दाङ एयरपोर्टमा पूर्वाधार थपिँदै
दाङ : दाङको टरिगाउँ विमानस्थलमा नयाँ टर्मिनल भवन (यात्रु प्रतीक्षालय) निर्माण गरिएको छ । दाङ एरपोर्टमा नियमित हवाई सेवा सुरु भएपछि नागरिक उडड्यन प्राधिकरणको ५८ लाख रुपैयाँ लगानीमा नयाँ यात्रु प्रतीक्षालय भवन निर्माण गरिएको हो ।
आर्थिक वर्ष २०७५÷०७६को फागुनदेखि निर्माण सुरु भएको टर्मिनल भवन असारको पहिलो सातामा सम्पन्न भएको छ । केही दिनमै भवन हस्तान्तरण गरिने निर्माण कम्पनीले जनाएको छ । निर्माणको जिम्मा पाएको टर्मिनलको काम ६ महिनामा सकिएको निर्माण व्यवसायी न्यु अस्ट्रिना निर्माण सेवा प्रालि दाङका सञ्चालनक सुरेशकुमार आचार्यले जानकारी दिए । उनले ५१ लाख ६० हजारमा पूर्वाधार निर्माण गरिएको र भ्याडसहित ५८ लाख रुपैयाँ खर्च भएको बताए ।
दाङका दैनिक हवाई सेवा सञ्चालन भइरहे पनि पूर्वाधार अभावले यात्रुले सास्ती भोग्नु परिरहेका बेला नयाँ भवन निर्माणले सहजता ल्याएको छ । भवन आधुनिक र सुविधा सम्पन्न भएको आचार्यले बताए । ‘प्राधिकरणले गरेको डिजाइनअनुसार नयाँ भवन बनेको छ’, उनले भने, ‘यसले एरपोर्टको सौन्दर्यसमेत थपेको छ ।’
२०११ सालमा स्थापना भएको दाङ विमानस्थलमा निर्माण भएका सबै पूर्वाधार जीर्ण छन । पूर्वाधार जीर्ण हँुदा यात्रु प्रतीक्षालयको समेत समस्या रहँदै आएको थियो । दैनिक नियमितरूपमा हवाई सेवा सुरु भएपछि प्राधिकरणले दाङमा नयाँ पूर्वाधार निर्माण गर्न सुरु गरेको जनाएको छ । यात्रुको चाप बढिरहेको र उडान पनि नियमित भएकाले यसको व्यवस्यान गर्न पूर्वाधार निर्माणमा जुटेको प्राधिकरणले भनाइ छ ।
प्राधिकरणमा दाङ प्रमुख विशाल घिमिरेले टर्मिनलले सहजता ल्याउने बताए । भवनमा ४० जना यात्रु अटाउने गरी चमेना गृह, टिकट काउन्टर, यात्रु प्रतीक्षालय, जाँचपास,वाथरुमलगाय संरचना र सुविधा भवनमा रहेको बताए । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले तुलसीपुरमा विमान नियमित भएसँगै सेवा सुविधा र पूर्वाधार पनि बढाउँदै लैजाने बताए । विभिन्न चरणमा विमानस्थलको सुधार गर्दै लगिएको भन्दै रनवे विस्तारका लागि पनि पहल भइरहेको बताए ।
प्रदेश सरकारले तुलसीपुर विमानस्थल सञ्चालनलाई पञ्चवर्षीय योजनामा राखेर काम अगाडि बढाउन लागेको भन्दै रनवे विस्तारको काम पनि छिट्टै सुरु हुने जानकारी दिए । अस्थायी इन्धन डिपोको काम अन्तिम चरणमा पुगेको भए पनि केही प्राविधिक कमजोरीका कारण समयमै आउन नसकेको बताउँदै पाण्डेले ल्याउन पहल भइरहेको जानकारी दिए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले टरिगाउँ विमानस्थलको धावन मार्ग विस्तारका लागि यसै वर्ष काम अगाडि बढाउने बताएका छन् । आन्तरिक उडानका लागि टरिगाउँ विमानस्थललाई विकास गर्न आफूले योजनासमेत बनाएको बताए । विमानस्थलको स्तरोन्नतिका साथै इन्धन डिपोको काम अगाडि बढाउन आपूर्ति मन्त्रालयसँग समन्वय गर्नेसमेत उनले बताए । ‘तुलसीपुर विमानस्थलका बारेमा म पूरै जानकार छु जनतालाई न्याय दिनेछु’, मन्त्री भट्टराईले भने, ‘आन्तरिक उडानको सहजताका लागि धावनमार्ग विस्तार हुन्छ ।’