खाता प्रमाणित गराउन १२ दिन

खाता प्रमाणित गराउन १२ दिन

धनगढी : आन्तरिक राजस्व कार्यालय परिसरमा सेवाग्राही उखरमाउलो गर्मीमा लाइन बसिरहेका छन्। भित्र कर्मचारी एसीमा बसेर काम गरिरहेका छन्। सेवाग्राहीलाई सानो काम गर्न पनि १२ दिन पर्खनुपरेको छ। पान नम्बर लिन, भ्याट बुझाउन, खरिदबिक्री खाता प्रमाणित गर्न र करचुक्ता प्रमाणपत्र लिन चार दिनभन्दा कम समयमा भयो भन्ने एकजना सेवाग्राही पनि भेटिएनन्।

डोटीको दिपायल सिलगढी नगरपालिका–४ राजपुरका नरेन्द्रबहादुर शाहलाई आन्तरिक राजस्व कार्यालय कैलालीमा खाता प्रमाणित गराउन र भ्याट तिर्न १२ दिन लागेको छ। पुस्कर अली निर्माण सेवाका सञ्चालक रहेका शाह अझै दुई दिन लाग्ने अनुमान गर्दै लाममा छन्। ‘१२ दिन भयो, डोटीबाट आएर लाम लागेको तर काम भएको छैन। अझै दुई दिन लाग्ने अनुमान गरेको छु’, आन्तरिक राजस्व कार्यालय परिसरमा भेटिएका उनले भने, ‘१० बजे लाम लागेको, अफिस टाइम सकिन लागेको छ, आज पनि काम होला जस्तो छैन।’

उनले चार दिनसम्म लगातार लाम लाग्दै फर्किंदै गरेको बताए। ‘चौथो दिनको बेलुकी झ्याल नजिक पुगेको थिएँ तर फेरि कार्यालय समय सकियो भनेर फर्किएँ’, उनले भने। राजस्व बुझाउन एभरेस्ट बैंकको काउन्टरमा दुई दिन लाम लागेको उनले बताए।‘एभरेस्ट बैंकमा खाता भएपछि त जुनसुकै शाखामा जम्मा गरेको भौचर पनि मान्नुपर्ने हो। तर यहाँ नियम के छ भने राजस्व कार्यालयको परिसरमै रहेको एभरेस्ट बैंकको कान्टरमा रकम जम्मा गर्नुपर्छ’, शाहले गुनासो गरे।

एभरेस्ट बैंकको एउटा मात्रै काउन्टर छ। बैंकमा मात्रै होइन, खाता प्रमाणित र भ्याट बुझाउने कान्टर २ मा पनि भीड हुन्छ। ‘व्यक्तिगत पान बनाउने, भ्याट तिर्ने, खाता प्रमाणित गर्ने गरी सबै प्रकारका सेवाग्राहीका लागि एउटै मात्र काउन्टर छ। अनि कसरी समयमा काम हुन्छ ? ’ शाहले भने।

उनको खाता भिडाउन र समायोजन गर्न बाँकी नै छ। यसका लागि अझै दुई दिन लाग्ने उनले बताए। ‘१२ दिनमा होटलमा बसेको छु। ३५ हजारभन्दा बढी खर्च भइसकेको छ’, उनले भने, ‘म त निर्माण व्यवसायी भएकाले खर्च धानिरहेको छु। पान नम्बर लिन बाजुराबाट आएको मान्छेको खर्चले कति थेग्ला ? ’ शाहले प्रश्न गरे।

मदिरा पसलको प्रमाणपत्र नवीकरण गर्न आएका कैलाली चौमालास्थित बगाले होटलका सञ्चालक रणबहादुर लामिछानेको चार दिन बितेको छ। ‘एक दिनभर त एभरेस्ट बैंकमा रकम जम्मा गर्नै लाग्यो। अर्को दिन ४ नम्बरमा लाम लागेको त त्यो दिन पनि लाइनमै बित्यो। तेस्रो दिन काउन्टर नम्बर २ मा जान भनियो। त्यहाँ एक दिनभर लाम लागेर काउन्टर नजिक पुग्न सकिएन। चौथो दिन लाममा लागिरहेको छु’, मगरले गरे।

धनगढी उपमहानगरपालिका–८ बेहडाबाबाका दलबहादुर शाहको अनलाइन कर तिर्ने पासवर्ड हरायो। उनले अनलाइनको युजर नेम र पासवर्ड लिन दिनभर लाम लागेको बताए। कैलालीकै चुरे गाउँपालिका–५ खानीडाँडाका दीपक सापकोटाले पनि मदिरा पसलको लाइसेन्स नवीकरण चौथो दिन मात्र भएको बताए।

डोटीका श्यामप्रसाद ओझा बाजुरामा अध्यापन गर्छन्। उनलाई पान नम्बर नल्याए तलब नदिने भनिएको छ। उनी पनि चार दिनसम्म आन्तरिक राजस्व कार्यालय परिसरमा भौंतारिए। उनले आन्तरिक राजस्व कार्यालय दलालको चंगुलमा फसेको बताए। ‘हामीलाई त थाहा हुन्न। दलालका प्रतिनिधि हरेक लाइनमा बसिरहेका हुँदा रहेछन्। एक ठाउँमा सकिनेबित्तिकै अर्को ठाउँमा लाम लागेकालाई कागजात दिइन्छ। त्यो पनि दर्जनौंको संख्यामा। हामी लागेको लाम एकदुई घण्टामा अगाडि बढ्दै–बढ्दैन। कर्मचारीले पनि दलालको कामलाई प्राथमिकता दिँदा रहेछन्’, ओझाले भने।

अस्तव्यस्त कार्यालय

धनगढीमा एक हप्तादेखि पानी परेको छैन। तापक्रम ३५ डिग्रीभन्दा बढी छ। सेवाग्राहीका लागि कार्यालय परिसरमा खानेपानीको व्यवस्था छैन। ‘९ बजेदेखि लाममा लागेको व्यक्तिलाई पिसाब लाग्ला, तिर्खा लाग्ला तर कुनै व्यवस्था छैन’, लाममा उभिएका धनगढी उपमहानगरपालिका–३ चटकपुरका सुवासचन्द्र भट्टले भने।

अरू मुलुकमा कर तिर्नेको सम्मान भए पनि हाम्रो मुलुकमा कर तिर्नेहरू भेडाबाख्रा हुन् भन्ने सोचाइ रहेको उनले बताए। खरिदबिक्री खाता प्रमाणित गर्न आएका भट्टले कार्यालयमा कर्मचारी थप्न आग्रह गरे।

आन्तरिक राजस्व कार्यालयको भुइँतलामा ५ वटा काउन्टर छन्। ती काउन्टरमा विभिन्न प्रकारका सेवा दिइन्छ। २२ देखि २५ जना अटाउने टिनको छानोमा दुई वटा पंखा छन्। एभरेस्ट बैंकको काउन्टरमा करदाता टिनमुनि तातोमा बस्न बाध्य छन्।

पाँच जिल्ला, एउटै कार्यालय

आन्तरिक राजस्व कार्यालय कैलालीको कार्यक्षेत्र सेती अञ्चलका पाँच जिल्ला कैलाली, डोटी, अछाम, बाजुरा र बझाङ हो। अहिले त्यो कार्यालयसँग व्यापारिक र व्यक्तिगत गरी एक लाख २० हजारभन्दा बढी सेवाग्राही छन्। हरेक वर्ष ६ हजारको अनुपातमा करदाता थपिएका छन्।

‘पाँच जिल्लाको कार्यालय हो। यत्तिका करदाता छन्। अझ हरेक वर्ष बढिरहेका छन्। दैनिक एक हजार सेवाग्राही आउने कार्यालयको हालत यस्तो छ, संघीयता भनेको यही हो ? जिल्ला जिल्लामा कर बुझाउने प्रणाली लगाउनु पर्दैन ? ’ लाइनमा उभिएका तीर्थराज जोशीले भने।

सबै झूट : प्रमुख कर अधिकृत

प्रमुख कर अधिकृत गोविन्दप्रसाद अधिकारी सेवाग्राहीका कुरा सबै झूट भएको दाबी गर्छन्। ‘कागज नमिलेको कुनै थोरै जना बाहेकको कुनै पनि करदाताले एक दिन देखि अर्को दिन आउनुपरेको छैन। ती सबै झूटा कुरा गरिरहेका छन्’, अधिकारीले भने। उनले असोजसम्म व्यक्तिगत पान नम्बर दिने समय रहेको र साउन मसान्तसम्म करचुक्ताको प्रमाणपत्र लिइसक्नुपर्ने समय भएकाले केही भीडभाड भएको बताए।

‘साउन मसान्तसम्म मात्रै कर चुक्ताको समय छ। त्यसपछि १० हजार फाइन लाग्छ। सबैको अन्तिम समयमा मात्रै आउने बानी छ। साउनपछि भीड कम भइहाल्छ’, अधिकारीले भने। उनले कर्मचारी अभावमा समयमा सेवा दिन नसकिएको स्विकारे।

‘हामीसँग २०६३ सालमा ४० करोडको राजस्व लक्ष्य भएका बेलाको कर्मचारी दरबन्दी छ। अहिले त्यो लक्ष्य सबा ५ अर्ब पुगेको छ। ६ जना अधिकृतको दरबन्दीमा चार जना कार्यरत छन्। नासुको दरबन्दी नौ हो, तर चार मात्रै कार्यरत छन्’, अधिकारीले भने।

रिपोर्टिङकै क्रममा थपियो काउन्टर

अन्नपूर्ण टिम आइतबार पुग्दा एभरेस्ट बैंकको काउन्टरमा १५० भन्दा बढीको लाइन थियो। सेवाग्राहीको सबैभन्दा बढी समय बैंकको काउन्टरमा लागिरहेको थियो। हामीले बैंकले एउटामात्र काउन्टर थपे सहज हुने देख्यौं। त्यो कुरा कार्यालय प्रमुखसम्म पुग्यो। उनले बैंकलाई एउटा काउन्टर थप्न आग्रह गरे। आइतबार दिउँसोदेखि बैंकको काउन्टर थपिएपछि सेवाग्राहीलाई केही सहज भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.