‘बुङको आलु’ कोसेली
ओखलढुंगा : गाउँघरतिरको कोसेली पहिले घिउ, कुराउनी हुन्थ्यो। हिजोआज कोसेलीको रुप फेरिएको छ। ओखलढुंगाको मुख्य कोसेली बुङको आलु भएको छ। सिद्धिचरण नगरपालिका १२ का ढलक श्रेष्ठ भन्छन्, ‘सहरमा बस्ने परिवारले खुब माग गर्ने भएकाले बुङको आलु चर्चित छ।’
हिजोआज ओखलढुंगाको लेकाली क्षेत्रका किसानले उत्पादन गर्ने बुङको आलु कोसेलीका रूपमा सहरतिर पठाइन्छ। अर्गानिक विधि अपनाएर फलाइएको आलु खेतबारीमा रोपिने अन्य आलुभन्दा स्वादिलो हुन्छ।
बुङको आलुको माग अहिले काठमाडौंदेखि विराटनगरसम्म रहेको सिद्धिचरण नगरपालिका ७ की किसान मिना शाक्यले बताइन्। उनले भनिन्, ‘मिहिनेत धेरै पर्ने भएकाले पहिले महँगो भनेर किन्दैनथे अहिले तराईदेखि ठेग्न आइपुग्छन्।’ अर्गानिक, स्वादिलो र लामो समय भण्डारण गर्न सकिने भएकाले बुङको आलुले प्रथामिकता पाउन थालेको उनको भनाइ छ।
ओखलढुंगाको जन्तरखानी, पात्ले, खिजिदेम्बाका अधिकांश भूभागमा बुङको आलु उत्पादन हुन्छ। रातो र सेतो दुई रङमा फल्ने उक्त आलु सेतोभन्दा रातो महँगो हुन्छ। अहिले बारीमै माथिको १ सय ६० रुपैयाँमा बिक्री हुने गरेको अगुवा किसान राजेश श्रेष्ठले बताए।
अहिले ओखलढुंगाका २ हजार मिटरभन्दा माथिको भूभागमा लेकाली क्षेत्रका किसानलाई बुङमा रोपिएको अर्गानिक आलु निकाल्ने चटारो छ। साउन–भदौ बुङको आलु निस्कने मुख्य सिजन हो। ठाडे, टोड्के, जन्तरखानी, पात्ले, भुसिंगालगायत ठाउँका किसानले बाँझो जमिनमा उम्रिएको झारपात र माटोको चपरीलाई पाखैभरि ड्याङ बनाएर आगोले पोलेपछि आलु रोप्ने गर्छन्। ७ महिनामा आलु तयार हुन्छ। एउटा ड्याङमा एकपाथि आलु फल्ने किसान बताउँछन्।
चिसोका कारण उत्पादन ढिला हुने र मिहिनेत धेरै पर्ने भएकाले यसको मूल्य पनि महँगो हुन्छ। लेकाली क्षेत्रका ठूला पाटामा चार/पाँच वर्षको अन्तरालमा बुङ निर्माण गरेर आलु रोप्ने गरिन्छ। त्यसरी उत्पादन गरिएको आलुलाई बुङको आलु भनिन्छ। यो आलु बीउको सिजनमा तराई समेत निर्यात हुने गरेको छ। बजारमा बुङको आलुको माग अत्यधिक छ। सरकारी तथ्यांकअनुसार ओखलढुंगामा २ हजार ९४७ हेक्टर क्षेत्रमा आलु खेती गरिँदै आएको छ। जसमध्ये २ हजार मिटरभन्दा माथि बुङ बनाएर आलु खेती गरिने क्षेत्र १ हजार ४६३ हेक्टर क्षेत्र छ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ओखलढुंगामा आलुजोन सञ्चालनमा छ। चालु वर्षमा यो कार्यक्रमबाट आलुको भण्डारण, वितरण तथा ब्रान्डिङका काम गर्न बजेटको व्यवस्था गरेको छ। ओखलढुंगाको आलुलाई व्यवस्थित उत्पादन र वितरण गर्ने कार्यक्रम चालु वर्षबाट सुरु हुने परियोजना प्रमुख सूर्यबहादुर थापाले बताए। उनले कर्मचारी समायोजनले जनशक्ति अभाव भएकाले समस्या देखिएको जानकारी गराए।
यसरी बनाइन्छ बुङ
लेकाली क्षेत्रका जग्गामा आलु नै मुख्य बाली हो। समुद्र सतहबाट २ हजार ५ सय मिटरभन्दा माथि चिसोले अन्य उत्पादन हुँदैन। यस्तोमा बारी तथा पाखामा चार/पाँच वर्षसम्म झाडी पालेर फाँडिन्छ। फाँडेपछि पुसदेखि जमिनमा रहेका झारपातसहित चपरी निकालेर घाममा सुकाइन्छ। यसरी १५ दिनजति सुकाएपछि चपरी उल्टो पारेर गोलाकार रूपमा ड्याङजस्तो बनाइ त्यसभित्र आगो सल्काइन्छ।
त्यसरी आगोले पोलेपछि बनेको खरानीमा आलु हालेर बाहिरबाट माटोले पुरिन्छ। यसैलाई बुङ भनिन्छ। यसरी फागुन लाग्दा रोपेको आलु साउन–भदौमा पाक्छ। यसरी माटो र खरानीमा मात्रै फल्ने आलुलाई बुङको आलु भनिन्छ। यही आलु अहिले ओखलढुंगाको कोसेलीका रूपमा सहरसम्म परिचित छ। एकपटक रोपेपछि चार वर्षजति उक्त माटोमा झारपात पलाउन बाँझो राखिन्छ।
ब्रान्डिङ गर्न माग
पूर्णतः अर्गानिक हुने भएकाले हिजोआज बुङ निर्माण गरेर रोपेदेखि नै व्यापारीले आलु किन्ने प्रस्ताव किसानलाई पठाउने गरेका छन्। रोपिएको आलुमा किसानले कुनै रासायनिक मल तथा विषादी प्रयोग गर्दैनन्। किसान तथा सरोकारवालाले बुङको आलुलाई ब्रान्डिङ गर्न माग गरेका छन्। उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र मास्केले अर्गानिक आलुलाई लेबलिङ र प्याकेजिङ गरेर विदेश पठाउन सके अन्तर्राष्ट्रिय व्यापारसमेत बढ्ने बताए।
स्थानीय उत्पादनलाई ब्रान्डिङ गरेर बजारीकरण गरे जिल्लाकै पहिचान स्थापित हुने भएकाले बुङको आलुको ब्रान्डिङ गर्न खोजिएको सांसद यज्ञराज सुनुवारले बताए। उनले बुङको आलु सबै क्षेत्रमा स्थापित गर्न सके आलु निर्यातबाटै किसानको जीवनस्तर माथि उठ्ने भएकाले आलु जोन कार्यक्रमले त्यसतर्फ काम गर्ने गरी कार्यक्रम ल्याइएको जनाए।