मानव बेचबिखनको तस्बिर

मानव बेचबिखनको तस्बिर

दलालहरू फोनबाट युवतीको मन जित्ने, भेट्न बोलाउने, जबर्जस्ती यौन सम्बन्ध राख्ने र बिहेको नाटक गर्ने, घुम्न भनेर भारत पुर्‍याउने र कोठीमा बेच्ने गर्छन्।


दिल्लीको कोठीमा बेचिँदा म १२ वर्षकी थिएँ। यौनधन्दामा संलग्न हुन सक्ने शारीरिक अवस्था थिएन। कोठामा थुनेर विभिन्न प्रकारका औषधि खान दिन्थे। हेर्दा सुन्दर र आकर्षक देखिन स्तन बढाउनेदेखि अन्य औषधि खुवाइन्थ्यो।’ माइती नेपालको केन्द्रीय कार्यालय सेल्टरमा आ श्रय लिइरहेकी सिन्धुपाल्चोककी माइली तामाङ (नाम परिवर्तन) ले आफ्नो नमीठो विगत सुनाइरहेकी थिइन्। उनका आँखामा आँसु देखिन्थ्यो। उनको भोगाइ सुन्दा यस्तो लाग्थ्यो, ‘हैन होला ? यस्तो पनि हुन्छ ? ’ १२ वर्षकी बालिकालाई कसरी बेच्छन् होला र ?

माइली दिल्लीको जीबी रोडमा तीन वर्ष यौनधन्दा गर्न बाध्य भइन्। प्रहरीको कुटाइ, कोठी सञ्चालकको यातना र मानसिक टर्चर त कति हो कति ? आफ्नो शरीर अरूलाई सुम्पेर पाउने पैसा पनि आफ्नो हँुदैनथ्यो। प्रहरी छापा हान्न आउँथे, किन यस्तो काममा लागिस् भन्दै थर्काउँथे ? कुट्थे। तर हामीले सत्य बोल्न पाउँदैनथ्यौं। आफ्नै रहरले आएकी हुँ भनेर झूटो बोल्नुपथ्र्यो। हरेक दिन आँसु पिउनुपथ्र्यो।

माइली जान्ने हुँदादेखि घरमा आमा थिइनन्। आमाको अनुहार कस्तो थियो ? कहाँ गइन् केही थाहा थिएन। घरमा एक्ला बुवा थिए। रातदिन रक्सी पिएर दिन बिताउँथे। स्कुल पढ्न पठाएनन् उनलाई। पढ्ने रहर त्यसै खेर गयो। बुवाको हेंलाहेंलामै उनी हुर्किन्। साथीको लहलहैमा लागेर काठमाडौं आइन् उनी। केही महिना होटलमा भाँडा माझिन्। गाउँकै दलाली उनलाई खोज्दै होटलमै आइपुगे। राम्रो काम लगाइदिन्छु भन्दै उनलाई फकाए। उनी दिल्लीमा बेचिइन्। कोठीमा उनी पटकपटक बौरिइन्। टाइफाइड भएर मरणासन्न अवस्थामा पुगिन्। तर उनको शरीर बेचेर पैसा कमाउने कोठी साहुनीले उपचार गर्न आवश्यक देखिनन्। उनको शरीरमा घरिघरि समस्या देखिन थालेपछि कोठी सञ्चालन गर्ने महिलाले घर पठाइदिइन्। काठमाडौं आएर पुनः दिल्ली जाने क्रममा उनी माइती नेपालको चेकजाँचमा परिन्।

गत मंसिरदेखि उनी माइती नेपालको सेल्टरमा छिन्। सामान्य लेखपढ गर्न सिक्दैछिन्। आफ्नो नाम आफैं लेख्न सक्छिन्। चेलीबेटी तथा बालबालिका बेचबिखनमा पर्नु नेपालका लागि नौलो घटना होइन। पञ्चायतकालीन अवस्थामा नेपालबाट तेस्रोे मुलुक जान सहज थिएन।

०४७ सालमा बहुदलीय व्यवस्थापछि बाह्य मुलुकमा जाने नेपालीको संख्या पनि बढ्न थाल्यो। नेपालका गाउँगाउँमा कामको खोजीमा रहेका महिला तथा युवती भारतको कोठीसम्म पुर्‍याइन थाले। भारतमा लाहुर जाने प्रचलनसँगै बेचबिखन पनि सुरु भएको मानिन्छ, चेलीबेटी बेचबिखन।

देशमा घरेलु कामदारका रूपमा जाने कानुनी प्रावधान खुकुलो भयो। बेचबिखनको प्रक्रिया बदलियो। दलालीमार्फत महिला सीधै खाडी मुलुक पुग्न थाले। कामको आशामा महिला ठगिन थाले। दलालीमार्फत अवैधानिक रूपमा सरकारले रोक लगाएका देशमा समेत पुग्न थाले। वैधानिक रूपले पुगेका पनि बहानामा यौन शोषणको सिकार हुन थाले। धेरै देशमा नेपाली दिदी–बहिनी कष्टकर दैनिकी बिताइरहेका छन्। दलालले कैयन् युवालाई समेत अफ्ठ्यारोमा पारेको देखिन्छ।

सूचना र प्रविधिमा आएको विकाससँगै मानव बेचबिखनजस्तो अपराधको संख्यामा वृद्धि भएको छ। मानव बेचबिखन रोक्ने उद्देश्य राखेर धेरै खाले संघसंस्था स्थापना भएका छन्।

विगत १८ वर्षदेखि माइती नेपालमा कानुनी सल्लाहकारका रूपमा वकालत गर्दै आएकी उमा तामाङसँग सुनेर नसकिने अनुभव छन्। उनले वकालत सुरु गरेको समयमा मुलुकी ऐनको जीउ मास्नेबेच्ने महलअनुसार मुद्दा दर्ता गरिन्थ्यो।

मानव बेचबिखन तथा ओसारपसारका समस्या जरैदेखि निर्मूल गर्न समयानुकूल नीतिगत व्यवस्था, कानुन परिमार्जन एवं संस्थागत संरचनाको सुदृढीकरण गर्न आवश्यक देखिन्छ।

उनका अनुसार, केही वर्षअघिसम्म मानव बेचबिखन भन्नासाथ महिला मात्रै पीडित हुन्छन् भन्ने थियो। अदालतमा बहस गर्न जाँदा पनि पीडितका रूपमा महिला नै छन् होला भनेर न्यायाधीशले सोध्ने गर्थे। तर समय फेरिएको छ। महिला मात्र होइन, पुरुष पनि सहजै बेचबिखनमा पर्ने गरेका छन्। महिलालाई यौन शोषण बढी गरिन्छ भने पुरुषको श्रम शोषण गरिन्छ। विदेशका विभिन्न सहरमा मानव अंग बेचबिखन हुने क्रम बढ्दो छ।

भारतीय सहरमा मात्र नभई खाडी मुलुक, अफ्रिकी देशमा समेत नेपाली युवती बेचबिखनमा पर्न थालेका छन्। आकर्षक तलब र सेवासुविधाको प्रलोभनमा पारेर नेपाली चेलीलाई सहजै अवैध नाकाबाट पुर्‍याउने गिरोह सक्रिय हुँदै गएको छ। अफ्रिकी सहरका डान्सबारसम्म नेपाली युवती पुर्‍याइने गरेको अनुसन्धानले देखाएको छ।

विदेशी सपनाको कहर

धनगढीकी ५० वर्षीया निर्मला शर्मा (नाम परिवर्तन) कुबेतमा दुई वर्षसम्म यौन शोषणमा परिन्। पतिले अत्यधिक रक्सी खाएर दुःख दिन गर्थे उनलाई। घर चलाउनै गाह्रो भएपछि उनले विदेश जाने योजना बनाइन्। पाँचजना छोराछोरीकी आमा पैसा कमाउन र सन्तानको सुख र उज्ज्वल भविष्यको कल्पना गर्दै छिमेकी दिदीसँगै कुबेत पुगिन्।

एजेन्टद्वारा वैधानिक रूपमा उनी कुबेत पुगिन्। घरेलु कामदारका रूपमा मासिक ३० हजार कमाउने मोहमा त्यहाँ पुगिन्। आफू बेचिएको थाहा पाइन्। घरमालिक, छोरा र मालिकका साथीलाई यौन सन्तुष्टि दिनुपर्ने हुन्थ्यो। उनको शरीर उनीहरू आवश्यकताअनुसार उपभोग गर्न खोज्थे। मालिकको चाहना पूरा नगर्दा उनले कैयन् यातना र पीडा भोग्नुपथ्र्यो। यस्तो अवस्थामा उनी दूतावासको शरणमा आएकी थिइन्। उनलाई घर मालिकले चोरीको मुद्दा लगाएर पुनः जेलमा पुर्‍यायो। माइती नेपाल र नेपाली दूतावासको सहयोगमा उनी काठमाडांैसम्म आउन पाइन्। केही महिना माइती नेपालको सेल्टरमा बसिन्। उनले कुबेतमा न पैसा कमाइन् न सुबिस्ता नै। भोग्नै नसक्ने पीडा सहनुपर्‍यो।

आफ्नै बनेर बेच्छन्

माइती नेपालका अध्यक्ष विश्व खड्काले महिला काम र पैसाका लोभमा सजिलै फस्ने गरेको बताए। आफैं पासपोर्ट बनाएर, सहमति गरेर गएका हुन्छन्। खाडीमा जाने धेरैजसो महिला श्रमसँगै यौन शोषणमा पनि परेका हुन्छन्। शारीरिक यातना दिएर जबर्जस्ती यौन सम्बन्ध राख्न बाध्य पारिन्छन्।

भारतमा बेचिने अधिकांश युवती भने दलालीको चंगुलमा परेका हुन्छन्। दलालहरू फोनबाट युवतीको मन जित्ने, भेट्न बोलाउने, जबर्जस्ती यौन सम्बन्ध राख्ने र बिहेको नाटक गर्ने, घुम्न भनेर भारत पुर्‍याउने र कोठीमा बेच्ने गर्छन्। फेसबुक तथा सामाजिक सञ्जालबाट चिनजान भएका व्यक्तिलाई विश्वास गर्दा पनि युवती बेचिने गरेका छन्।

नुवाकोटकी २० वर्षीय रानी लामा (नाम परिवर्तन) लाई केही हप्ताअघि मात्रै दिल्लीकै जीबी रोड ५९ गल्लीको कोठीबाट उद्धार गरियो। उनी गत मंसिर ३ मा बेचिएकी थिइन्। कोठीमा उनले दैनिकजसो १८ देखि २० जना मानिससँग यौन सम्बन्ध राख्नुपथ्र्यो। दिनभरिमा १५ जनाभन्दा बढी र रातभर तीनजनाले यौन शोषण गर्थे। दलालीले उनलाई बिहे गरेको नाटक गरी जीबी रोड पुर्‍याएको थियो।

फोन सम्पर्ककै आधारमा उनी ती युवकसँग नजिक हुन पुगिन्। रानीलाई भेट्न ती युवक नुवाकोटकै ढिकुरे पुगे। एकदुईपटकको भेटपछि काठमाडांै घुम्न जाने र बिहे गर्ने सपना देखाए ती युवकले। झापातिर घर बताएका युवकबारे खासै जानकारी लिइनन् उनले। बोलीमै विश्वास गरिन्।

केही दिनपछि नुवाकोटबाट टोखाको बाटो भएर युवक भेट्न रानी काठमाडौं आइन्। उनीहरू बसपार्ककै होटलमा बसे। युवकले आफूले बिहे गर्ने विश्वासमा पारी यौन सम्बन्ध राखे। रानीले घरमा बिहे गरिसकेको र आफू नफर्किने जानकारी गराइन्। केही दिनपछि ती युवकले झापा घर जाने भन्दै बस चढाएर दिल्ली पुर्‍याए। बाटोमा लठ्याउने औषधि खुवाएर रानीलाई दिल्ली पुर्‍याइयो। दिल्ली पुगेपछि युवकले साथीको कोठामा पुर्‍याए। केही दिन सँगै बसे। एक दिन काममा लाग्नुपर्छ भन्दै कोठीको साहुनीलाई दिदी भन्दै ती युवकले चिनाए। दिदीसँगै काम सिक्न जाऊ भनी पठाए। उनी ५९ गल्लीको कोठीमा पुगिन्।

जब कोठीमा पुगिन् उनी, छाँगाबाट खसेजस्तो भइन्। भाग्न निकै कोसिस गरिन्, तर सकिनन्। यौनधन्दामा संलग्न हुन् बाध्य भइन्। बेचिएको करिब आठ महिनापछि रानी माइती नेपालको सहयोगमा उद्धार भइन्। उनलाई बेच्ने युवक फरार छन्।तथ्यांकमा बेचबिखन

सन् २००१ मा प्रत्येक वर्ष नेपालमा १२ हजारभन्दा बढी मानिस बेचबिखनमा पर्छन्, अन्तर्राष्ट्रिय श्रम संस्थाको तथ्यांक हेर्ने हो भने। राष्ट्रिय मानव अधिकार आयोगको हालैको तथ्यांकमा वार्षिक ३५ हजार मानिस बेचबिखनमा परेको, १५ लाख मान्छे जोखिममा, ७८ हजार मान्छेको बेचबिखन हुने गरेको देखिन्छ। यो निकै डरलाग्दो तथ्यांक हो।

माइती नेपालको गत वर्षको तथ्यांकअनुसार २४४२ जना महिलालाई सीमावर्ती नाकाबाट उद्धार गरिएको छ। ३९८४ जना महिला तथा बालबालिका हराएको उजुरीमध्ये १५३५ जना भेटिएका छन्। पीडितका तर्फबाट ५७ वटा मुद्दा दायर भएका छन्। १२५ वटा बलात्कारका घटनामा कानुनी लडाइँ चलिरहेको छ। २२० जना महिलालाई उद्धार गरिएको छ। १३९ जना महिला तथा बालबालिकालाई सेल्टर दिइएको छ।

२०७६ वैशाखबाट नेपालमा मानव बेचबिखन अनुसन्धान ब्युरोको स्थापना भएको छ। ब्युरो स्थापनायता मात्रै २५२ पीडितको उद्धार गरिएको छ। भारतको मणिपुर, कुबेत, किर्गिस्तान, इराक, लिबिया, केन्या, ग्रिसबाट ती नेपालीलाई उद्धार गरिएको हो। जसमा १९६ जना महिला र ५६ जना पुरुष छन्।

ब्युरोका तथ्यांकअनुसार नेपालभर ०७४÷७५ मा ३०५ वटा मानव बेचबिखनका मुद्दा दर्ता भए। यस्तै ०७५÷७६ मा २५८ वटा मुद्दा दर्ता भए। जबकि ०७१÷७२ मा यो संख्या १८१, ०७२÷७३ मा २१२ र ०७३÷७४ मा २२७ थियो।

मानव बेचबिखन अनुसन्धान ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक गोविन्द थपलिया दिनप्रतिदिन विभिन्न बाटो भएर बेचबिखनका घटना हुने गरेको बताउँछन्। ब्युरोमा स्वयं पीडित अथवा अन्य कुनै मानिसले दिएको उजुरीका आधारमा अनुसन्धान हुन्छ। प्रहरीले अनुसन्धान सकेपछि मुद्दा अदालतसम्म पुर्‍याउने काम गर्छ। ‘अदालतमा पीडित आफैं उपस्थित भएर बयान प्रमाणित गर्नुपर्ने कानुनी व्यवस्था छ’ उनले भने, ‘पीडित उपस्थित नभए मुद्दा कमजोर बन्छ। त्यसैले हामी बृहत् रूपमा अनुसन्धान गरेर कमजोर नहुने हिसाबले नै काम गर्छौं।’

मानव बेचबिखन अन्तरदेशीय अपराध भइसकेकाले विदेशमा हुने घटनाको अनुसन्धान गर्न र प्रमाण संकलनको काम गर्न असहज हुने उनको बुझाइ छ। प्रहरीका अनुसार सामाजिक सञ्जालमा अपराधको अभिलेख प्राप्त गर्नसमेत असहज छ। मानव तस्करी र बेचबिखन विश्वव्यापी रूपमा डरलाग्दो रूपमा बढ्दै गएको छ।

सहयोगी अदालत

मानव बेचबिखन मुद्दामा अदालत पनि संवेदनशील भएको पाउँछिन् अधिवक्ता उमा तामाङ। भन्छिन्, ‘हामी रेस्क्यु गर्ने बेलादेखि नै कागजी प्रक्रिया पुर्‍याएर काम गर्छौं। यस्ता केसमा शतप्रतिशत हामीले जितेका छौं।’

मुद्दा हेरेर पीडकलाई कैद तथा क्षतिपूर्ति भराउने कानुनी व्यवस्था छ। पीडक जेलमा पुगेपछि उसैबाट भराउने कानुनी व्यवस्था छ। तर अधिकांश दलालले पैसा तिर्न सक्दिनँ भन्दै क्षतिपूर्तिबापत पनि कैद भुक्तान गरिरहेको पाइन्छ। पीडकलाई सजाय भएको देखिए पनि पीडितले क्षतिपूर्ति पाएको अति कम मात्रै घटना छ।

मानव अंगनिम्ति बेचबिखन बढेको छ। चितवनकी १७ वर्षीया सीता (नाम परिवर्तन) लाई अघिल्लो महिना थानकोटबाट नेपाल प्रहरीको सहयोगमा माइती नेपालले रेस्क्यु गर्‍यो। उनलाई रामेछापका दुई युवक भारतको दिल्ली लैजाँदै थिए। उनलाई दिल्लीमा बिरामी बूढाबूढीको हेरचाह गर्ने, टन्नै पैसा कमाइने लोभ देखाइएको थियो। दिल्लीको एक वृद्धको किड्नी फेल भएका कारण उनलाई किड्नी बेच्न रामेछापका दुई युवाले सीतालाई दिल्ली लैजाँदै गरेको थाहा भयो।

गत फागुनमा मानव बेचबिखन अनुसन्धान ब्युरोमा एक उजुरी पर्‍यो। नुवाकोटका २७ वर्षीय योगेस सापकोटा, सिन्धुलीका सचिन बराल र दिनेश कार्कीविरुद्ध दाङका एक युवकले जाहेरी दिएका थिए। आरोपितले ती युवकलाई क्यानडाको भिसा र पीआर मिलाइदिने भन्दै २२ हजार अमेरिकी डलर ठगेको र झुक्याएर किड्नी निकाल्न खोजेको आरोप लगाएका थिए। पीडक पुर्पक्षका लागि कारागार थुनामा छन्।

मानव बेचबिखन नियन्त्रण तथा रोकथामका थुप्रै कानुन छन् र केन्द्रदेखि ग्रामीणस्तरसम्म समिति पनि। मानव बेचबिखन तथा ओसारपसारका समस्या जरैदेखि निर्मूल गर्न समयानुकूल नीतिगत व्यवस्था, कानुन परिमार्जन एवं संस्थागत संरचनाको सुदृढीकरण गर्न आवश्यक देखिन्छ। विपन्नता तथा बेरोजगार समस्या समाधानमा राज्यको ध्यान जान सक्नुपर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.