नदोहोरियोस् हिरोसिमा र नागासाकीको दुखान्त
बीसौं शताब्दी नै कलंकित हुन पुग्यो १९४५ अगस्त ६ र ९ को कहालीलाग्दो मानव संहारको घटनाले। ओपनहाइमरको नेतृत्वमा निर्मित एटम बमलाई बी– २९ अमेरिकी बमवर्षक विमानबाट शान्त र सभ्यताको चरणमा माथि उठ्दै गरेका जापानका दुईवटा नगर क्रमशः हिरोसिमा र नागासाकीमा पहिलो र दोस्रो एटम बम प्रहार भयो।
कालो–मुस्लोले दिउँसै नगर अँध्यारो भयो। फेरि क्षणभरमै सहर आगोको भुङ्ग्रोमा परिणत भयो। फलाम, इँटाहरू पग्लिए। खोलाका पानी भकभक उम्लिए। आकाशको गर्जनले धर्ती चिरा–चिरा भयो। दुवै नगरमा रहेका जनसंख्यामा करिब आधाजतिलाई खरानी बनायो। मानवबाटै बनाइएको एटम बम, निरपराधी शान्तिपक्षधर मानवमाथि नै प्रहार गरी क्षणभरमा वीभत्स बनाइयो र नगर खण्डहर र मसानघाट हुन पुग्यो।
बम खसालेको केन्द्रको दूरीअनुसार टाढा बसोवास गर्नेहरू हजारौं जलेका मुढाजस्ता मृत भए। कोहीको धुकधुकी मात्र रह्यो। कोही अंगभंग भई घाइतेमा परिणत भए। भष्म हुने गइहाले, तर आणविक घाइते भई बाँचेकाहरूको जीवन नै विषाक्त भयो। आणविक विकिरणको कारणले नयाँ–नयाँ रोग निम्त्यायो। यसलाई औषधिले नै छोएन। प्रकृति–पर्यावरण नष्ट गर्यो। दीर्घकालसम्म असर पुर्याइरहने भयो। पुस्तौंपुस्ता सबलांग बच्चा जन्मिन वाधा पुर्यायो।
एकक्षणमै हिरासिमा र नागासाकी नगरसहित करिब तीन लाख मानवलाई खरानी बनाउने लिटिल व्वाइ र फ्याट म्यानले फेरि पनि मुन्टो उठाउन सक्तैनन् भन्ने स्थिति छैन।
मानव सभ्यताको इतिहासमा अगस्त ६ र ९ लाई कहिल्यै क्षमा गर्न नसकिने मानवमाथि गरिएको क्रूर अपराधको तथा कालो दिनका रुपमा शताब्दी–शताब्दीसम्म स्मरण गरिन्छ। यो एक चरम वियोगान्त अर्थात् दुखान्त घटना हो, जुन घाउ लामो समयसम्म सुक्ने छैन। हुन त यसबीचमा संयुक्त राष्ट्रसंघ जस्तो निकायले अहिंसात्मक दशकसमेत घोषणा गरी मनाइसक्यो। यसैगरी आणविक अस्त्र उत्पादन, भट्टी परीक्षण, प्रयोग, आप्रसार आदिमाथि पूर्ण प्रतिबन्ध लगाउनेबारे चर्को स्वरसमेत निस्किए। निशस्त्रीकरणका लागि सम्मेलन, घोषणा आदि पनि भए। तर यी सबै प्रयास सार्थक हुन सकेनन्, कागतमा मात्र रंगिन पुगे।
वर्तमान विश्व हेर्दा आणविक शक्तिराष्ट्र बन्ने र आणविक परीक्षण गर्ने होडबाजीमा कमी भएको देखिँदैन। आणविक राष्ट्रमा सूचीकृत हुन तँछाडमछाड नै छ। रसिया, यूएस, यूके, फ्रान्स, इन्डिया, पाकिस्तान, चीन, इजरायल, उत्तर कोरिया त आणविक शक्ति राष्ट्र हुँदै हुन्। यसका साथै इरान, अर्जेन्टिना, मेक्सिको आदि पनि आज आणविक राष्ट्र हुन प्रयासरत छन्।
हाम्रोअगाडि प्रत्येक क्षण डरलाग्दो र सम्भावित विनाशकारी खतरा भएर उभिइरहेको छ। आणविक युद्धको सन्त्रास जीवन्त छ। एकक्षणमै हिरासिमा र नागासाकी नगरसहित करिब तीन लाख मानवलाई खरानी बनाउने लिटिल व्वाइ र फ्याट म्यानले फेरि पनि मुन्टो उठाउन सक्तैनन् भन्ने स्थिति छैन। यद्यपि हामी प्रार्थना गरौं– अर्को हिरोसिमा–नागासाकीजस्तो भयावह दुखान्त नदोहोरिओस्। ७४ औं स्मृति दिवसमा लाखौं आप्राकृतिक मृत आत्माप्रति संस्मरण, श्रद्धाञ्जलि तथा आणविक घाइतेप्रति ऐक्यबद्धता !