अंश छाडेर सम्बन्ध बिच्छेद !

अंश छाडेर सम्बन्ध बिच्छेद !

ओखलढुंगा : ओखलढुंगा जिल्ला अदालतमा ०७६ वैशाख अन्तिम साता सम्बन्ध बिच्छेद गर्न आएका जोडीसँग अर्का एक पुरुष पनि हाजिर भए। उनी मुद्दाका साक्षी वा पक्षका आफन्त थिएनन्। पत्नीले सम्बन्ध बिच्छेदको मुद्दा हालेपछि सुनुवाइका क्रममा आएका भारतीय सुरक्षा फौजमा कार्यरत महिलाका पतिसँगै अर्का पुरुष पनि देखेपछि अदालतका श्रेस्तेदार नेत्रबन्धु पौड्यालले उनलाई मुद्दाका पक्षसँग आउनुको कारण सोधे।

ती पुरुषले सहज रूपमा जवाफ फर्काए, ‘म बिहे गर्न आएको।’ जवाफ सुनेपछि अदालतका कर्मचारी छक्क परे। सम्बन्ध बिच्छेद गर्ने महिलासँग आफूले विहे गर्न आएको बताएपछि ती पुरुष अदालत आउनुको रहस्य खुल्यो। जारी तिरेर अर्काकी पत्नी लैजान पाउने चलन गाउँघरमा अझै जिवित छ। ‘भागेर जाने र ल्याउने त धेरै छन्। छाड्ने र लाने एकैसाथ अदालतमा हाजिर भएर त्यहींबाट अर्कोसँग बिहे गरेर हिँडेको चाँही पहिलो पटक देखियो’, अधिवक्ता गुरुबहादुर बस्नेतले भने, ‘एकातिर तोड्ने र अर्कातिर सहज रूपमा सम्बन्ध जोड्ने अनौठो घटना देखियो।’

जागिरे पतिसँगको सम्बन्ध विच्छेदको प्रक्रिया पुरा हुनासाथ एक बच्चाकी आमा ती महिला खोटाङका सडक मजदुरसँग हिँडिन्। उनले पूर्वपतिसँग कुनै सम्पत्ति वा अंश दाबी गरिनन्। मुद्दाका पक्ष कसैको पनि पहिचान नखुलाउन आग्रह गर्दै उनले भनिन्, ‘सम्बन्ध नै नरहेपछि अर्काको सम्पत्तिमा के आँखा लाउनु ? जे पर्छ त्यही ब्यहोरौंला नि !’

अदालतका श्रेस्तेदार पौडेलले भने, ‘यो अचम्मको घटना पहिलो पटक देखियो, अंश छाडेर सम्बन्ध बिच्छेद गर्ने त कति छन्, कति।’ प्रतिवदी ती पुरुषले ‘दुवैजना बिहे गर्न राजी भएका रहेछन्, गरुन्’ भनेर सहज जवाफ दिए। ती महिलाले कुनै सम्पत्ति दाबी नगरेको श्रेस्तेदार पौडेलले जानकारी दिए। सम्बन्ध बिच्छेद गर्ने अधिकांश महिलाले पुरुषबाट अंश दाबी गर्न छाडेका छन्।

ओखलढुंगा जिल्ला अदालतमा आव ०७४/७५ मा दर्ता भएका ४८ सम्बन्ध बिच्छेद मुद्दाका अधिकांश वादी महिलाले अंश दाबी नगरी सम्बन्ध बिच्छेद गरेका छन्। ४८ मध्ये ४५ जना महिलाले सम्बन्ध विच्छेद दर्ता गरेकोमा सोधपुछ गर्दा अधिकांशले अंश नलिने बताएका थिए। ‘ठ्याक्कै संख्या चाँही टिपेका छैनौं, तर हिसाब निकाल्दा सम्बन्ध बिच्छेदको मुद्दा हालेका ७० प्रतिशत बढी महिलाले अंश लिन अस्वीकार गरेको छन्’, श्रेस्तेदार पौडेलले भने, ‘हामीले बालबच्चाको रेखदेख, सम्पत्ति र भविश्यका बारेमा समेत छलफल गरेर मात्रै निर्णय गर्छौं। अधिकांशले अंश अस्वीकार गर्छन्।’

सम्बन्ध बिच्छेदमा महिलाले अंश दाबी नगर्नुमा अंशमा आउने बारी जग्गामा काम गरेर जिविकोपार्जन गर्न छाड्नु र अंश लिने प्रक्रियामा झन्झट र तत्कालै सम्बन्ध बिच्छेद नहुनेलगायतका कारण रहेको अधिवक्ता टुकराज निरौला बताउँछन्। उनले भने, ‘खेतबारीको महत्त्व नै छैन, आजभोलि। अंश लिने प्रक्रिया पनि लामो छ, कतिपयले अंश वापत रकम लिने गर्छन, कतिले दोस्रो बिहे गर्ने योजना बनाएकाले नलिएका हुन्छन्।’

सम्बन्ध बिच्छेद गरेका महिलाले प्रायः एउटै जवाफ दिन्छन्, ‘सम्बन्ध नै नरहने भएपछि सम्पत्तिले के गर्छ ? ’ अधिकांश अंश नलिएका महिलाले अर्को बिहे गर्ने गरेको पाइएको छ। ‘अंश नलिइ सम्बन्ध बिच्छेद गरेका धेरैले अर्को बिहे गरेको सुनिन्छ’, नेपाल बार एसोसिएसन जिल्ला बार इकाइका अध्यक्ष टेकबहादुर राईले भने, ‘सबैलाई आरोपित गर्न मिल्दैन, तर सम्बन्धमा गडबढी आएर उमेरमै सम्बन्ध बिच्छेद गरेकाले दास्रो बिहे गरेका छन्।’

मुलुकी ऐनको विहेबारी महलमा सम्बन्ध बिच्छेद गर्न महिलाले मात्रै सिधै अदालतमा मुद्दा गर्न पाउने र अंश पाउने व्यवस्था थियो। पुरुषले गर्न परे वडा कार्यालयमा निवदेन दिएर प्रक्रिया सुरु हुने प्रावधान थियो। यो ऐन कार्यान्वयनमा हुञ्जेल अदालतमा अपवाद वाहेक महिलाका मात्रै मुद्दा आउने गरेका थिए। मुलुकी ऐन विस्थापित गर्दै मुलुकी संहिता भदौबाट कार्यान्वयनमा आएपछि पुरुषलाई समेत अदालतमा सम्बन्ध बिच्छेद मुद्दा दर्ता गर्न पाउने अधिकार छ।

संहिता आएपछि हाराहारी मुद्दा

महिलाले मात्रै अदालतमा सम्बन्ध बिच्छेदका मुद्दा दर्ता गर्दै आएकोमा मुलुकी संहिता लागू भएपछि भने पुरुषले पनि धमाधम पत्नबाट पीडित भएको भन्दै सम्बन्ध विच्छेद मुद्दा दर्ता गर्न थालेका छन्। जिल्ला अदालतमा संहिता लागू भएदेखि ०७५ भदौ १ देखि ०७६ असार मसान्तसम्म पुरुष ३२ र महिला ४० गरी ७२ जनाले दर्ता गरेका छन्।

दर्ता गर्नेमा पुरुष पनि महिलाको हाराहारीमा छन्। सम्बन्ध बिच्छेदका कारण बाहिर एक देखाइए पनि भित्र फरक हुने गरेको उच्च अदालत विराटनगरको ओखलढुंगा इजलाशका वरिष्ठतम् न्यायधीश विदुरविक्रम थापाले बताए। उनले भने, ‘बाहिर शारीरिक तथा मानसिक यातना दिएको, हिंसा गरेको भन्ने गरिए पनि धेरैजसोमा वैदेशिक रोजगारीपछिको विकृति कारण बनेको छ।’

उनका अनुसार वैदेशिक रोजगारीमा रहँदा सम्बन्धमा आउने दरार, अविश्वास र अरुसँगको सम्बन्धका कारण सम्बन्ध बिच्छेद धेरै हुने गरेका छन्। सम्बन्ध बिच्छेद गर्न आउने अधिकांश पुरुषले अनौपचारिक कुरामा पत्नीले परपुरुषसँग सम्बन्ध राखेका कारण सम्बन्ध बिच्छेद गर्नु परेको बताउने गरेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.