सांसद यादवको सुटुक्क राजीनामा, चर्चामा सीके राउत

सांसद यादवको सुटुक्क राजीनामा, चर्चामा सीके राउत

काठमाडौं : सप्तरी क्षेत्र नम्बर–१ को प्रतिनिधिसभा सदस्य डा. सूर्यनारायण यादवले पदबाट राजीनामा दिएका छन् । तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट प्रत्यक्ष निर्वाचित यादवले पार्टी (समाजवादी) लाई जानकारी नदिई संसद् सचिवालयमा राजीनामा पेस गरेका हुन् । राजीनामा दिनुको कारणबारे सांसद यादवले केही बोल्न चाहेनन् ।

समाजवादी पार्टीको मंगलबार बसेको पदाधिकारी बैठकमा अध्यक्ष उपेन्द्र यादवले डा. यादवको राजीनाबारे जानकारी गराएका थिए । अध्यक्ष यादवले सभामुख कृष्णबहादुर महरालाई राजीनामा स्वीकृत नगर्न आग्रह गरेका छन् ।

समाजवादी पार्टीका उपमहासचिव प्रकाश अधिकारीले डा. यादवको राजीनामाबारे पार्टीलाई कुनै जानकारी नभएको बताए । ‘उहाँले किन राजीनामा दिनुभयो, थाहा हुन सकेको छैन’, अधिकारीले भने, ‘हामी यसबारे बुझ्दै छौं ।’

डा. यादव जनकपुरका बालरोग विशेषज्ञ हुन् । राजनीतिमा खासै सक्रिय नदेखिएका डा. यादव निर्वाचनमा एक्कासि फोरमको उम्मेदवारका रूपमा चुनावी मैदानमा देखिएका थिए ।

पार्टी स्रोतका अनुसार अध्यक्ष यादव र सांसद डा. यादवबीच ५–६ महिनायता मनमुटाव देखिँदै आएको थियो । सांसद यादव निकट एक नेताले अध्यक्ष यादव सरकारमा गएपछि सांसद यादव स्वास्थ्य राज्यमन्त्री बन्ने दाउमा रहेको बताए । तर अध्यक्ष यादवले अर्का चिकित्सक डा. सुरेन्द्र यादवलाई राज्यमन्त्री बनाएपछि उनी चिढिएका थिए ।

सांसद यादवको राजीनामा उपचुनावसँग जोड्न थालिएको छ । यादवको राजीनामा स्वीकृत भएमा सप्तरी १ मा उपचुनाव हुन्छ । उपचुनाव भएमा सीके राउतले उम्मेदवारी दिने चर्चा सामाजिक सञ्जालमा हुन थालेपछि जनमत पार्टीले खण्डन गरेको छ ।

जनमत पार्टीका प्रवक्ता अब्दुला खाणले राउत उपनिर्वाचनमा सहभागी हुने योजना नरहेको प्रस्ट पारे । यद्यपि उनले जनमत पार्टी निर्वाचनविरोधी नभएको बताए ।

सीके निकट मानिने जनमत पार्टीका नेता दीपक साहले उपचुनावबारे पार्टीमा छलफल नचलेको बताए । ‘उपचुनावका विषयमा पार्टीमा छलफल भएको छैन,’ साहले भने, ‘छलफल नै नभएको विषयमा अहिल्यै केही बताउन सकिन्न ।’ जनमत पार्टीले भदौ १ गतेदेखि काठमाडौं र जनकपुरबाट पार्टी कार्यालय सञ्चालनमा ल्याउँदैछ । गत फागुनमा मूल धारमा आएका सीके राउत निर्वाचन आयोगमा जनमत पार्टी दर्ता गराएर पार्टी गतिविधिमा सक्रिय भएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.