थारू समुदायले मनाए अटारी
दाङ : थारू जातिको महत्त्वपूर्ण पर्व अटारी आइतबार पश्चिम नेपालका थारू समुदायले धूमधामका साथ मनाएका छन्। पश्चिम नेपालका दाङ, बाँके, बर्दिया, कैलाली कञ्चनपुर र सुर्खेतका थारू समुदायले अटारी पर्व मनाउँछन्।
अटारी पर्व मनाउने सवालमा थारू समुदायकै बीचमा फरकफरक मिति र समय हुन थालेपछि यसमा एकरूपता ल्याउन पछिल्लो समय थारू बाहुल क्षेत्र दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर तथा सुर्खेतका मटहवा, भलमन्सा र बड्घरले गत वर्षदेखि संयुक्त रूपमा क्यालेन्डरसमेत सार्वजनिक गरेर एकै दिन मनाउन थालेका छन्।
थारू समुदायका पु्रुषले महिलाको सम्मानका लागि भनेर यो दिनलाई विशेष रूपमा लिने गरेका छन्। ५ नं प्रदेशले समेत थारू समुदायका लागि अटारीको बिदासमेत दिएको छ। अटारीको दिन पानीसमेत नखाएर (निर्जला) व्रत बस्ने गरिन्छ। अटारी पर्व कृष्ण जन्माअष्टमीको आठ दिनपछि आउने आइतबार मनाउने प्रचलन छ। यो पर्व सूर्य अर्थात् शक्तिको उपसनाका लागि गर्ने गरिएको मतहवा, बड्घर महासंघका केन्द्रीय अध्यक्ष तथा पूर्वराज्यमन्त्री डिल्लीबहादुर चौधरीले बताए।
किंवदन्तीअनुसार अटारी पर्व दाङका थारू राजा दंगीशरण, पाण्डव र कौरवको बीचको युद्धका नायक भीमसँग जोडेर मनाउने गरिएको उनले बताए। उनले थारू राजा र पाँच पाण्डवको सम्बन्धलाई बलियो बनाउन यो पर्व मनाइने गरेको बताए। चौधरीले धर्म संस्कृति र परम्पराले विविधतालाई एकतामा जोडेको भन्दै यसको संरक्षण र विकास हुन जरुरी रहेको बताए। संस्कृितको संरक्षणकै लागि पुख्र्यौली घरमा अटारी पर्व मनाइएको हो। आफ्नो संस्कृति र परम्पराको जगेर्ना गर्दै अरूको संस्कृतिको सम्मान गर्नुपर्ने उनले बताए।
थारू संस्कृतिविद् अशोक थारूले अटारी पर्वलाई शक्ति र प्रकृतिको पूजाको रूपमा लिनुपर्ने बताए। ‘सम्पूर्ण ब्रह्माण्डको मूल स्रोत भनेको सौर्य ऊर्जा भएकाले त्यही शक्तिको उपासना नै अटारीको रूप हो’, थारुले भने, ‘अटारी पर्वलाई अलौकिक मिथकसँग जोड्नुभन्दा विश्व ब्रह्माण्डीय विज्ञानलाई जोड्नु बढी वज्ञानिक र दिगो हुन्छ।’ थारू समुदायमा अटारीका अवसरमा स्थानीय स्तरमा उत्पादित वस्तुहरू काँक्रा, अम्बा, केरा र चामलको पीठोको रोटी पकाएर खाने चलन छ। तर, चामलको पीठोको उक्त रोटी भने एकसरो पकाउने गरिन्छ।
अटारी पर्वमा जंगलबाट ल्याएको नयाँ र शुद्ध मालुको पातको दुना टपरीमा परिकार खाने प्रचलन छ। तर पछिल्लो समय काँक्रा, अम्बा, केराका साथसाथै बजारबाट स्याउसमेत किनेर ल्याउने प्रचलन बढ्नु संस्कृतिको रूपान्तरण मान्नुपर्ने थारू संस्कृतिविद् थारू बताउँछन्। अटारीमा माछा मासु खाइँदैन।