बालिका बलात्कार आरोपमा वडासचिवसहित दुईविरुद्ध मुद्दा
ओखलढुंगा : प्रहरीले बालिका बलात्कार आरोपमा एक सरकारी कर्मचारीसहित दुईजनाविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गरेको छ । सात वर्षीया बालिका बलात्कार गरेको अभियोगमा मोलुङ गाउँपालिका-६ श्रीचौरका १८ वर्षीय कुमार तामाङविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता भएको हो।
नाताले भाञ्जी पर्ने ती बालिकालाई घरैमा गएर मंगलबार बलात्कार गरेपछि अभिभावकको उजुरीका आधारमा घरैबाट पक्राउ गरेर मुद्दा चलाइएको प्रहरी निरीक्षक राजीव श्रेष्ठले बताए। त्यस्तै सुनकोसी गाउँपालिका ७ का वडा सचिव समेत रहेका ४५ वर्षीय चेतबहादुर कट्वालविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको छ।
भदौ १ गते २३ वर्षीय महिलालाई बलात्कार प्रयास गरेको उजुरीका आधारमा मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए। पीडितको जाहेरीपछि आरोपित फरार रहेकाले खोजी भइरहेको प्रहरीको भनाइ छ।