१३औं साग तयारी : कुस्तीका २८ खेलाडी छानिए
हेटौंडा : १३औं सागका लागि कुस्ती खेलको बन्द प्रशिक्षणमा सहभागी ४० मध्ये २८ जना खेलाडी दोस्रो चरणका लागि छनोट भएका छन्। शनिबार भएको छनोट प्रतियोगिताबाट १२ जना बाहिरिएका हुन्।
देशभरबाट छनौट भएका कुस्ती खेलाडीहरु एक महिनादेखि हेटौंडामा बन्द प्रशिक्षणमा थिए। बन्द प्रशिक्षणमा सहभागी २०जना पुरुष र २० जना महिला मध्येबाट १४–१४ जना छनोट गरिएको नेपाल कुस्ती संघका केन्द्रीय कोषाध्यक्ष जब्स खानले जानकारी दिए।
जारी बन्द प्रशिक्षणबाट छनौट भएका ७–७ जना महिला र पुरुष खेलाडीले १३औं सागमा विदेशी खेलाडीसँग प्रतिस्पर्धा गर्नेछ। प्रमुख प्रशिक्षक ब्रह्देव प्रसाद यादवको नेतृत्वमा ५ जना प्रशिक्षकले प्रशिक्षण दिइरहेका छन्। यस बन्द प्रशिक्षणमा १२औं सागमा प्रतिस्पर्धा गरेका १ महिला र ५ पुरुष खेलाडी पनि सहभागी छन्।
नेपालले चौथो सागदेखि पुरुषतर्फ कुस्ती खेलमा सहभागिता जनाइरहेको छ। बाह्रौं सागबाट महिलातर्फ पनि कुस्ती खेलमा नेपालले सहभागिता जनाउँदै आएको छ।