नेता होइन, प्राज्ञको पर्खाइमा त्रिवि
शिक्षा, ज्ञान, बुद्धि, विवेक र अनुसन्धानको कारखाना भनेर चिनिने विश्वविद्यालयहरूमा यही भदौ पहिलो साताबाटै उच्च नेतृत्वका पद रिक्त हुँदैछन्। त्रिभुवन विश्वविद्यालयको उपकुलपति सिफारिस गर्न सहकुलपतिसमेत रहेका शिक्षमन्त्रीको संयोजकत्वमा सिनेटका दुई सदस्य चयन गरी तीन सदस्य सर्च कमिटी बनेको छ। यो सर्च कमिटी विगतको जस्तो कर्मकाण्डीय नबनेर यसले ध्वस्त हुने डिलमा पुगेको त्रिविको गुमेको गौरव आर्जन गर्ने र साँच्चिकै विश्वको विद्यालय बनाउन सक्ने प्राज्ञिक र प्रशासनिक क्षमता, योग्यता र दक्षता राखेको नेतृत्व चयन गर्न सकोेस् भन्ने आम प्राध्यापक, विद्यार्थी र त्रिविका शुभचिन्तकको चाहना छ।
विश्वका अरू विश्वविद्यालयका वेबसाइड खोलेर हेर्दा ती विश्वविद्यालयले गरेका आविष्कार, अनुसन्धान, भौतिक, यान्त्रिक, वैज्ञानिक, साहित्यिक, प्राज्ञिक उपलब्धिहरूको फेहरिस्त पढ्न पाइन्छ, तर हाम्रा विश्वविद्यालयका बारेमा भ्रष्टाचार, अख्तियारको कार्यालयमा प्राध्यापक र कर्मचारी, थेसिस किनबेच, सेवा आयोगको परीक्षामा परीक्षार्थीका परीक्षण भइसकेका कपीमा पटकपटक केरमेट गरी अंक थपिन्छ, घटाइन्छ, गोल्ड मेडल र डिभिजन खरिद बिक्री गरिन्छ जस्ता आङ सिरिङ्ङ हुने खबर मात्र पढ्न पाइन्छ। यो एक प्राज्ञिक र प्रशासनिक स्खलनको चरम बिन्दु हो। यस्तो बेला विश्वविद्यालयको प्राज्ञिक र प्रशासनिक नेतृत्व गर्ने उपकुलपतिलगायतका पदाधिकारी चयन गर्दा गम्भीर भई इतिहासबाट पाठ सिक्न जरुरी छ।
पछिल्लो ३० वर्षमा विश्वविद्यालयलाई राजनीतिले आक्रान्त बनायो, बेथितिको अड्डा बनायो र दलीय भागबन्डालाई संस्थागत गर्यो। परिणामस्वरूप बर्सेनि विश्वविद्यालयको गरिमा र गुणस्तर खस्किँदै गयो। दलीय भागबन्डा प्रणालीमा हिजो विश्वविद्यालयको पदाधिकारी बन्न प्राज्ञिक बलभन्दा कूटनीतिक छल प्रभावकारी बन्यो। नेताका घरघरमा धाएर, मन जितेर पदाधिकारी बन्ने व्यक्ति सिद्धान्ततः विश्वविद्यालयप्रति जवाफदेही हुनु परेन। आफूलाई नियुक्ति दिने प्रभुलाई खुसी पार्नु र नेताको आदेश अनि आफ्नो रोजाइअनुसार आफ्नो पार्टी र वरपरका व्यक्तलाई कर्मचारी तथा प्राध्यापकमा नियुक्त गर्नु, बढुवा गर्नु नै पहिलो कर्तव्य सम्झिइयो। पदाधिकारी आफ्नो प्राज्ञिक क्षमताले पदमा आएको होइन, बरु भागबन्डाको बोनस र नेताको आशीर्वादबाट छनोटमा परेको हो।
स्वाभाविक रूपमा पदाधिकारीको पहिलो काम आफूलाई नियुक्ति गर्ने नेतागणलाई खुसी पार्नु र सकेसम्म पार्टीप्रति जवाफदेही हुनु भयो। प्राज्ञिक थलोको विकृत परम्परा सायद विश्वका लागि एक विसंगतिको नमुना बन्यो होला।
विगतको विसंगतिको पुनरावृत्ति अब हुनु हुँदैन। ६० वर्षअगाडि स्थापना भएको त्रिविले अहिले पनि देशको उच्च शिक्षाको ८० प्रतिशत भाग बहन गर्दै छ। देशका अन्य विश्वविद्यालय र सरकारी निकाय त्रिविबाट उत्पादन गरिएका जनशक्तिले नै सञ्चालन गरेका छन्। ६२ जना अनुसन्धानकर्ता र एक सय ६४ जना कर्मचारीसहितका चारओटा अनुसन्धान केन्द्र (सिनास, सेरिड, सेडा, रिकास्ट) पछिल्लो समयमा अनुसन्धानका गतिविधिभन्दा राजनीतिक गतिविधिका केन्द्र बने। यी अनुसन्धान केन्द्रले सामाजिक, आर्थिक, शैक्षिक, वैज्ञानिक, प्राविधिक र राष्ट्रिय महत्वका विविध पक्षमा अनुसन्धान गर्ने बृहत्तर उद्देश्यका साथ स्थापना गरिएका थिए। यी केन्द्रहरूको जन्म र न्वारान धुमधामका साथ गरिए पनि कर्म र परिणाम अपेक्षाकृत भएन।
विश्वविद्यालय राजनीतिबाट मुक्त भई पदाधिकारीले आआफ्नो प्रपोजल र संस्थागत आवश्यकताअनुसार इमानदार भएर काम गर्ने हो भने विश्वविद्यालयले एक वर्षमै शैक्षिक र प्राज्ञिक मुहार परिवर्तन गर्न सक्छ।
पछिल्लो समयमा यी केन्द्रहरू दलीय भागबन्डा प्रणालीअनुसार पार्टीको भोला लामो समयसम्म बोकेका तर कुनै ठाउँ नपाएर असन्तुष्ट बनेकाहरूलाई थन्क्याउने र भागबन्डा मिलाउने केन्द्र बन्न पुगे। अनुसन्धानका लागि सरकारले यथेष्ट बजेट छुट्ट्याउन आवश्यक ठानेन। सरकारले टाउका गनेर तलब पठाउनुबाहेक रिसर्च बजेट पठाएन।
विश्वविद्यालय अनुसन्धानको केन्द्र हो। थिंकट्यांक उत्पादन गर्ने कारखाना हो। यसका अनुसन्धान केन्द्रहरूले सरकारसँग र बाह्य दातृ निकायसँग समेत रिसर्च प्रोजेक्ट लिएर अनुसन्धानकर्ता प्राध्यापक र विद्यार्थी मिलेर अनुसन्धान कार्यमा व्यस्त रहनुपथ्र्यो। यसो गरेको भए सिंगो विश्वविद्यालय नै आर्थिक रूपमा स्वायत्त बन्न सक्ने सम्भावना रहन्थ्यो भने अर्कोतिर देशले अनुसन्धानका गौरवशाली उत्पादन प्राप्त गर्न सक्थ्यो। विदेशका धेरै विश्वविद्यालय सरकारसँगको आर्थिक परनिर्भरताबाट मुक्त बनेका छन्।
त्रिविमा पछिल्लो ३० वर्षमा अलि बढी अभ्यास गरिएका बेथिति र विसंगति निर्मूल पार्न सक्ने नेतृत्वको खाँचो छ। त्रिविको बारेमा गहिरो ज्ञान र सूचना भएको कुशल व्यवस्थापकीय र प्रशासकीय क्षमता राख्ने प्राज्ञिक दक्षताले निखारिएको व्यक्तित्व नपाउने हो यसले शिर उठाउन सक्ने अवस्था बन्दैन। विश्व बजारसँग शैक्षिक प्राविधिक स्तरमा गतिलो प्रतिस्पर्धा गर्न सक्ने नितान्त प्राज्ञिक नेतृत्वको पर्खाइमा छ त्रिवि।
विश्वविद्यालयको उपकुलपति प्राज्ञिक हुनुपर्ने अनिवार्य सर्त हो। प्रशासनिक र व्यवस्थापकीय सीप र दक्षता पनि उत्तिकै खाँचोका सवाल हुन्। विदेशका धेरै विश्वविद्यालयहरूमा उपकुलपतिको पदावधि समाप्त हुनु एक वर्षअघि नै सर्च कमिटीले सम्भावित उपकुलपतिको खोजी थालिन्छ। त्रिविको उपकुलपतिको पदावधि समाप्तिको करिब १५ दिनअघि मात्र सर्च कमिटी बनेको छ। अब यो सर्च कमिटीले विश्वविद्यालयमा कार्यरत वा सेवानिवृत्त प्राज्ञहरूबाट प्राज्ञिक, आर्थिक र रचनात्मक कार्ययोजना, समयसारणीसहितको प्रस्ताव माग गरोस्। स्वतन्त्र विज्ञहरूको एक समूह बनाएर उपकुलपति बन्न इच्छुक प्राज्ञहरूका प्रस्तावमा भएका विषयको आवश्यकता, औचित्यता, सम्भावना र कार्यविधिका बारेमा प्रस्तुति गर्न लगाइयोस्। तिनै प्रस्तावहरूमध्येबाट बढी प्रभावकारी, रचनात्मक र कार्यमूलक प्रस्ताव र बहुआयामिक भिजनरी प्रस्तोता प्राज्ञ, खुला प्रतिस्पर्धाबाट छानेर उपकुलपतिका लागि सिफारिस गरोस्।
खुला प्रतिस्पर्धाबाट चयन गरिएको उपकुलपतिको संयोजनमा प्राज्ञहरूसहितको अर्को सर्च कमिटी बनोस् र सोही विधिअनुसार विश्वविद्यालयमा कार्यरत प्राज्ञ प्राध्यापकको खुला प्रतिस्पर्धाबाट शिक्षाध्यक्ष र रजिस्टार चयन गरियोस्। पदाधिकारीले वार्षिक रूपमा कुलपति र सहकुलपतिसमक्ष प्रगति विवरण पेस गर्न अनिवार्य बनाइयोस्। उपकुलपति संयोजक, शिक्षाध्यक्ष सहसंयोजक र केही प्राज्ञहरू रहेको अर्को कमिटी बनाइयोस्। त्यही कमिटीले सोही विधिअनुसार विश्वविद्यालयमा कार्यरत प्राध्यापकहरूबाट कामको समयसारणीसहितको प्रपोजल माग गरी स्वतन्त्र विज्ञहरूका बीच प्रस्तुत गर्न लगाई विद्यमान स्रोतसाधनलाई समेत ख्याल गरी कार्यान्वयन गर्न सकिने प्रपोजल र सो प्रपोजलमा भनिएअनुसार काम गर्ने क्षमता राख्ने प्रस्तोतालाई विभिन्न संकायका डिन र अनुसन्धान केन्द्रका प्रमुखमा चयन गरियोस्।
उपकुलपति संयोजक, रजिस्टार सहसंयोजक र प्राज्ञ विज्ञहरू रहेको अर्को एक कमिटी बनाइयोस्। यो कमिटीले पनि सोही विधिअनुसार त्रिविमा कार्यरत प्राध्यापकमध्येबाट आंगिक क्याम्पसका क्याम्पस प्रखुख र केन्द्रका विभागीय प्रमुखहरूको छनोट गरियोस्। यो विधिबाट पदाधिकारी नियुक्त गर्ने हो र विश्वविद्यालय राजनीतिबाट मुक्त भई पदाधिकारीले आआफ्नो प्रपोजल र संस्थागत आवश्यकताअनुसार इमानदार भएर काम गर्ने हो भने विश्वविद्यालयले एक वर्षमै शैक्षिक र प्राज्ञिक मुहार परिवर्तन गर्न सक्छ। एक कार्यकालमा नै आफ्नो गुमेको साख आर्जन गर्न सक्छ। केही वर्षमै हाम्रो विश्वविद्यालयले विश्वकै राम्रा विश्वविद्यालयको सूचीमा आफ्नो नाम दर्ज गर्न सक्षम हुन्छ।
भिजन, मिसन र बिल पावर भएका र अन्तर्राष्ट्रिय प्राज्ञिक बजारमा प्रस्तुति दिएका र स्वपहिचान बनाएका प्राज्ञहरू त्रिवि र वरिपरि प्रशस्त छन्। ख्याल गर्नुपर्ने कुरा के छ भने सबै प्राज्ञहरू राजनीतिक पार्टी कार्यालय र नेताका घरघरमा नपुगेका पनि हुन सक्छन्। त्यसैले अहिले निर्माण गरिएको सर्च कमिटीले मूल्य, मान्यता र दक्षताका प्राज्ञहरूको खोजी गरोस्। चरम राजनीतिक हस्तक्षप र खेलबाट थिलथिलिएको विश्वविद्यालय राजनीतिक नेता होइन, विशुद्ध शैक्षिक प्राज्ञको पर्खाइमा छ।
-चापागाई त्रिविका सहप्राध्यापक हुन्