इन्टरनेटमा सपना खोज्दै टिन हिरो
किशोरकिशोरीमा भएका क्षमता प्रस्फुटन गरी समाजमा परिचित गराउन ग्लोकल टिन हिरो कार्यक्रमको सुरुआत भएको हो। सन् २०१५ देखि सुरु भएको यो कार्यक्रमको पाँचौं संस्करण भदौ १५ गते हुँदैछ। यस वर्षको टिन हिरो बन्न देशभरबाट किशोरकिशोरीले आवेदन दिएका थिए। आवेदकहरूले पत्रकारिता, रोबोटिक्स, कम्प्युटर प्रोग्रामिङ, उद्यमशीलतादेखि सामाजिक कार्यमा राम्रो प्रभाव पर्ने काम गरेका छन्। तीमध्ये उत्कृष्ट ६ मा पर्नेहरू १४ देखि १९ वर्ष उमेरसमूहका छन्। कार्यक्रमको उद्देश्य उनीहरूको काम सबैको माझ सार्वजनिक गर्नु हो। यस वर्षको ग्लोकल टिन हिरोका लागि पाँच सय ८९ जनाले आवेदन दिएका थिए। जसमध्ये उत्कृष्ट ६ मा पर्ने टिन एजरहरू यस्ता छन्।
विधि मण्डल, जनकपुर
जनकपुरकी विधि मण्डल विज्ञानकी विद्यार्थी हुन्। उनलाई गरिब, असहाय र दुःखीको सहारा बन्न मन लाग्छ। उनले आवास भन्ने बिजनेस आइडियाको सुरु गरेकी छन्। यो आइडिया यूएनडीपी युथको टपटेनमा परेको थियो। आफ्नो गाउँठाउँमा भएका निम्नवर्गीय समुदायले बासको समस्या भोग्दै आएको उनले देखेकी छन्। भूकम्प जाँदा आफू पनि चर्किएको घरमा बस्नु पर्यो। उनले घरको महत्त्व त्यतिबेला बुझिन्।
प्लास्टिकको इँटा बनाउने आइडिया उनले विकास गरिन्। केही समय इन्टरनेटमा खोजी गरिन्। उनलाई सोसल बिजनेसमा पनि रुचि थियो। मोडल बहुमुखी क्याम्पसकी विद्यार्थी हुन् उनी। उनले घर नभएका मान्छेलाई इँटा र बालुवाको घर बनाउनु निकै चुनौतीपूर्ण हुने बुझिन्। यसको विकल्प के हुन सक्छ ? उनले निरन्तर खोजी गर्दै गइन्। अन्त्यमा उनले विकल्प फेला पारिन्, प्लास्टिकको इँटा। विधिले यूएस एम्बेसी युथ काउन्सिलको सदस्य भएर पनि काम गरेकी छन्। कोट फर नेपाल भन्ने संस्थामा आबद्ध भएर डिजिटल साक्षरता र सामाजिक सुरक्षाको विषयमा पनि काम गरिरहेकी छन्। यसका अलावा उनी काठमाडांैमा घरविहीन भएर सडकमा बस्ने महिलाको महिनावारी समयमा हुने समस्याको विषयमा अनुसन्धान गरिरहेकी छन्।
रचिन कालाखेती, हेटौंडा
इन्टरनेटको माध्यमबाटै रचिन कलाखेतीले उपयोगी एप्लिकेसन र सफ्टवेयर डेभलपमेन्ट टेक्निक निर्माण गरेका छन्। उनी स्वास्थ्य र शिक्षाको क्षेत्रमा सहयोगी एप्लिकेसन निर्माण गर्छन्। उनले बनाएका एप्लिकेसनको सहयोगमा छातीको एक्सरे रिपोर्ट हेरेर के रोगले छातीको कुन भागमा असर गरेको छ बताउन सक्छन्। स्किन क्यान्सर थाहा पाउने तथा घुँडाको रोग पत्ता लगाउने कम्प्लिट डाइनोसिस सोलुसन एप पनि बनाइरहेका छन्। यस्तो एपको प्रयोगले मेडिकल क्षेत्रमा निकै सहयोग पुग्ने उनको दाबी छ।
स्कुल अफ म्यानेजमेन्ट कलेज हेटौंडामा कक्षा १२ मा पढ्छन् रचिन। सानैदेखि कम्प्युटर क्रेजी थिए। ६ कक्षामा पढ्दा पहिलो पटक ल्यापटप हात पर्यो उनको। आमा विदेशमा थिइन्। आमासँग भिडियो कल गर्न साइबर पुग्थे। टाढा बसेको मान्छेसँग यसरी बोल्न पाउँदा अचम्म लाग्थ्यो उनलाई। ल्यापटप घरमा आएपछि उनी खुब गेम खेल्थे। नयाँनयाँ गेमका एप बनाउन सिके। गेमले गर्दा पढाइ बिग्रन थालेपछि उनी स्वाथ्य र शिक्षासम्बन्धी एपको खोजीमा लागे। कक्षामा घोकाएर पढाउने तरिका मन पर्दैनथियो उनलाई। त्यसैले एपको माध्यमबाट कसरी पढ्न सकिन्छ भन्ने खोजी गरिरहेका छन्।
विक्रम पराजुली, पोखरा
कम्प्युटर र इन्टरनेटको माध्यमबाट अहिले एकै पटक हजारौं विद्यार्थीलाई पढाउन सकिने सिकाइ पद्धति निर्माण भइसकेको छ। विक्रमले यो परिवर्तनलाई नजिकबाट बुझेका छन्। शिक्षकले एउटै कोठामा घण्टौं उभिएर विद्यार्थीलाई प्रत्यक्ष सिकाउने, भाषण दिने खालको शिक्षण पद्धत्ति पुरानो हुँदैछ। यसैले उनले डिजिटल साक्षरताको धारणा समाजमा विकास गराउँदै छन्। साइन्स टेक्नोलोजी र रोर्बटिक्सजस्ता नयाँ पद्धति हाम्रो राष्ट्रिय शिक्षामा समावेश गर्न जरुरी ठान्छन् उनी। उनले दी नेपालियन नामक इलाइब्रेरी पनि सञ्चालन गरिरहेको छन्।
विभिन्न स्कुलका विद्यार्थीलाई निःशुल्क तालिम दिने, कम्प्युटर प्याकेज डेलिभर गर्ने काम गरिरहेका छन्। अडिनो नामक माइक्रो कन्टोलरको निर्माण पनि गरिरहेका छन्। यो माइक्रो कन्टोलर एक प्रकारको चिप्स हो जसका माध्यमबाट कम्प्युटरमा कसरी प्रोगामिङ गर्ने, इलेक्ट्रोनिक्सको कुरा पनि सिकाउँदै आएका छन्। इन्टरनेट नभएको ठाउँमा पनि कम्प्युटरका साइट चलाउने तरिका खोजिरहेका छन्। पोखराको अमेरिकन कर्नर, मेकर स्पेस, कारखानालगायतका स्पेसमा गएर उनले क्रिएटिभ कम्युटिङको क्लास सञ्चालन गरिरहेका छन्।
समीर फुँयाल, मोरङ
गोठगाउँ मोरङका समीर फुँयालले पनि इन्टरनेटकै प्रयोग गरेर अनलाइन विज्ञापनको वेभसाइट बनाएका छन्। उनको नयाँ किनमेल डटकम नामक वेभसाइट सञ्चालनमा छ जहाँ उत्पादन भएका स्थानीय सामानको विज्ञापन प्रयोगकर्ता स्वयम्ले गर्न सक्छ। सामानको विज्ञापन गर्न यो एउटा निःशुल्क प्लेटफर्म हो।
सुकुना मावि विराटचोकमा विज्ञान विषयका विद्यार्थी हुन् उनी। कम्प्युटर र इन्टरनेटका सौखिन। हातमा मोबाइल भयो त उनको ध्यान गुगल या अन्य खोजी गर्नै बटमतिरै हुन्छ। इन्टरनेटको माध्यमबाट जे पनि बनाउन सक्ने आइडिया उनलाई निकै सुविधायुक्त लाग्छ। न कसैले सिकाउनु पर्छ न त तालिम नै दिनुपर्छ। एउटै साधनको प्रयोग गरी धेरै काम गर्न सकिन्छ। कम्प्युटर प्रोगामिङ उनको रुचिको विषय हो। यसका साथै समीरले अनलाइनकै माध्यमवाट पाइथन ज्याङ्गो टेक्निकमार्फत एक सय ४० देशका १३ हजारभन्दा बढी मानिसलाई वेभ डेकोरेट सिकाउने गर्छन्। यसका लागि उनले अनलाइनमै करिकुलम तयार पारेर राखेका छन्। उनको करिकुलम पढ्न चाहने मानिसले अप्लाई गर्छन्। पढाउन उनले भिडियो लेक्चर, आर्टिकल, लिंक तयार गरेका छन्।
लव–कुश पन्थी, बुटवल
पढ्न र लेख्न जान्ने हो भने इन्टरनेट संसार हो। बुटवलका जुम्ल्याहा दाजुभाइ लव–कुश पन्थीले इन्टरनेटकै सिकाइबाट नेपालीमा बोल्ने रोबोट तयार गरेका छन्। उनीहरूले ‘लवकुश मार्स’ नामक रोबोट तयार पारेका हुन्। यो विश्वमै नेपाली भाषामा दोहोरो कुराकानी गर्ने पहिलो रोबोट भएको उनीहरूको दाबी छ। रोबोटले नेपालीमा कुराकानी गर्ने, हिँड्ने र प्रतिक्रिया जनाउने गर्छ।
उनीहरू दुई कक्षामा पढदा पहिलो पटक रोबोटबारे सुनेका थिए। रजनीकान्तको रोबोट फिल्म हेरेका थिए। रोबोट देखेर यस्तो पनि हुने रहेछ भनेर उत्सुकता जागेको थियो। पढ्दै, सिक्दै जाँदा साउन्डबाट चल्ने रोबोट पनि हुन्छ भन्ने थाहा पाए। यस्तै प्रोगाम हेर्न र सिक्न थाले। एल्मुनियम, प्लाटिक र फलामका सामान, हाइभोल्टेज मोटरको प्रयोग गरी यो रोबोटको तयार गरेका हुन्।
सुप्रिया महर्जन, काठमाडौं
काठमाडौं सुकेधाराकी रैथाने हुन् सुप्रिया मानन्धर। युनेस्कोसँग मिलेर युथ ओरिएन्टेड कार्यक्रम गरिरहेकी छन्। आफ्नै लगानीमा प्रोजेक्ट होम पनि चलाइरहेकी छन्। साथीसँग मिलेर त्रिपुरेश्वरको सुकुमबासी बस्तीमा २५ जना बच्चा पढाइरहेका छन्। त्यो टोलमा धेरैजसो गाउँबाट भागेर आएका, परिवारविहीन सुकुमबासीका रूपमा बस्ने गरेको उनले थाहा पाइन्। उनलाई गाउँगाउँमा चेतना फैलाउने काम गर्नुपर्छ भन्ने लाग्यो। काम गर्दागर्दै उनलाई सुकुमबासीमा पैसाको कमीभन्दा पनि पढाउनुपर्छ भन्ने चेतना नभएको जानकारी पाइन्।
काभ्रे र दोलालघाट नजिकका गाउँमा पुगिन् उनी। केटीहरूले ८ कक्षा पढेपछि पढाइ छाड्ने गरेको वास्तविकता थाहा पाइन्। काठमाडौंबाट नजिकै भएर पनि गाउँका बच्चा र छोरीहरूको अवस्था दयनीय देखिन्थ्यो। विभिन्न संघसंस्थासँग मिलेर स्कुल छाड्ने बालबालिकाका लागि काम गरिरहेकी छन्। नेपालका धेरै जिल्लामा बालिकाको सुरक्षित यौन स्वास्थ्यको विषयमा पनि काम गरिरहेकी छन्। सेन्ट मेरिजमा स्कुले जीवन बिताएकी सुप्रिया स्कुल लेभलको पढाइले नै आफूलाई समाजसेवामा अग्रसर गराएको बताउँछिन्। परिवारको सहयोग नपाएर पढ्न नपाएका बालबच्चाका लागि शिक्षाको दियो बाल्न चाहन्छिन् उनी।