ओखलढुंगामा आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता
ओखलढुंगा : जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले आत्महत्या दुरुत्साहन आरोपमा एक युवाविरुद्ध मुद्दा दर्ता गरेको छ। चम्पादेवी गाउँपालिका–१० की १६ वर्षीया गोमा कार्कीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा सोही ठाउँका युवराज कार्कीविरुद्ध मुद्दा दर्ता गरेको हो।
तीन महिना अघि गोमाले घरकै कोठामा पासो लगाएर आत्महत्या गरेकी थिइन्। आत्महत्या गर्नुअघि उनले ‘मेरो फेक आईडी बनाएर मलाई बदनाम गराउनेलाई कारबाही गरे मात्र मेरो आत्मालाई शान्ति मिल्नेछ’ भनेर लेखिएको सुसाइड नोट फेला परेको थियो। फेक आईडी प्रयोग गरेर आफुलाई बद्नाम गराउनेमाथि कारवाही गर्न माग गरेको सुसाइड नोट र परिवारको उजुरीका आधारमा मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए।
मृतकको परिवारले फेक आईडी खोलेर बदनाम गराएर आत्महत्या दुरुसाहन गरेको उजुरी गरेपछि ‘ह्यान्डराइटिङ’ परीक्षण गराउँदा गोमाकै रहेको पुष्टि भएपछि मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको श्रेष्ठले बताए। सुसाइड नोट प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाइएको थियो। आरोपित कार्कीले सुरुमा आरोप इन्कार गरे पनि अहिले आरोप स्विकारेका छन्।
उनले प्रहरीसँगको बयानमा आफूले गोमालाई माया गरेको र गफगाफ हुने गरेको बताएका छन्। पछि गोमा टाढिन खोजेर धोका दिन लागेकाले आफूले फेक आईडी खोलेर बद्नाम गराउन खाजेको स्वीकारेको प्रहरीले जनाएको छ। युवराजले गोमाको फोटो राखेर ‘सबैको बुढी म’ भन्ने नाम राख्दै फेसबुक आईडी बनाएका थिए। ओखलढुंगा जिल्ला अदालतमा दर्ता भएको आत्महत्या दुरुत्साहनको यो दोस्रो मुद्दा हो।