रंगमञ्चमा नारी स्वतन्त्रता
काठमाडौं :‘कथाका अनेक मोडमा कोलाज भएर पात्रलाई एउटै अभिनेत्रीले लिड गरेकी छन्। विम्ब र प्रतीक मेरा आधार हुन्। चरित्र र कथानकको विसंगति प्रस्तुतिमा सरल रेखामा नबगोस् भन्ने मेरो चाहना हो। यो आफ्नै लागि पनि चुनौती थियो’, नाटककार अशेष मल्लले आफ्नो निर्देशकीय भूमिकालाई यसरी चिनाएका छन्।
सर्वनाम थिएटरमा शुक्रबारदेखि ‘अर्को कुरुक्षेत्र’ नाटक मञ्चन भइरहेको छ। अशेष मल्लको परिकल्पना, लेखन र निर्देशन रहेको यो नाटकको कथा सम्पदा मल्लले लेखेकी हुन्। नाटकले नारी अधिकारको पक्षमा आवाज बुलन्द गर्ने प्रयास गरेको छ।
नाटकमा अभिनेत्री उषा रजक आठ वर्षपछि पुनः रंगमञ्चमा देखिएकी छन्। रजकले यसअघि भर्चुअल रियालिटी, म्यारिज इन मोसन, चोख्याउने, बाँकी उज्यालोमा जस्ता नाटकमा उत्कृष्ट अभिनय गरेकी थिइन्। उनको अभिनय इकु, कुसुमे रुमाल र वान डे चलचित्रमा पनि देख्न सकिन्छ। गत वर्ष उनले अभिनय गरेको कथा र कठपुतली चलचित्रले पनि उनको क्रेज बताउँछ।
अर्को कुरुक्षेत्र नाटकमा आफ्नो भूमिका प्रस्ट पार्दै रजक भन्छिन्, ‘म आजकी मोर्डन महिला हुँ, आफ्नो धारणा खुलेआम भन्छु, मभित्रको आत्मविश्वास बलियो हुँदाहुँदै पनि मलाई कमजोर बनाएर राखेको छ यो समाजले। यो मेरै कथा हो। एक महिलाको, एक बूढीको, एक बच्चीको, एक तरुनीको कथा हो।’
चाहे धार्मिक आस्थाको नाममा होस् या संस्कृति स्वीकार गर्ने मामलामा, सदियौंदेखि महिला दबाइएका छन्। इज्जत र चरित्रका नाममा महिलामाथि अनेक लाञ्छना लगाउने र अग्निपरीक्षा दिनुपर्ने संस्कार बसाइएको छ।
धर्मगन्थ्रमा महिलालाई दोस्रो दर्जाकै रूपमा समावेश गरिएको त हामीले सुन्दै र पढ्दै आएका हौं। पाण्डवको बल, बुद्धि र शक्तिको चर्चा गर्ने महाभारतले उनीहरूकी साझा पत्नी द्रौपदीको बाध्यता समावेश गरेन। पाँचजना श्रीमान्बाट यौनदासी बनाइएकी द्रौपदीको आफ्नै रहरलाई लेखकले छोएनन्। उनको चिरहरणको कथालाई बढो नाटकीय रूपमा प्रस्तुत गरे र पुरुष पाठकले मजा मान्दै सदियौंदेखि पढिरहे। अनेकौं द्रौपदी जन्माइरहे। महाभारत हिन्दु धर्मकै उत्कृष्ट गन्थ्रका रूपमा आज पनि चर्चित छ।
रामायणको कथामा रावणको अपहरणमा परेकी सीतालाई कठिन अग्निपरीक्षा लिइएको छ। तर रामको चरित्रमा प्रश्न कसैले उठाएन। परम्परा, संस्कार र संस्कृतिका नाममा सत्ताहरू कसरी मौन बसिरहेछन्, नाटकमा चिरफार गर्न खोजिएको छ। नाटक अर्को कुरुक्षेत्रमा महिलामाथि कसरी विभेदका शृंखला सुरु भयो, खोतलिएको छ। द्रौपदीदेखि निर्मलासम्म, सीताको अग्निपरीक्षादेखि रामबतियाको अग्निदाहसम्मका घटनाको प्रतीकात्मक प्रस्तुति छ। नाटकमा परम्परा र नवीनताबीचको द्वन्द्व प्रस्तुत गरिएको छ।
नाटकमा सूत्रधारका रूपमा पुरुष लेखक उभिएको छ। उसले इतिहासको दस्तावेजको लेखिरहेको छ। उसको कथामा अभिनय गर्ने मूल महिला पात्र अभिनेत्रीका रूपमा उषा रजकले अभिनय गरेकी छन्।
अभिनेत्री अनेकौं महिलाको साझा चरित्र हुन्। उसले नारी स्वतन्त्रता, सामाजिक सम्मान, महिलाको अधिकारको चाहना गरेकी छ। ऊ कहिले द्रौपदी बन्छे त कहिले सीता, कहिले बुवा गुमाएकी आफ्नै आमाको भूमिकामा छ त कहिले युद्धमा प्रेमी मारिएपछि प्रेमीकै हत्यारा बनाइएकी प्रेमिकाको भूमिकामा छ। यस्तै एसिडपीडित युवती, बलात्कारपछि हत्या गरिएकी निर्मला लगायतको भिन्नभिन्न चरित्रलाई आवाज दिएकी छ।
विभिन्न पात्रको अभिनय गर्दागर्दै सूत्रधारले भनेजस्तो कथामा अभिनय गर्न तयार हुन्न अभिनेत्री। उसले कथा बदल्न चाहन्छे, महिलालाई दबाइएका, पीडा दिएका कथाले उसलाई दिक्क बनाउँछ। आफू अभिनय गर्ने कथा आफैं लेख्छु भन्दै लेखकको दस्तावेज च्यात्न उद्यत हुन्छे। अनि सुरु हुन्छ लेखक र अभिनेत्रीबीचको लडाइँ। रंगमञ्च कुरुक्षेत्रमा परिणत हुन्छ। घरि लेखकले जित्छ त घरि अभिनेत्रीले। अन्त्यमा लेखकलाई बन्धनमा पार्न सफल हुन्छे अभिनेत्री। ऊ चाहन्छे— महिला स्वतन्त्रताको कथा लेखियोस्, महिला मुक्तिको आवाज बुलन्द होस्। कलकल सुसाएको खोलासँग सुमधुर संगीत गाउँदै नयाँ सपना देख्छे अभिनेत्री।
नाटकमा निर्देशकले दृश्य र पृष्ठभूमिमा मेहनत गरेका छन्। पुरातनवादी सत्ता र सरकारप्रति अनगिन्ती प्रश्न छोडेका छन्। प्रत्येक घटनापिच्छे बदलिने दृश्य र चरित्र नाटकका सम्पत्ति हुन्। कलाकारले दमदार अभिनय गरेका छन्। प्रत्येक धुन र दृश्यमा कुशल अभिनय गर्छन्। यस्तो लाग्छ, म कुनै वास्तविक घटना हेरिरहेकी छु, जहाँ घटना सत्य हो र कलाकार वास्तविक पात्र। उषा रजकको अभिनयमा समस्या छैन। उनले फरकफरक चरित्रलाई न्याय गरेकी छन्। उनले हातले गर्ने इशारादेखि खुट्टाको प्रस्तुति र शरीरको हाउभाउले नाटकलाई मादकता दिएको छ।
पात्रको संवादमा वास्तविकता दिन नसक्नु नाटकको कमजोरी हो। नाटकका पात्रले बोल्ने विद्रोहात्मक संवादमा उषाको टोन र अनुहारको हाउभाउ त्यति मेल खाँदैन। शब्दको उच्चारणमा मेहनत देखिँदैन। आक्रोश व्यक्त गर्ने संवादमा पीडा सुनाएजस्तो लाग्छ दर्शकलाई। नाटकमा कहीँ कतै देखिने रोमान्टिक दृश्यमा पनि उनी त्यति खुल्न सकेकी छैनन्। निर्देशकले पृष्ठभूमिको मधुर संगीत र खोला बगेको दृश्य देखाएर यसको क्षतिपूर्ति गरेका छन्।
केही कमजोरीका बीच पनि नाटक अर्को कुरुक्षेत्र गजब बनेको छ। इतिहासमा लुकेर रहेका अनेक सवालमाथि प्रश्न गरेको छ। भदौ २१ सम्म मञ्चन हुने यो नाटकमा उष रजक, कनोज महर्जन, मुकेश हमाल, बिन्दु बीएम, रिया भारती, पासलाक्पा शेर्पा, हीरा हमाल, भिरज थापा, शोभा कार्की र कसिना लिम्बूको अभिनय छ।