वैजयन्तीमा विशेषका कथा
काठमाडौं : ‘२० वर्ष पुगिसक्यो फरक क्षमता भएका बालबालिकासँगको निकट सामीप्यता तर देशको नियम, कानुन, बाटोघाटो, सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक दृष्टिकोणको पहुँच हेर्दा २० को १९ भन्न सकिने अवस्था छैन।’
बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन भएको नाटक वैजयन्तीबारे लेखिएको पोस्टर हातमा लिनासाथ उक्त वाक्य पढ्न सकिन्छ। मन कुटुक्क खान्छ। फरक क्षमता भएका बालबालिकाप्रति उनीहरू हुर्कने वातावरण कहिले सहज होला ?
सानैमा टाइफाइड बिग्रेर नाटककी मुख्य पात्र मैनाको शारीरिक विकासमा असर पर्छ। ऊ राम्रोसँग हिँड्न र बोल्न सक्दिनन्। चकचक गरिरहनुपर्छ। आफ्नो काम आफैं गर्न मन पराउने ऊ प्रत्येक पटक लड्ने, ठोक्किने र चोटपटक लाग्ने भइरहन्छ। तर पनि ऊ हिम्मत हार्दिनँ। मैनाले आफ्नै पाउँ पसल खोलेकी छ। उसले बनाएको पाउँ बजारमा लोकप्रिय छ। आमाले खुट्टाको थेरापी गराएपछि ऊ हिँड्न सक्ने भएकी छ। आर्थिक आम्दानी गरेर उसले घरव्यवहारमा सहयोग पनि गरेकी छ।
परिवारमा महत्त्वपूर्ण भूमिकामा भएकी मैनाप्रति समाज भने प्रतिकूल देखिन्छ। घरमा बुवाको माया पाउन सक्दिन। आफ्नै बुवाले पटकपटक मार्ने कोसिस गर्छ। घर होस् या समाज शारीरिक रूपमा अपांगता भएका व्यक्तिको क्षमतालाई पहिचान गर्न सक्ने वातावरण अझै बनेको छैन।
वैजयन्ती विशेष प्रकारको माला हो। तुलसी, कुन्द, मन्दार, पारिजात र कमल फूलबाट बनाइएको यो माला हिन्दु धर्ममा विशेष अर्थ राख्छ। हिन्दु धर्ममा विशेष अवस्थामा प्रयोग हुने ध्वजापताका पनि हो। नाटकमा वैजयन्तीको स्वरूपमा रहेकी मैनालाई विशेष व्यक्तित्वको रूपमा प्रयोग गरिएको छ। ‘हरेक विशेष अवस्थाका मानिस बेग्लै पहिचान बनाएका अद्भुत मान्छे हुन्’, नाटकका निर्देशक आशान्त शर्माले प्रस्ट पारे।
रंगमञ्च मनमा उकुसमुकुस भएका कुरा भन्ने माध्यमका रूपमा आफूले बुझेको बताउँदै अशान्तले निर्देशकीय अनुभव सुनाए। उनले सामाजिक विभेदमा परेका फरक तरिकाले सक्षम, त्यसमाथि महिला व्यक्तित्वको कथा उन्नु अलि जटिल भएको बताए।
विशेष अवस्थाका व्यक्तिलाई पहिलो सम्मान र सहयोगको सुरुआत घरैबाट गरौं अनि मात्रै समाज, देश, विदेशले। नाटकको कथाकार सौभाग्य सिंहले भनेकी छन्, ‘एउटा अंग वा केही अंगमा समस्या आउँदैमा मानिस नै हैन जस्तो व्यवहार, पूर्वजुनीको पापसँग जोडिदिने, धर्म संस्कृति अत्यासलाग्दो महसुस हुन्छ। हरेक मान्छे केही न केही कुरामा असक्षम हुन्छ, तर अन्यमाथि विभेद र अमानवीय व्यवहार किन हुन्छ ? ’
नाटकले अनगिन्ती प्रश्न उठाएको छ। कलाकारको अभिनय जीवन्त छ। नाटकको कथा लेखेकी सौभाग्य सिंह नै मञ्चमा मैना पात्रको रूपमा मुख्य भूमिकामा छिन्। राम्रोसँग बोल्न र हिँड्न नसक्ने पात्रको रूपमा मैनाले गरेको अभिनय तारिफयोग्य छ। उनले वास्तविक अभिनय गरेकी छन्। घटनाअनुसार फेरिने दृश्य, संवाद र कथानकमा निर्देशकले मेहनत गरेका छन्। मैनाको उपचारका लागि फिजियोथेरापिस्टको रूपमा प्रवेश गरेका अनन्तको भूमिका पनि अर्थपूर्ण छ। घरमा दिदीको उपचारमा आएका डाक्टरसँग मैनाकी बैनी ताराको प्रेम बस्छ।
मैनाले हिँड्न गरेको मेहनत, आमाबुवाप्रति गरेको आदर र सहयोग तारिफयोग्य छ। मामाको रूपमा प्रवेश गरेको युवकले मैनालाई यौन शोषण गर्न तम्सिन्छ। यसले महिला घरभित्रै पनि कसरी असुरक्षित छन् भन्ने देखाएको छ। गलत नियत भएकाहरू समाजमा यत्रतत्र छन् उनीहरूले शारीरिक रूपमा अपांगता, वृद्ध, बालिकालाई पनि छोड्दैनन्। यो हाम्रो समाजको चरित्र पनि हो।
नाटक शिक्षाप्रद छ। मञ्जु,श्रेष्ठ, सुदीपजंग कार्की, सौभाग्य सिंह, चाँदनी शाही, विजय नेपाल, मञ्जु कार्की, हेमन तण्डुकारलगायतका कलाकारले अभिनय गरेका छन्। साउन १५ देखि २७ गतेसम्म यो नाटक मञ्चन भएको थियो।