युट्युबर किन जिम्मेवार नबन्ने ?
खविन लुइटेल
हुन् त युट्युब युवा पुस्ताको सबैभन्दा सजिलो आम्दानीको माध्यम बनिरहेको छ। गुललले सिंगापुरबाट हरेक महिनाको २१–२५ तारिकमा सोझै बैँक खातामा जम्मा गरिदिने डलरले युट्युब क्रिएटर (च्यानल सञ्चालक) दिन दुई गुणा रात चार गुणा बढिरहेका छन्।
प्रायः नेपाली युट्युबरको निदृष्ठ उद्देश्य रहेको पाइँदैन्। आफ्नो च्यानलबाट कस्ता सामाग्री राख्ने ? नेपालका प्रायः युट्युब च्यानलको प्रमुख समस्या यही हो। गीत, हत्याकाण्ड, कमेडी सिरियल, अन्र्तवार्ता या भनौँ जे भेटिन्छ त्यहीँ युट्युबरले राख्दै आइरहेका छन्। तर, विकसित मुलुकबाट सञ्चालन भएका च्यानल भने विषयवस्तु केन्द्रित भएका पाइन्छन्। जस्तो टेक च्यानलले प्रविधिका भिडियो मात्रै हाल्छन्, ट्राभल च्यानलबाट यात्राका भिडियो मात्रै। नेपालमा जस्तो टेक्नोलोजी रिलेटेड भनिएका च्यानल हत्याकाण्ड खोज्दै हिँड्दैनन्।
पंक्तिकारको युट्युब यात्रा धेरै लामो भएको छैन। तर, यो बीचमा युट्युबका थुप्रै कुरालाई नजिकबाट महसुस गरेको छ। २/४ वर्ष काम गर्दा अन्य मिडियाबाट कमाएको पैसा एकै महिना युट्युबाट थापेको छ। राम्रो सामग्री उत्पादन गरेर हजुर विज्ञापन दिनुस् न भन्दै पटक–पटक साहुजीकहाँ धाएर ल्याएको विज्ञापनको रकम उठाउन जाँदा भोग्नुपरेको तुच्छ व्यवहार पंक्तिकारले सहजै महिनाको २४ तारिकमा बैँकमा रकम प्राप्त गरेको छ। युट्युबयस्तो प्लेटफर्म हो जहाँ तपाईँ राम्रो सामग्री मात्र बनाउनुहोस् बाँकी विज्ञापन र पैसाको विषय चिन्त्ता लिनुपर्दैन सिधै बैँकमा जम्मा हुन्छ, विज्ञापन र पैसा उठाउने दिमाग तपाईँले कन्टेन्टमा खर्चिनु भए हुन्छ।
युट्युब युवा पुस्ताको सबैभन्दा सजिलो आम्दानीको माध्यम बनिरहेको छ। गुललले हरेक महिनाको २१/२५ तारिकमा सोझै बैँक खातामा जम्मा गरिदिने डलरले युट्युब क्रिएटर (च्यानल सञ्चालक) दिन दुई गुणा रात चार गुणा बढिरहेका छन्।
सायद निकै ठूला कर्पोरेट हाउसले समेत तलब दिन कहिले काहीँ केही ढिलो गर्लान् तर, युट्युबाट हरेक महिना पैसा आउँछ। सन् २०१२ मा युट्युबप्रतिको खासै ज्ञान नहुँदै खोलेको च्यानल भए पनि सन् २०१७ देखि युट्युबमा थप सक्रिय छु। युट्युबको अलावा रेडियो, टेलिभिजन, छापा र अनलाइन पत्रकारितामा समेत आवद्ध छु।
आफ्नै लागानीमा प्रदेश–१ को पाँचथर फिदिममा रेडियो सञ्चालन भइरहेको छ। मोफसल (त्यो पनि ग्रामीण क्षेत्र) मा रहेर युट्युबको यात्रा निकै कठिन छ। काठमाडौंबाट सञ्चालित च्यानल मात्रै मूलधारका हुन भन्ने मान्यता युट्युबका दर्शकमा पाइन्छ। विशेषतः विदेशमा रहेका नेपाली युट्युबका दर्शक हुन्।
सुरुमा लघु कथा वाचनदेखि गजल, साहित्य, कमेडी हुँदै पछिल्लो समय समाचार प्रधान च्यानलको रूपमा आफ्नो च्यानललाई केन्द्रित गर्दै गर्दा भोगेका केही अनुभवहरू यस लेखमा समेट्ने प्रयास गरेको छु।
नेपाली युट्युबरले गरिरहने गल्ती भनेको पत्रकार आचारसंहिताको उल्लंघन नै हो। नहोस् पनि कसरी जसले पत्रकारिताको आधारभूत ज्ञान पनि लिएका छैनन्, न तालिम छ न कुनै औपचारिक शिक्षा छ । उनीहरूबाट प्रसारण हुने सामग्री न्यायाधीश, वकिल र विश्लेषकभन्दा बाहेक के नै हुन्छ र ? सञ्चार सामाग्री समाजप्रति उत्तरदायी हुनु जरुरी छ भन्ने आधारभूत ज्ञान नै नपाएका युट्युबरले सञ्चालन गरेका समाचारमूलक च्यानलले के सामाग्री प्रसारण गर्लान् ?
भनिन्छ, आम सञ्चारको मूल्याङ्कन पाठक, श्रोता र दर्शकले गर्छन् एकपल्ट पाठक श्रोता र दर्शकको नजरमा गिरेको सञ्चार माध्यम उठ्नका लागि वर्षौँको मिहिनेत लाग्छ।
बुम लिएर सडकमा प्रश्न गर्दै हिँड्ने जो कोहीलाई पाठक श्रोता र दर्शकले पत्रकार हो भन्ने बुझिहाल्छन्। अनि ती बुम बोकेर हिँड्ने कोही कसैले गरेको गल्तीको प्रभाव सिंगो पत्रकारिता जगतमाथि पर्ने गरेको छ। यसो भन्दै गर्दा प्रविधिको विकाससँगै अगाडि आएको डिजिटल दुनियाँबाट भाग्ने भन्ने पनि हैन यिनिहरूको व्यवस्थापन नै एउटा मात्रै विकल्प हो।
एकजना चर्चित पत्रकारले वाक स्वतन्त्रताको सन्दर्भमा लेखेको एउटा स्टाटस स्मरण गर्छु, ‘वाक स्वतन्त्रता भनेको त्यति मात्रै वाक्ने हो जति आफूले सोर्न सकिन्छ।’
अहिले केही युट्युबले गरिरहेको भनेको ठीक त्यसको विपरीत छ। उनीहरू सोर्नै नसक्ने गरी ‘वाकी’रहेका छन्। बस् यसको नियमन जरुरी छ। ग्रामीण क्षेत्रका सदरमुकामसम्म मात्र इन्टरनेटको पहँुच पुग्दा युट्युबमा यतिका दर्शक ओहिरिरहेका छन् भने भोलि हरेक घरमा इन्टरनेट पुग्दै गर्दा सञ्चारको यो माध्यमको अवस्था के होला ? सहजै अनुमान गर्न सकिन्छ अनि त्यतिबेला पनि अहिले जस्तै गैरजिम्मेवार सामाग्री सम्प्रेषण भइरहने हो भने के सामाजिक सद्भाव, जातीय सद्भाव, राष्ट्रिय अखण्डा, व्यक्तिगत गोपनीयताजस्ता पत्रकारिताका आधारभूत मान्यता बाँकी रहलान् ? समाज कतातिर जाला ? आजको चिन्ताको विषय यो हो। ठूला भनिएका मिडिया र त्यसमा कार्यरत पत्रकारले पटक–पटक चिन्ता व्यक्त गर्दै युट्युबरमाथि आक्रोश पोख्नुको कारण पनि यही हो।
नेपाली युट्युबरले गरिरहने गल्ती भनेको पत्रकार आचारसंहिताको उल्लंघन नै हो। सञ्चार सामाग्री समाजप्रति उत्तरदायी हुनु जरुरी छ भन्ने आधारभूत ज्ञान नै नपाएका युट्युबरले सञ्चालन गरेका समाचारमूलक च्यानलले के सामाग्री प्रसारण गर्लान् ?
गालीबाट बँच्न र जिम्मेवार हुनको लागि युट्युबर आफैँ जिम्मेवार बन्नु नै आजको मुख्य आवश्यकता हो। तपाईँले सञ्चालन गरेको च्यानलले के गर्ने हो पहिले निदृष्ट हुनुहोस्, यदि तपाईँ साँच्चै युट्युबबाटै पत्रकारिता गर्ने हो भने पत्रकारिताका आधारभूत तालिम लिनु जरुरी छ। पत्रकार आचासंहिताका पुस्तक जतासुकै पाइन्छ। पत्रकारिताका थुप्रै पुस्तकहरू बजारमा किन्न पाइन्छन्। यस्ता पुस्तक पढ्दा पनि तपाईँले पस्कने ‘कन्टेन्ट’ केही न केही जिम्मेवार हुन्छ। रह्यो शीर्षकको कुरा अहिले अन्तर्राष्ट्रिय मिडियाले समेत ‘बम पड्किँदा यस्तोसम्म भयो..., रेलको लिकमा बालक फसेपछि..., जब श्रीमतीले श्रीमानको झूट पक्रिइन् ...’ जस्ता शीर्षक राखेको पाइन्छ। यो ठीक या बेठीक भन्ने सन्दर्भ अहिले पनि बहसकै विषय बनिरहेको छ। तर, युट्युबर योभन्दा माथि जानु भनेको पत्रकारिताको आधारभूत ज्ञानको कमी नै हो।
पाँचथरमा नौ जनाको ज्यान जाने गरी भएको हत्याकाण्डलाई सम्झिन्छु। उक्त घटनास्थलमा पुग्ने सबैभन्दा पहिलो पत्रकार लक्ष्मी गौतम र म थियौँ। मैले काठमाडौंमा रिपोर्टिङ गर्ने पत्रिका आर्थिक विटको भएकोले त्यो समाचारको विषय नै बनेन। रेडियोले १ मिनेट र टीभीले ३ मिनेटको भन्दा धेरै समाचार प्रशारण गर्ने कुरै भएन। त्यहाँ पुग्नको लागि मैले गरेको मिहिनेत यति समाचारको लागि थियो त ? बिलकुल थिएन ? त्यहाँ गएर के देखेँ ? के भएको थियो? सबै कुराको शृङ्खला मेरो च्यानलमार्फत अपलोड गर्न थालेँ।
पछि पाँचथरकै च्यानल रहेछ भन्ने थाहापाएपछि दर्शकको संख्या बढ्यो, यतिसम्म कि नेपालका सबैभन्दा ठूला राष्ट्रिय दैनिकका पत्रकारले समेत –‘खविन जी तपाईँको भिडियोले समाचारको लागि थुप्रै रिफरेन्सको काम गरिरहेको छ, भिडियोबाट एउटा फोटो क्रप गरेँ है’ भनेर फोन गर्नुभयो।
त्यसपछि मैले महसुस गरेँ ओहो ! मेरा दर्शक त यो पेशामा मभन्दा दिग्गजहरू पनि पो हुनुहुँदो रहेछ, म जिम्मेवार भएर प्रस्तुत हुनैपर्छ। पछिल्लो समय एउटा कुपोषण भएको बच्चाको स्टोरी उठान गरेको थिएँ। बच्चाको उपचारहोस् भन्ने मेरो उद्देश्य थियो।
गालीबाट बँच्न र जिम्मेवार हुनका लागि युट्युबर आफैँ जिम्मेवार बन्नुपर्छ। तपाईँले सञ्चालन गरेको च्यानलले के गर्ने हो पहिले निदृष्ट हुनुहोस् । तपाईँ साँच्चै युट्युबबाटै पत्रकारिता गर्ने हो भने पत्रकारिताका आधारभूत तालिम लिनु जरुरी छ।
त्यो भिडियो बाहिरिएपछि बच्चाको उपचारमा स्थानीय स्वास्थ्य संस्थाले चासो देखायो। उपचार पनि भयो। उक्त भिडियो हेरेपछि खोज पत्रकारिता केन्द्रबाट पत्रकारिताका अग्रज दाइले सहकर्मी लक्ष्मी गौतममार्फत फोनमा खबर पठाउनु भएछ अरू सबै ठिकै छ, विषयवस्तुको छनोट राम्रो छ। तर, त्यो बच्चाको अनुहार ब्लर गर्नुपथ्र्यो, पछि बच्चा हुर्किसकेपछि उसलाई यो भिडियोले नराम्रो पार्नसक्छ भन्नुभयो।
म फेरि झस्किएँ ७ वर्षदेखि गरिरहेको मेरो पत्रकारिता यहाँ फेरि चुक्यो ! र मन मनै प्रण गरे बच्चा पूर्णरूपमा ठीक भइसकेपछि त्यो भिडियो डिलिट गरिदिनेछु। मेरो च्यानलमा सबैभन्दा धेरै हेरिएको भिडियो नेपालमा सबैभन्दा धनी भन्ने शीर्षकको रहेको छ। नेपालको आर्थिक बिटको विश्वशनीय अनलाइले फोब्र्सको आधारमा भन्दै समाचार लेखेपछि भिडियो बनाएँ, करिब १० लाखले हेरिसकेपछि थाहा पाएँ– त्यो त झूटो रहेछ भनेर म त चुकेँ नै नेपालका मै हुँ भन्ने थुप्रै मिडियासमेत उक्त समाचारमा चुकेका थिए। पछि मैले भिडियो बनाएको अनलाइनको समचारको लिंक राखेर श्रोत भनेर राखिदिएँ। यसरी काम गर्ने क्रमममा कमजोरी नै हुँदैन भन्ने हैन। तर आधारभूत ज्ञान राखेर काम गर्दा धेरै गाली खानु पर्दैन।
युट्युबबाट पत्रकारिता गरिरहनुभएका साथीलाई भन्न चाहन्छु ‘एउटा बिराउने, शाखा पिराउने’ भन्ने नेपाली चर्चित उखान जस्तै भएको छ। कमसेकम तपाईँको च्यानलमा पूरा विवरण, सम्पर्क ठेगानाजस्ता विवरण खुलाएर व्यावसायिक रूपमा यस क्षेत्रमा हातेमालो गरौँ। अबको भविष्य यही नै हो। कसैले स्वीकारोस् या स्वीकार नगरोस् प्रविधि त्यही हो। ‘इफ यू आर नट अपडेटेड, यू आर आउटडेटेड।’ तर त्यसको लागि पहिले आफूले आफूलाई भन्न सकौँ कि ‘म एउटा जिम्मेवार युट्युबर।’ अनि चितवनको प्रहरी कार्यालयमा मात्रै होइन, नेपालका सबै निकायमा युट्युबर र पत्रकारलाई समान व्यवहार हुनेछ।
कसरी गर्न सकिन्छ नियमन ?
समाचारको आधाभूत ज्ञान भएका युट्युब सञ्चालक साथीबीच भेट हुँदा हाम्रो पहिलो छलफलको विषय यही बन्ने गर्छ। हामीलाई सरकारले कसरी नियमन गरोस् । तर यसका लागि के उपाय हुन सक्ला ? थुप्रै छलफलबाट निस्किएको एउटा निष्कर्ष : प्रालिमार्फत, प्रेस काउन्सिल हुँदै सूचना विभागमा सरकारले अनलाइलन दर्ता गर्ने गरेको छ। यसरी दर्ता भएपछि अनलाइनको च्यानल हो भन्ने वातावरण सिर्जना हुन्छ। त्यसपछि नियमनको बाटो सहज बन्छ।
विद्युतीय सञ्चारमाध्यम (टेलिभिजन)ले प्रशारण गर्ने जतिको सामाग्री मात्रै प्रशारण गर्ने हो भने युट्युबको बेथिति आफैँ अन्त्य हुन्छ। अनलाइनलाई जसरी नियमन गरिरहेको छ त्यसरी नै युट्युबको पनि दर्ता गरेर नियमन सम्भव।
अरू पनि थुप्रै विकल्प हुन सक्लान् तर, कमसेकम हरेक च्यानलमा सम्पर्क, सञ्चालक, ठेगाना, फोन नम्बरजस्ता सामान्य विवरण मात्रै राख्ने व्यवस्था मिलाउने हो भने कोठामा लुकेर समाजमा अफवाह फैलाउन खोज्ने स्वतः हराएर जानेछन्। लेखक नयाँ कुरो युट्युब च्यानलका सञ्चालक हुन् ।