फौजी किरा मार्ने औषधिले काम गरेन
विराटनगर : प्रदेश १ का ५ जिल्लामा फैलिएको अमेरिकी फौजी किराको प्रकोप नियन्त्रणमा आउन सकेको छैन। ओखलढुंगाबाट देखिएको अमेरिकी फौजी किरा सुरुमा भोजपुर, उदयपुर र खोटाङका स्थानीय किसानले लगाएको मकैमा देखिएको थियो। अहिले किरा फैलिएर पाँचथर पुगेको छ।
यसको नियन्त्रण गर्न स्थानीय निकाय र कृषि ज्ञान केन्द्रका सबै प्रयास असफलजस्तै बनेका छन्। केन्द्रले सिफारिस गरेको विषादी कृषकले पाएका छैनन्। विषादी नपुग्दा ओखलढुंगा, भोजपुर, उदयपुर र खोटाङका कृषकले लगाएको अधिकांश हिउँदेमकै किराले सखाप पारेको छ।
स्थानीय तहको सहकार्यमा मकै किसानलाई केही विषादी वितरण गरिए पनि किराले मकैको डाँठसम्मै आक्रमण गरेकाले नियन्त्रण गर्न नसकेको बाली संरक्षण प्रयोगशाला विराटनगरका प्रमुख मुकेशकुमार यादवले बताए। ‘यो किराले रातरात सयौँ हेक्टरको मकै नष्ट गर्छ, छिटो खाने हुँदा र मकैलाई फेरि जगाउने सम्भावना नहुँदा औषधिले काम नगरेको जस्तो देखिएको हो, पर्याप्त औषधि पनि छैन’, उनले भने।
फौजी किराको अन्य प्रजाति पहिले पनि देखिएका भए पनि नेपालमा पहिलो पटक अमेरिकी फौजी किराको प्रकोप देखिएको उनी बताउँछन्। अन्य प्रजातिभन्दा अमेरिकी फौजी किराले बाली छिटो सखाप पारेको उनको भनाइ छ। यो किराले मकैबाली मात्र नष्ट गर्छ। किराको प्रकोप फैलिँदा मकै किसान आतंकित बनेका छन्। ओखलढुंगा, भोजपुर, उदयपुर, खोटाङ र पाँचथरका कृषकको हिउँदेमकै भिœयाउने आशा मरेको छ।
पाँचथर तुम्बेवा-२ चुवाडेका कविचन्द्र तामाङले दिउँसोभन्दा राति यो किराले धेरै बाली नष्ट गरेको बताए। ‘मकै रातारात नष्ट भएको छ, किरा नियन्त्रणमा आएको छैन, एक डोको पनि मकै भित्र्याउन नपाइने भयो,’ उनले भने। यसअघि यस्तो किराको प्रकोप नदेखिएको उनी बताउँछन्। ‘यस्तो किरा देखिएको थिएन, आज बारीमा जाँदा मकै ठीकै देखिन्छ, भोलिपल्ट भाँचिएको र किराले खाएर ढलेको देखिन्छ, साना मकै त गुभोसम्मै खाएको छ,’ उनले बताए।
यो किराको माउ समूहमा बस्ने र एकै रात सय किलोमिटरसम्म उडेर फुल पार्ने हुँदा एउटा जिल्लाबाट अर्को जिल्लामा एकै दिन यसले आक्रमण गर्ने गरेको कृषि प्राविधिक बताउँछन्। एउटा माउले एकै पटकमा २ सय फुल पार्ने र दुई दिनमै लार्भा निस्केर मकै नष्ट गर्ने भएकाले ठूलो क्षेत्रको बाली यसले नष्ट गर्छ।
वयस्क किरा समूहमा बस्ने र सबैले फुल पार्दै रातमा सयौं किलोमिटर उड्ने भएकाले ओखलढुंगामा देखिएको किरा एक महिना नहुँदै ४ जिल्लामा फैलिएको बाली संरक्षण प्रयोगशाला विराटनगरका प्रमुख यादवले बताए।
अलमलमा कृषक र प्राविधिक
मकैबालीमा फौजी देखिएपछि स्थानीय तह र कृषि प्राविधिकलाई गुहारेका थिए किसानले। तर किरा नियन्त्रणमा आउनुको साटो मकै सखाप भएको छ। प्रदेश केन्द्रबाट पुगेको कृषि प्राविधिकको टोलीले अनुगमन गरी स्थानीय तह र कृषि ज्ञान केन्द्रबाट वितरित विषादीले काम नगरेको किसान बताउँछन्।
पाँचथरको दक्षिणी भेगका स्थानीय तह तुम्बेवा र कुम्मायक गाउँपालिकामा किरा मार्ने औषधिले भिंmगासमेत नमरेको किसान बताउँछन्। तुम्बेवा-१ का किसान अर्जुन दाहालले गाउँपालिकाबाट ल्याएको २ बोतल दिएको औषधिले किरा नमरेको बताए। कृषि प्रविधिकहरू पनि कुन विषादीले यो किरा मार्छ भन्नेमा अलमलमा परेका छन्।
किरा मार्न ३ विषादी सिफारिस, त्यही पनि अपर्याप्त
प्रदेश १ का पहाडमा छरेको मकै सखाप हुँदासमेत किरा नियन्त्रण गर्न पर्याप्त विषादी छैन। कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र काठमाडौंले किरा नियन्त्रणका लागि ३ विषादी सिफारिस गरे पनि प्रभावित क्षेत्रमा नपुगेको हो।
पानीमा घोलेर छर्ने एमामेक्टीन बेन्जोएट, स्पिनोसाड र क्लोरान्ट्रानिलिप्रोल नामका विषादी सिफारिस गरे पनि किरा प्रभावित क्षेत्रमा पुर्याउन केही समय लाग्ने संरक्षण प्रयोगशाला विराटनगरका प्रमुख यादवले बताए। ‘यो विषादी फौजी किराको लार्भा मार्ने हो, केन्द्रले सिफारिस गरेबमोजिम हामीले केन्द्रलाई नाम दिएका छौं, तर विषादी पर्याप्त छैन,’ उनले भने। यसले मकै खाने लार्भा मात्रै मार्ने भएकाले वयस्क फौजी किरा मार्न फेरेमीन ट्याबको प्रयोग गर्न सकिने कृषि प्राविधिक बताउँछन्।