उत्पादनमा जोड दिएका छौं
धार्मिक एवं पर्यटकीय तीर्थस्थल स्वर्गद्वारीस्थित भिंगृ बजारमा स्वर्गद्वारी नगरपालिका अवस्थित छ। पर्यटकीय र कृषिउपजका हिसाबले यस नगरपालिका सम्भावनाको क्षेत्र मानिन्छ।
नेपालकै सातधाममध्ये स्वर्गद्वारी र समथल भूभागमा कृषि उब्जनी गर्न सके यस नगरपालिकालाई छिट्टै समृद्ध बनाउन सकिने नगरप्रमुख नेत्रबहादुर रोका क्षेत्री बताउँछन्। विकास गर्ने पहिलो दायित्व स्थानीय जनप्रतिनिधिको काँधमा गएको छ। त्यही जिम्मेवारीको नेतृत्व सम्हालेका रोकाले साविक भिंगृ गाविस हुँदासमेत दुई पटक अध्यक्षको कार्यानुभव बटुलेका छन्। रोकाले २० वर्षपछि आएको नयाँ व्यवस्थामा पनि नगरप्रमुखको जिम्मेवारी लिने शौभाग्य पाए।
स्थायी शिक्षक छाडेर राजनीतिमा होमिएका उनी प्रस्ट वक्ताका रूपमा चिनिन्छन्। विकासमा स्पष्ट दृष्टिकोण भएका रोकासँग अन्नपूर्णकर्मी केशर रोकाले गरेको कुराकानी :
नगर प्रमुखको जिम्मेवारीमा रहँदा तीनवर्षे अवधिमा कस्तो अनुभूति गरिरहनुभएको छ ?
हामी नयाँ संरचनाको अभ्यासमा छौँ। समृद्ध नगर बनाउने अभियानमा लागेका छौँ। दुर्गम क्षेत्रमा भएर पनि अत्यन्तै सम्भावना भएको नगर हो स्वर्गद्वारी। बाख्रापालन, तरकारी, फलफूल खेतीको क्षेत्रमा प्रशस्त सम्भावना छन्। यी क्षेत्रमा गत वर्ष लगानीलाई अझ बढी जोड गरियो। नगर क्षेत्रका किसानले विभिन्न सहरमा खसी, बोका निर्यात गर्छन्। नगरले करिब ६५ लाख रुपैयाँ किसानलाई अनुदानस्वरूप वितरण गरेको छ।
निश्चित मापदण्ड बनाएर अनुदानका कार्यक्रम सञ्चालन गरिएको छ। विशेषतः नगर क्षेत्रमा कृषिको अलि बढी सम्भावना देखिन्छ। सम्भावनाका क्षेत्र पहिचान गरेर लगानीमा जोड दिएका छौँ। बनिसकेका पूर्वाधार स्तरोन्नति गर्ने क्रममा छाँै। परम्परागत खेतीप्रणालीले समृद्धको नारा पूरा हुन सक्दैन। यस वर्ष पनि कृषि र पशुपालनमा १ करोड ५० लाख विनियोजन भएको छ। समृद्ध नगर बन्न कसैको भर परेर हुँदैन, हामी आफैँ लाग्नुपर्छ भन्ने सिकाइ भएको छ। सबै किसानलाई व्यावसायिक रूपमा अघि बढ्न प्रेरित गरिरहेका छौँ।
समृद्ध नगरका लागि के–कस्ता कार्यक्रम ल्याउनुभएको छ ?
पूर्वाधार निर्माण नै समृद्ध नगरको पहिलो सर्त हो। आजसम्म आइपुग्दा धेरै पूर्वाधार निर्माण भइसकेका छन्। उत्पादन वस्तुको बजारीकरणमा सहज यातायात भएन भने त्यसले अपेक्षाकृत प्रतिफल दिन सक्दैन भन्ने राम्रोसँग बुझेका छौँ। सोहीअनुसार हाम्रो सोच त्यतातिर गयो। पूर्वाधार निर्माणपछि कृषि र पशुपालनलाई बढी जोड दिएका छौँ। नगरपालिकासहित संघ र प्रदेश सरकारले पठाउने बजेटलाई समेत सोहीअनुसार परिचालन गरेका छौँ। कृषिमा बढी आवश्यक भनेको पानीको सहजता हो।
अहिले धेरैजसो क्षेत्रमा पानीका मुहान सुक्दै गएका छन्। यसलाई चुनौतीको रूपमा हेरेका छौँ। लिफ्ट योजना सञ्चालन गरेरै भए पनि किसानको बारी र घरसम्म पानी पुर्याउनेछौँ। प्रदेश सरकारअन्तर्गत हुने स्मार्ट कृषि कार्यक्रमका लागि पनि भिंगृकै चिरावारीलाई छनोटमा राखेका छौँ। साझेदारी निकायलाई पनि उत्पादनमूलक क्षेत्रमै कार्यक्रम बढी केन्द्रित गर्न सुझाव दिएका छौँ। यसर्थ, समृद्ध नगर र सुखी नगरबासीको आशा पूरा गर्न कृषि र पशुपालनबाहेक अन्य विकल्प देखिँदैन। मसला उत्पादन, अदुवा, बेसारको प्रशोधन गर्ने मेसिन किसानलाई उपलब्ध गराउँदै छौँ।
सफा नगर बनाउने संकल्पअनुसार भिंगृमा एक घर, एक धारा, एक फूल, दुई फलफूलको कार्यक्रम अघि सारिएको छ।
किसानले उत्पादन गर्ने वस्तुको प्रशोधन, प्याकेजिङ र वितरणलाई सहयोग गर्नेछौँ। नगर क्षेत्रका धेरैजसो ठाउँमा स्वच्छ खानेपानीको पहुँच पुगेको छ। सफा नगर बनाउने संकल्पअनुसार भिंगृमा एक घर, एक धारा, एक फूल, दुई फलफूलको कार्यक्रम अघि सारिएको छ। बाटो विकास निर्माणको केही हिस्सेदार हो तर सबथोक होइन भन्ने सोचले हामीले भौतिक पूर्वाधार निर्माणभन्दा उत्पादनमूलक क्षेत्रमा बढी जोड दिएका हौँ। नगरबासीको जीवनको आयू लम्ब्याउनका लागि स्वास्थ्य र सरसफाइ क्षेत्रमा बढी फोकस गरेका छौं। हरित नगरको योजना पनि अघि सारिएको छ।
स्वास्थ्य क्षेत्रमा गरिएका केही उल्लेखनीय कार्य ?
स्वास्थ्य क्षेत्रमा नगरपालिका धेरै अगाडि छ। दीर्घरोगीलाई अहिलेसम्म लगभग २९ लाख रुपैयाँ सहयोगस्वरूप प्रदान गरेका छौँ। महिलाहरूको स्वास्थ्यलाई अझ बढी ध्यान दिएर गर्भावस्थामा हुने खतराको विषयमा जागरण कार्यक्रम सञ्चालन भइरहेका छन्। गर्भवती महिलालाई चार पटक घरमै पुगेर उपमेयरको कोशेलीसहित भेट्ने कार्यक्रम छ।
सुत्केरी भइसकेपछि पनि तीन दिन आमाको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्यकर्मीसहित घरमै जाने गरेका छौँ। यस कार्यक्रमले ‘शून्य होम डेलिभरी’लाई साथ दिने विश्वास लिएका छौं। हामी चुनिएर आइसकेपछि स्वास्थ्य संस्थामा औषधि अभाव भयो भन्ने जनताबाट सुन्नुपरेको छैन, यसले पनि हामीलाई अझ उत्साहित बनाएको छ। यस वर्ष दुई स्थानमा सहरी स्वास्थ्य केन्द्र स्थापना हुँदै छन्।
स्वर्गद्वारी प्रवर्द्धन नका ल्याउनुभएको योजना के छ ?
स्वर्गद्वारीमा धार्मिक पर्यटक आउने क्रम बढ्दो छ। पर्यटक व्यवस्थापनमा केही समस्या देखा परेको छ। सार्वजनिक शौचालय छैनन्। साउनमा सयौँ गाडीमा हजारौं भारतीय पर्यटक आउने गरेका छन्। पर्यटकलाई निकै सस्तोमा गुणस्तरीय सेवा पुग्ने गरी योजना बनाउँदै छौँ। केही समयमै सार्वजनिक शौचालय बनाउँदै छौँ। पर्यटकको बसाइ जतिसक्दो लम्ब्याउने गरी नगरपालिकाले ठोस योजना ल्याउनेछ।
भिंगृ स्वर्गद्वारीको आधारविन्दु भएकाले पनि यसको प्रवद्र्धनमा विशेष जोड दिएर अघि बढेका छौँ। स्वर्गद्वारीसँगै जोडिएका नगरका अन्य पर्यटकीय स्थलको पनि विकास र प्रवद्र्धन गर्नु जरुरी छ। स्वर्गद्वारी विमानस्थलको आवश्यक पक्रिया अघि बढ्दै छ। यसलाई केन्द्रमा राखेर दहचौरमा शान्तिपार्क निर्माण गर्दै छौँ। स्वर्गद्वारीसँगै जोडिएको पर्र्यटकीय स्थललाई पनि सँगै लैजाने हाम्रो लक्ष्य छ। सुरक्षित आवासको योजना अघि सारिएको छ। वडा नम्बर ४, ९, ८ का ४ सय १६ घरधुरीलाई जस्तापाता उपलब्ध गराएका छौँ।
नगरवासी र प्रशासनिक क्षेत्रबाट कत्तिको सहयोग पाउनुभएको छ ?
प्रशासनिक क्षेत्रबाट जनप्रतिनिधिले बनाएका नीति तथा कार्यक्रमको कार्यसम्पादनमा राम्रो साथ पाएका छौँ। कतिपय स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीबीच विवादका कुरा सुनिन्छ तर हाम्रोमा अहिलेसम्म त्यस्तो छैन। सौहार्दपूर्ण रूपमै काम भइरहेको छ। कर्मचारीको अधिकारलाई जनप्रतिनिधिले हस्तक्षेप गर्नु हँुदैन। नीति निर्माणमा जनप्रतिनिधि र आर्थिक अधिकार सहितको कार्यसम्पादनमा कर्मचारीले सहीरूपमा बुझेपछि कुनै विवाद हुँदैन।
दरबन्दीअनुसार कर्मचारी नहुँदा कामकारबाहीमा असहजता देखिएको छ। लक्ष्य कृषि र पशुपालनको व्यवसायीकरणमा भए पनि दक्ष कर्मचारी नहुनु दुःखद पक्ष हो। फाट्टफुट्ट नगरवासीका गुनासा भए पनि धेरैले साथ दिनुभएको छ। आफ्नो उपस्थिति नहुँदा प्रतिपक्षले आक्रोश व्यक्त गरेको देखिन्छ। पछाडि पारिएका वर्गलाई विशेष जोड गरेर विकासको मूल प्रवाहमा ल्याउने कोसिस गरिएको छ।
नगरको दिगो आर्थिक स्रोतका लागि के गर्नुभएको छ ?
नगरलाई आर्थिक रूपमा सवल बनाउने सम्भावना थुप्रै छन्। तिनको खोजीतर्फ हाम्रो ध्यान गएको छ। जनप्रतिनिधिलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर नगरपालिकाको विकासमा लाग्नुपर्छ भन्ने भावनाको विकास गरिएको छ। हामीले राम्रो अभ्यास थालनी गर्यौँ भने भावी पुस्ताका लागि त्यसले लाभ दिन सक्छ। जनतालाई करको मारमा पारेर आर्थिक संकलन गर्ने हाम्रो नीति छैन। क्षेत्रगत रूपमा करको दायरा तोकिएको छ। नयाँ पर्यटकीय क्षेत्र निर्माण, स्वर्गद्वारीको भौतिक पूर्वाधार निर्माणमा पहल, प्राकृतिक स्रोत साधन उत्खननमा विशेष जोड दिएर अघि बढेका छौँ।
अघिल्लो वर्ष १ करोड आन्तरिक आम्दानी भएको छ। आगामी वर्षका लागि १ करोड १७ लाखको अनुमान गरेका छौँ। विरोधी शक्तिले करको दायरा ठीक भएन भन्नुहुन्छ तर उहाँहरू आफैं पहिलोपटक आएर कर बुझाउने गर्नुहुन्छ। विद्युत् विस्तारमा वडा नम्बर १ र २ मा पुर्याउन सकिएको छैन। यस वर्ष ऊर्जामन्त्रीसँग डलिगेसन गएपछि केही आशा पलाएको छ। त्यसपछि सबै गाउँमा विद्युत् पुग्ने र उज्यालो नगर बन्नेछ।
शिक्षाको नीति स्पष्ट नहुँदा कार्यसम्पादनमा असहज भइरहेको छ। दरबन्दी मिलानसम्बन्धी ठोस योजना छैन, शिक्षा विकास तथा समन्वय इकाइले यसतर्फ अलि चासो देखाउनुपर्छ। शिक्षक अभाव नहुने गरी नयाँ दरबन्दी खडा गरिएको छ। उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई क्रमशः तीन लाख, दुई लाख र एक लाख नगदसहित पुरस्कृत गर्ने योजना छ।
काम गर्ने सिलसिलामा के–कस्ता चुनौती आइपरे ?
जनताको आकांक्षा बढी छन्। स्रोत–साधनको कमी छ। जनप्रतिनिधि नआउँदा न्यून विकास हुने गथ्र्याे। जति काम गरे पनि केही भएन भन्ने आवाज पनि सुनिन्छ। विकास क्षणिक हुनु हुँदैन, दीर्घकालीन महत्त्व राख्ने खालको हुनुपर्छ भन्ने सोचले हामी अघि बढेका छौं। एक पटक गरिएको राज्यको लगानीमा पटक पटक थप्नु नपरोस् भन्ने चाहन्छौँ।
विकासमा नगरवासीको अनुभूति हुनेगरी गर्नुपर्छ। जसले उनीहरूलाई अपनत्वको विकास गराउँछ। स्थानीय, प्रदेश र संघीय सरकारबाट हुने बजेटलाई छरेर होइन, एकीकृत रूपमा लगानी गर्नुपर्छ अनि मात्र विकासले गति लिन सक्छ। चुनावमा पक्ष, विपक्ष भए पनि विकास निर्माणमा हातेमालो गरेर अघि बढ्दा समृद्ध नगर धेरै टाढाको विषय हुनै सक्दैन।