पाथीभरा गोल्डकप आजदेखि

पाथीभरा गोल्डकप आजदेखि

ताप्लेजुङ : पाँच दशक लामो इतिहास बोकेको पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको चौथो संस्करण बिहीबारदेखि ताप्लेजुङमा सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा रेडहर्ष क्लब इलाम र घरेलु टिम पोमु केछाङ स्पोर्टिङ क्लब भिड्दैछन्। खेल दिउँसो १ बजे ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित भानु माविको मैदानमा सञ्चालन हुनेछ।

रेडहर्ष र पोमु केछाङबीचको भेट पहिलोपटक हुन लागेको हो। पोमु केछाङका कप्तान अमिर सेन्दाङले तीनजना विदेशी र ‘ए’ डिभिजन क्लबका खेलाडी टोलीमा रहेकाले खेल जित्दै दोस्रो चरणमा पुग्ने दाबी गरे। ‘मलेसियन लिग खेलेका तान्जेनियाका तीन र यू—१८ टोलीका एकजना खेलाडी टिममा रहेकाले खेल जित्नेमा ढुक्क छौं,’ उनले भने।

यसैगरी दुई विदेशी खेलाडीसहित पासाङ शेर्पाको कप्तानीमा रेडहर्ष क्लब पोमु केछाङसँग भिड्दैछ। अनुभवी खेलाडी जाउलाखेलका फोफोना र संकटा क्लबका ट्याम्पे टोलीमा छन्। ‘घरेलु टिममाथि विजय प्राप्त गर्ने लक्ष्यका साथ मैदानमा उत्रँदैछौं,’ रेडहर्षका व्यवस्थापक सेवक देवानले भने, ‘प्रतिस्पर्धी नयाँ भएकाले दोस्रो चरण पुग्नेमा ढुक्क छौं।’

रेडहर्ष गत सिजन सेमिफाइनलमा रेडस्टार क्लब झापासँग पराजित भएको थियो। पोमु केछाङले भने पहिलो पटक सहभागिता जनाउन लागेको हो। भदौ ६ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल र भारतका १० टोलीले प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगितामा फिदिम स्पोर्टिङ क्लब पाँचथर, यूकेएफसी दार्जिलिङ, गोर्खा स्पोर्टिङ क्लब दमक, रेडस्टार क्लब झापा, डाँगीहाट फुटबल क्लब, बेलबारी फुटबल क्लब मोरङ, एलाभेन एरोज क्लब दुहवी सुनसरी र आयोजक टिम सहभागी छन्।

आयोजकले बुधबार प्रिम्याच कन्फरेन्स गरी मैदान, प्यारापिट, खेलाडीलाई होटल व्यवस्थापनलगायत सबै तयारी पूरा भएको जनाएको छ। करिब १० हजार दर्शक अटाउने गरी बाँसको अस्थायी प्यारापिट निर्माण गरिएको लाखेजात्रा खेल सञ्चालन समिति अध्यक्ष नारायण थापाले बताए। उनका अनुसार दुई लाख ५० हजार रुपैयाँको बाँस प्रयोग गरी प्यारापिट बनाइएको हो।

मैदानको उत्तारतर्फको भागमा सिमेन्टको स्थायी प्याराफिट छ। १५ हजार दर्शकले खेल अवलोकन गर्न सक्ने आयोजनाले जनाएको छ। प्रतियोगिताको विजेताले तीन लाख ११ हजार र उपविजेताले एक लाख ५१ हजार रुपैयाँसहित ट्रफी पाउने छन्। बाँकी पुरस्कार, खेलाडी व्यवस्थापनलगायत सबैको खर्च करिब ४० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको समितिका कोषाध्यक्ष विरु मोक्तानले बताए।

पूर्वी पहाडकै प्रतिष्ठित पाथीभरा गोल्डकपमा दिनहुँ चार÷पाँच हजार दर्शकको भीड लाग्ने गरेको आयोजकले जनाएको छ। पहिलो चरणका खेलमा एक सय, सेमिफाइनलमा एक सय ५० र फाइनलका लागि दुई सय रुपैयाँ टिकटदर तोकिएको छ। २०२९ देखि २०७२ सालसम्म कञ्चनजंघा च्यालेन्ज रनिङकप भनेर खेलाइँदै आएकोमा त्यसयता प्रतियोगिताको नाम परिवर्तन गरी पाथीभरा गोल्डकप बनाइएको हो।

‘खेलकुदको माध्ययमबाट पाथीभरा मन्दिरको प्रचार गरी खेल पर्यटनको विकास गर्ने मुख्य लक्ष्य रहेको छ,’ अध्यक्ष थापाले भने, ‘त्यसैले प्रतियोगिताको नाम परिवर्तन गरी पाथीभरा गोल्डकप बनाएका हौं।’ प्रतियोगिताको समापन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको उपस्थितिमा हुने उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.