस्तो समुदायका ३१ परिवारलाई बिहीबार बसोबासको व्यवस्था मिलाइएको हो ।

गत डिसेम्बर र मे महिनामा पनि १६ र २८ परिवारलाई फ्रान्सेली सरकारले स्थायी बसोबासको प्रबन्ध मिलाएको थियो । याजिदी विश्वमै धार्मिक अल्पसंख्यक मानिएको मुस्लिम समुदाय हो ।

हजका लागि एक लाख बढी जनावर मासुका लागि तयार

दोहा : मुस्लिम समुदायको महत्वपूर्ण चाड हजको सन्दर्भमा साउदीमा १ लाख भन्दा धेरै जनावर मासुका लागि तयार पारिएका छन् । लाखौंँको संख्यामा हज तिर्थयात्रीहरु उपस्थित भइसकेको पनि साउदी अधिकारीले जनाएका छन् । सुरक्षाको लागि ४० हजार भन्दा धेरै सुरक्षाकर्मी, प्राविधिक लगायत खटाइएको छ ।

केन्यामा महिला सांसदले बच्चा च्यापेरै संसद बैठक पुगिन्

केन्या : बुधबार केन्याको संसदमा एक चाखलाग्दो र अनौठो घटना भयो । जुलेखा हसन नामकी एक महिला सांसदका कारण यहाँको तल्लो सदनमा खैलाबैला मच्चियो ।

१५ मिनेटसम्म त संसद बैठक नै अवरुद्ध भयो । हसनले जब ५ महिनाको छोरालाई काखमा च्यापेर संसद बैठकमै पुगिन् त्यसपछि अन्य थुप्रै सांसदले विरोध जनाए ।सोमालियासँगको सीमा विवादबारे बहस भइरहँदा हसनले बच्चालाई लिएरै बैठकमा पुगेकी थिइन् । तीन सन्तानकी आमा हसनले भने आफ्नो सन्तानलाई हेरचाह गर्ने अर्को कुनै उपाय नभएकाले यसरी संसदमै ल्याउनु परेको प्रतिक्रिया दिएकी छन् ।

साथै काम पनि छाड्न नचाहने र सन्तानको जिम्मा पनि आफूले व्यहोर्नुपरेकाले यस्तो भएको उनको भनाइ थियो । सभामुख क्रिस्टोफर ओमुलेलेले भने उनलाई सन्तानसहित बैठकमा सहभागी हुन नसक्ने भन्दै बाहिर पठाए । संसद भवन बच्चालाई हेरचाह गर्ने ठाउँ नभएको उनको तर्क थियो । हसनले संसद बैठक छाडेसँगै संसदमा बहसकै रुप लिएको थियो । केही सांसदले त ती सांसदलाई वहिस्कार गर्नुपर्ने भन्दै नारावाजी नै गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.